February 26, 2025, 10:53 am
» प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबीच भेट » सुडानमा सैन्य विमान दुर्घटना हुँदा ४६ को मृत्यु » १८ वर्षीय छात्रलाई रक्त क्यान्सर, आर्थिक सहयोगको अपिल » सैनिक मञ्चमा सेनाको हर्षबढाईं » परराष्ट्रमन्त्री राणा र राष्ट्रसंघीय मानवअधिकार उच्च आयुक्त भल्कर टकबीच भेटवार्ता

काठमाडौं उपत्यकामा दीर्घकालीन रूपमा खानेपानीको समस्या समाधान गर्छु : मन्त्री यादव

मंसिर १, २०८१ मा प्रकाशित | ८७०दर्शक तीव्रखबर

काठमाडौं : खानेपानी मन्त्री प्रदीप यादवले काठमाडौं उपत्यकामा दीर्घकालीन रूपमा खानेपानीको समस्या समाधान गरिने बताएका छन्।

जनता समाजवादी पार्टी, काठमाडौं जिल्ला समन्वय समितिद्धारा नेपाल संवत् ११४५, तिहार, छठलगायत पर्वहरूको अवसरमा शनिबार काठमाडौंमा आयोजना गरिएको शुभकामना आदान–प्रदान एवं सांस्कृतिक तथा जलपान समारोह कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले काठमाडौं उपत्यकामा खानेपानीको समस्या दीर्घकालीन रूपमा समाधान गर्नेतर्फ आफू अगाडि बढेको बताए।

‘मान्छेका लागि पानी नभइ नहुने चीज हो। जलस्रोतको धनी देशमा जनता पानीका लागि आन्दोलन गर्न बाध्य छन्। काठमाडौंमा उपत्यकामा पानीको समस्या सदाका लागि समाधान गर्छु,’ उनले भने। मन्त्री यादवले काठमाडौं उपत्यकाबासीका लागि आफूले २५ करोड लिटर र ५० लाख लिटर थप पानी आपूर्तिका लागि ट्रिटमेन्ट प्लान्ट बनाउनका लागि टेण्डर आह्वान गरिसकेको जानकारी दिए।

‘काठमाडौंमा मेलम्चीको पानी अपुग छ। मैले यहाँका नागरिकका लागि २५ करोड लिटर र ५० लाख लिटर थप पानी आपूर्तिका लागि टेण्डर आह्वान गरिसकेको छु। त्यो पानी आएको खण्डमा काठमाडौंमा २४ घण्टा पानी वितरण गर्न सकिने छ,’ उनले भने। मेलम्ची खानेपानी आयोजनाको नयाँ मुहान करिब १० किलोमिटरमाथि सार्नका लागि आफूले केही दिनमा टेण्डर आह्वान गर्ने तयारी गरेकाले मेलम्चीको मुहान सारेपछि त्यहाँबाट वर्षातको समयमा पनि काठमाडौंमा सहजरूपमा पानी ल्याइ वितरण गर्न सकिने बताए।

‘मैले काठमाडौं उपत्यकाबासीको खानेपानीको समस्या समाधनका लागि कुलेखाने ड्यामबाट पनि पानी ल्याउनका लागि तयारी गरेको छु। तपाईंहरू ढुक्क हुनुस् मैले मेरै कार्यकालमा यहाँको खानेपानीको समस्या समाधान गर्छु,’ उनले भने। सोही कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मन्त्री यादवले मेलम्ची खानेपानीका पाइपहरू फुटेका ठाउँहरूमा नयाँ पाइपहरू जडान गरी पानी सूचारुका लागि निर्देशन दिइसकेको र अब आफै प्रतेक वडाहरूमा गएर पानी आए नआएको तथा कहाँ-कहाँ पाइप फुटेको छ त्यो विषयमा स्थलगत अनुगमन गर्ने बताए।

‘म आफैं अनुगमनमा निस्किन्छु। जहाँ पाइप फुटेको छ, त्यहीँ मर्मत हुन्छ र त्यहीँबाट तत्काल पानी सुचारुका लागि निर्देशन दिने छु,’ उनले भने।

प्रतिक्रिया