October 18, 2024, 8:44 am
» Opposition parties to submit memo to government » पर्यटकको पर्खाइमा भोजपुरको छाँगे झरना » सुनको मूल्य प्रति आउन्स दुई हजार ७०० डलरभन्दा माथि » दाङमा टिप्पर दुर्घटना, चालकको मृत्यु » Gold price reaches all-time high, trading at Rs 164,400 per tola

दसैँको मुखमा काठमाडौं महानगरले बढायो अनुगमन : २२ पसलमा म्याद गुज्रिएका सामान भेटिए

अशोज २१, २०८१ मा प्रकाशित | ४७०दर्शक तीव्रखबर

काठमाडौं । काठमाडौं महानगरपालिकाको बजार अनुगमन टोलीले १० दिन (असोज १० गतेदेखि २० गतेसम्म) मा १३० वटा पसलको अनुगमन गरेको छ ।

बागबजार, पुतलीसडक, कालीमाटी, सोल्टी मोड, महाराजगन्ज, असन, जमल हात्तीसार, नक्साल, विशालनगर, हाँडीगाउँ, चाबहिल, मैजुवहाल, कुमारीगालसहित विभिन्न स्थानमा गरिएको अनुगमनका क्रममा २२ वटा पसलमा म्याद गुज्रिएका उत्पादन भेटिएको छ ।

८२ वटा पसलमा देखिने गरी मूल्य सूची राखिएको थिएन । महानगरले यस्ता पसललाई देखिने गरी सूची राख्न लगाएको थियो। त्यस्तै महानगरले ६२ वटाको व्यवसाय दर्ता नभएका व्यवसायीलाई ७ दिनभित्र व्यवसाय दर्ता गर्न समय दिएको थियो । यसरी समय दिएकामध्ये १ जनाले दर्ता गरिसकेको पाइएको छ ।

चाडपर्वमा फलफूल, माछामासु, दूध तथा दुग्ध पदार्थको धेरै प्रयोग हुन्छ । यसबेला तौल र गुणस्तरका आधारमा मूल्यमा ठगी हुन सक्ने महानगरको ठम्याई छ । अनुगमनका क्रममा मूल्य सूची नराख्नु, खरिद बिक्री विलको प्रयोग नहुनु, अधिकतम मूल्य र उपभोग्य मितिको ख्याल नहुनु आम समस्या देखिएको छन् भने व्यवसाय दर्ता नगर्नु, म्याद सकिएका सामान राख्ने कक्ष नहुनु जस्ता समस्या साझा रूपमा देखिएका महानगरले जनाएको छ ।

पसलमा बेच्न राखिएका सामानहरूमध्ये प्याकेजिङ् गरिएका जुस, कुकिजलगायत बिस्कुटहरू, चकलेट, भुजिया, घिउ, अचार, विभिन्न खालका मसलाहरू, भिनेगर , जाम जस्ता खाद्य तथा पेय पदार्थमा गुणस्तरको समस्या देखिएको पनि महानगरको भनाई छ ।

अनुगमनका क्रममा बिक्रीका राखिएका खाद्य सामग्री तथा पेय पदार्थको मूल्य, उत्पादन मिति, म्याद सकिने मिति, अधिकतम मूल्य जस्ता पक्ष हेर्ने गरिएको छ । त्यस्तै पसलमा म्याद गुज्रिएका सामान राख्ने ठाउँको व्यवस्था, बिक्री कक्षको प्रबन्ध, खरिद तथा बिक्रि बिल, दर्ता तथा नवीकरण जस्ता सूचकका आधारमा अनुगमन गरिन्छ ।

उपभोक्ताहरूले सुलभ मूल्यमा स्वच्छ र गुणस्तरीय सामान, माल मत्ता प्राप्त गर्न सकुन् भन्ने उद्देश्यले अनुगमन गरिएको हो । अनुचित व्यापारिक क्रियाकलाप रोक्नु र स्वच्छ बजारका लागि सचेतना वृद्धि गर्नु अनुगमनको लक्ष्य हो ।

फुड टेक्नोलोजी, माइक्रोबायोलोजिष्ट नेतृत्वमा रहेका ३ वटा अनुगमन टोलीले दैनिक अनुगमन गरिरहेका छन् । सुरक्षा, सुनुवाइ, क्षतिपूर्ति र छनोट’ उपभोक्ताका प्रमुख ४ वटा अधिकार छन् । यी अधिकारको प्रत्याभूत गराउन महानगरपालिकाले काम गरिरहेको हो ।

प्रतिक्रिया