September 8, 2024, 3:29 am
» दश जोडीको दाइजोमुक्त सामूहिक विवाह » पाँचथर बम विस्फोट : घाइतेको उपचारको जिम्मा लियो सरकारले » डेंगु संक्रमणबाट झापामा एक बालकको मृत्यु » सुत्केरी मृत्यु प्रकरण: दोषीलाई कारवाही र पीडित परिवारलाई क्षतपूर्ति दिने सहमतिपछि शव पोष्टमार्टमका लागि पठाईयो » गणेश चतुर्थी पर्व मनाइँदै

हात्ती आक्रमणको त्रास बढ्दै

साउन २, २०८१ मा प्रकाशित | ६५०दर्शक तीव्रखबर

भारतको कर्तनियाघाट वनविहानबाट आउने जंगली हात्ती धपाउन मधुवन नगरपालिकाको सीमावर्ती क्षेत्रमा निर्माण गरिएको मचान।  तस्बिर : यादव आचार्य

गुलरिया : बर्दियाको ठाकुरबाबा नगरपालिका–२ पेरहनी निवासी ५२ वर्षीय शिवप्रसाद थारु सोमबार जंगली हात्तीको आक्रमणमा परी अनाहकमै ज्यान गुमाए। बर्दिया राष्ट्रिय निकुञ्जको भित्री क्षेत्र अम्रेनीमा कुलो मर्मतमा पुगेका उनले ज्यान गुमाउनुपर्‍यो। उनको निधनले पेरहनी गाउँ शोकसँगै त्रासमा छ।

उनीसँगै रहेका सुजनपुरका २५ वर्षीय विश्राम थारु घाइते भए। जंगली हात्तीको आक्रमणमा परी हात भाँचिएका घाइते थारुको ठाकुरबाबा नगर अस्पतालमा उपचार सम्भव नभएपछि बाँकेको नेपालगञ्ज पठाइएको बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत
पुरुषोत्तम वाग्लेले बताए।

कुलो मर्मतको लागि अनुमति लिएर टोली अम्रेनी पुगेको थियो। निकुञ्जको कोर एरिया भएका कारण हात्तीले आक्रमण गर्‍यो। बर्दियामा १ सय ५० भन्दा बढी जंगली हात्ती छन्। १ सय २० वटा त रैथाने नै छन्।

बर्दिया राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा मात्र होइन भारतको कर्तनियाघाट वन विहार र नेपालको बर्दिया राष्ट्रिय निकुञ्ज जोड्ने अन्तर्राष्ट्रिय खाता जैविकमार्गको मध्वर्ती क्षेत्रका गाउँहरूमा पनि जंगलीहात्तीहरूबाट धनजनको क्षति हुने गरेको छ। सो क्षेत्रमा हात्ती आक्रमण न्यूनीकरण गर्ने उद्देश्यले हात्ती आएको सूचना प्रवाह गर्न साइरन जडान गरिएको डिभिजन वन कार्यालय बर्दियाका प्रमुख प्रवीण विडारीले बताए। हात्ती प्रवेश गर्ने मार्गमा जडान गरिएको विद्युतीय तारवार हात्तीले छुनेबित्तिकै जोडसँग साइरन बज्छ।

साइरन बज्ने भएका कारण स्थानीयले हात्ती आएको जानकारीसँगै सुरक्षित हुने अवसर पाउँछन्। साइरन बज्नेबित्तिकै सबै स्थानीय चनाखो हुने र सुरक्षित हुन ठूलो सहयोग पुग्दै आएको छ। खाता जैविकमार्ग क्षेत्रमा हात्ती–मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि मधुवन नगरपालिका ५, गाउँ नं. १० शक्तिपुरमा स्थानीयको बालीनाली हात्तीले क्षति पुर्‍याउने भएकाले क्षति न्यूनीकरण गर्न पक्की मचान निर्माण गरिएको छ। करिडोर भएका कारण सो क्षेत्रमा भारतबाटसमेत बेलाबेलामाा हात्तीहरूको झुन्ड आउने गर्छन्। प्रमुख बिडारीले थपे, ‘डिभिजन वन कार्यालय बर्दियाको ६ लाख ५० हजार र स्थानीय जनश्रमदान ७२ हजार गरी कुल ७ लाख २२ हजार रुपैयाँको लागतमा ३ तले पक्की मचान निर्माण गरेका छौं।’

खाता जैविकमार्ग क्षेत्रमा ३६ वटा सामुदायिक र ३ वटा धार्मिक गरी ३९ वटा सामुदायिक वन छन्। जसअन्तर्गत पर्ने सम्झना र सोमलपुर सामुदायिक वनमा १ हजार २५० मिटर विद्युतीय तारबारमा साइरन फिट गरिएको खाता समन्वय समितिका अध्यक्ष हरि गुरुङले बताए। हात्ती आएको सूचना प्रवाह गर्न साइरन प्रभावकारी हुन्छ। यसै वर्षदेखि साइरन प्रविधि जडान भएकाले परीक्षणकै क्रममा रहने उनले प्रष्ट्याए। पछिल्लो समय राष्ट्रिय तथा सामुदायिक वनहरूको हैसियत सप्रिएपछि वन्यजन्तुहरूको चहलपहल बढेको छ। जंगल क्षेत्रमा बन्यजन्तु बढेसँगै मानविय द्वन्द्व पनि उत्कर्षमा पुगेको उनको भनाइ छ।

डिभिजन वन कार्यालय बर्दियाका सहायक वन अधिकृत द्रोणराज शर्माका अनुसार ०७० सालदेखि ०८१ असार अन्तिम सातासम्म वन क्षेत्रमा विभिन्न वन्यजन्तुहरूको आक्रमणमा परी २१ जना मानिसको मृत्यु भएको र ४९ जना घाइते भएका छन्। त्यस्तै २ सय ८१ वटा पशुधन क्षति भएको छ भने ४२ जनाको घरगोठ क्षति तथा ३ सय ५९ जनाको अन्नवाली क्षति भएको अधिकृत शर्माको भनाइ छ।

प्रतिक्रिया