December 25, 2024, 1:29 pm
» बाँकेमा कुपोषित बालबालिका भेटिए » ‘सहकारी ठगीमा संलग्न जो कोहीलाई छोड्दैनौँ’ » काठमाडौं आइपुगे सोनु निगम, हायातको चौरमा कन्सर्ट हुँदै » मन्त्री भण्डारी र सचिव निरौलाको कारण मन्त्रालय अस्तव्यस्त » इरानले ह्वाट्सएप, गुगल प्लेमाथिको प्रतिबन्ध हटायो

प्रधानमन्त्री ओलीको चीन भ्रमणबारे छलफल गर्न बोलाइएको संसदीय समिति बैठक स्थगित

मंसिर २, २०८१ मा प्रकाशित | ४००दर्शक तीव्रखबर

काठमाडौं : आज बस्ने भनिएको संसदीय समितिको बैठक स्थगित भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे छलफल गर्न बोलाइएको आजको बैठक अन्तिम समयमा आएर स्थगित भएको हो।

प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले प्रधानमन्त्री ओलीको चीन भ्रमणको विषयमा छलफल गर्न आइतबार बिहान ११ बजे बैठक आह्वान गरेको थियो। मन्त्रीको समय नमिलेको भन्दै समिति सदस्यहरूलाई  बैठक स्थगित भएको सूचना पठाइएको छ।

चिनियाँ राष्ट्रपति सी जिङपिङको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली आगामी मंसिर १७ (२, डिसेम्बर) गते चीनको राजधानी बेइजिङ जान लागेका हुन्। प्रधानमन्त्री ओलीको चीन भ्रमणमा बीआरआई, नेपाल-चीनबीच भएका यस अगाडिका सम्झौता र कार्यान्वयन र चलिरहेका परियोजना,दुई देशबीचको सम्बन्ध लगायतका विषयमा पनि छलफल हुने स्रोतको दाबी छ। सांसदहरुले बीआरआईअन्तर्गत ऋण लिन हुने र नहुने दुई थरी मत राख्दै आएका छन्।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि लिएको चिनियाँ ऋण मिनाहाको प्रस्तावलाई पनि जोड दिने सरकारले तयारी गरेको छ। यस अगाडि गत भदौमा अर्थ मन्त्रालयले चीन अन्तर्राष्ट्रिय विकास सहयोग निकायका उपाध्यक्ष याङ वेइकुनमार्फत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा लिइएको ऋणलाई अनुदानमा परिणत गर्न चिनियाँ पक्षलाई आग्रह गरेको थियो।

वेइकुन र नेपालका लागि चिनियाँ राजदूत छन् सोङसहितका चिनियाँ टोलीसँगको भेटमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चीन नेपालको असल छिमेकी भएको र नेपालको अर्थतन्त्रको अवस्थालाई विशेष ध्यान दिँदै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा लिइएको ऋणलाई अनुदानमा बदल्न आग्रह गरेका थिए। उक्त विषय प्रधानमन्त्री ओलीको भ्रमणमा पनि प्रस्ताव रहने स्रोतको दाबी छ। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि नेपाल सरकारले चीनको एक्जिम बैंकबाट हालको विनिमय दरअनुसार करिब २५ अर्ब ८८ करोड रुपैयाँ (१३३८.७४ मिलियन चिनियाँ युआन) ऋण लिने सम्झौता गरेको थियो।

२०७२ साल चैत ८ गते पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि ऋण सम्झौता भइ २०७३ साल पुस २७ गतेबाट निर्माण कार्य सुरु भएको थियो। २०७९ साल पुस १७ गते पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको उद्‍घाटन गरिएको थियो।

प्रधानमन्त्री ओलीको चीन भ्रमण तय भएसँगै तयारीका लागि परराष्ट्रमन्त्री राणा  मंसिर १३ (नोभेम्बर,२८ ) मा बेइजिङ जाने भएकी छन्। परराष्ट्रमन्त्री राणा जापानको राजधानी टोकियो हुँदै बेइजिङ जान लागेकी हुन् । प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा उठाइने विषयका बारेमा सरकारले आन्तरिक छलफल गरिरहेको छ । परराष्ट्रमन्त्रीले प्रधानमन्त्री ओली बेइजिङ पुग्नुअघि समकक्षी वाङ यीलगायत चिनियाँ उच्च अधिकारीहरूसँग द्विपक्षीय बैठकमा उठाउने विषयका बारेमा छलफल गर्ने स्रोतले बताएको छ।

नेकपा एमालेका अध्यक्ष ओली गत असार ३० गते आइतबार प्रधानमन्त्री पदमा नियुक्त भएका थिए। प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै नेपालका लागि चिनियाँ राजदूत छन सोङले ओलीसँग भेट गरेका थिए । बधाई दिन प्रधानमन्त्री ओलीलाई भेटका राजदूत सोङले त्यहीबेला चीन भ्रमणबारे अनौपचारिक छलफल गरेका थिए। चिनियाँ राजदूत सोङले बेइजिङस्थित विदेश मन्त्रालयसँग समन्वय गरी प्रधानमन्त्री ओलीको चीन भ्रमणको मिति तय भएको स्रोतले बताएको छ।

प्रतिक्रिया