काठमाडौं । केही दिनअघिको अविरल वर्षापछि आएको बाढीपहिरोबाट ठप्प काठमाडौं उपत्यका प्रवेश गर्ने नाका क्रमशः सञ्चालनमा आउन थालेको छ । यो सँगै सडकयात्रामा केही हदसम्म सहजताको स्थिति बनेको छ ।
धादिङको झयाप्ले खोलाको सडकमा खसेको पहिरो आज दिउँसो १ बजेसम्म पूरै हटाउने तयारी भइरहेको छ । यसका लागि आज बिहान ११ बजेदेखि १ बजेसम्म अत्यावश्यक सवारी साधनबाहेक अन्य सवारी साधन रोकेर पहिरो पन्छाइने भएको छ ।
त्यसपछि त्यहाँ दुईतर्फी नै सवारी साधन चल्ने भएको छ । त्यसो त हिजो नै त्यहाँ दुईतर्फी सवारी साधन सञ्चालनमा आइसकेको थियो । आज १ बजेपछि त्रिभुवन राजपथ र पृथ्वी राजमार्ग भएर गुड्ने सवारी आवागमन पूर्णतः सञ्चालन हुने भएको छ ।
यस्तै, पूर्वतर्फ साँगाभञ्याङ भएर बाहिरिने सवारीसाधन अरनिको राजमार्ग हुँदै चौतारासम्म तथा बिपी राजमार्गतर्फ भकुण्डेबेँसीसम्म सञ्चालनमा रहेको काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रहरी नायब उपरीक्षक रविन कार्कीले जानकारी दिए । भकुन्डेबेसीदेखि नेपालथोक खण्डमा भने धेरै नै समस्या देखिएको छ ।
नुवाकोटतर्फ जाने नाका खुले पनि त्यहाँबाट भने ठुला सवारीसाधन आवागमनमा केही कठिनाइ रहेको उनको भनाइ छ ।
दक्षिणकाली भएर उपत्यका छाड्ने सडक भने सञ्चालनमा आउन सकेको छैन । बाढीपहिरोबाट पक्की पुल बगाएका र नदीले सडक कटान गरी ठुलो क्षति पुर्याएका स्थानमा भने अझै सवारीसाधन पूर्ण रूपमा सञ्चालनमा ल्याउन केही समय लाग्ने छ ।
केही दिनअघिको बाढीपहिरोबाट मुलुकका ५० भन्दा बढी सडकको एक सय बढी ठाउँमा क्षति पुर्याएको थियो । सानाठूला गरी २० वटा पुल बगायो ।
बाढीपहिरोका कारण यात्राका क्रममा बीच बाटोमा रोकिएका यात्रुलाई गन्तव्यमा पुर्याउने कार्यमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललगायत सुरक्षाकर्मी अहोरात्र खटिरहेका छन् । तथापि, केही राजमार्गका केही खण्डमा यातायातका साधन सञ्चालनमा आउन अझै केही समय लाग्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया