December 26, 2024, 1:54 pm
» जनयुद्धलाई अपमानित गर्ने काम भइरहेको छ : विप्लव » शुक्रबार साँझदेखि अधिकांश स्थानमा हिमपातको सम्भावना » रविसँग तीन घण्टा बयान, सहकारी ठगीमा संलग्न नभएको जिकिर » एनसेलको सेयर खरिद-बिक्रीविरुद्धको रिट सर्वोच्चले गरिदियो खारेज » नेपालले जलवायु न्याय र क्षतिपूर्तिको आवाजलाई सशक्त रूपमा उठाउनुपर्छ : परराष्ट्रमन्त्री

पहिरोमा परी मृत्यु भएका तीन विद्यार्थीको शव हेटौँडा ल्याइयो

अशोज १४, २०८१ मा प्रकाशित | ५८०दर्शक तीव्रखबर

बागमती, : मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको सिस्नेरीमा गएको पहिरोमा परी मृत्यु भएका अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमीका छजना विद्यार्थीमध्ये तीनजनाको शव हेटौँडा ल्याइएको छ ।

काठमाडौँस्थित शिक्षण अस्पतालमा शवपरीक्षणपश्चात् मृतकमध्ये अनुमप घलान, साइमन योञ्जन र बाराका बिकल रेग्मीको शव आज बिहान हेलिकप्टरमार्फत हेटौँडा ल्याइएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले जानकारी दिनुभयो ।

यहाँ जिल्ला खेलकुद विकास समितिले श्रद्धाञ्जलीसभाको आयोजना गरेको छ । हेटौँडा उपमहानगरपालिका-४ हुप्रचौरस्थित मैदानमा आयोजित श्रद्धाञ्जलीसभामा मृतकका आफन्त, खेलाडी, खेलप्रेमी तथा स्थानीयहरूको उपस्थिति रहेको थियो । प्रजिअ चिलुवालले शव अन्त्यष्टिका लागि परिवारजनलाई बुझाइएको बताउनुभयो ।

होस्टेलमा बसेर मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ टेकरस्थित वत्सला माध्यमिक विद्यालयमा अध्ययन गर्ने र एन्फा क्याम्पमा फुटबल प्रशिक्षण लिने ४० जना विद्यार्थीमध्ये हेटौँडाका घलान, योञ्जन, बाराको निजगढका रेग्मी, सिस्नेरीका दिवस बानियाँ, काठमाडौँका रियान्स आचार्य र सर्लाहीका आदित्य बलमपाकीको पहिरोमा परी शनिबार मृत्यु भएको थियो ।

बागमती प्रदेशका १० जिल्लामा ११६ को शव फेला
यही असोज ११ र १२ गतेको अविरल वर्षासँगैको बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या बागमती प्रदेशका १० जिल्लामा ११६ पुगेको छ । प्रदेशका १० जिल्लामा मृत्यु हुनेमध्ये काभ्रेमा थप १२ जनाको शव फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय मकवानपुर हेटौँडाले जनाएको छ ।

यससँगै बागमती प्रदेशअन्तर्गत काठमाडौँ उपत्यकाका तीन जिल्लाबाहेक १० जिल्लामा बाढीपहिरोबाट मृत्यु हुनेको सङ्ख्या हालसम्म ११६ पुगेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिनुभयो ।

काभ्रेमा हालसम्म बाढी पहिरोबाट मृत्यु भएकामध्ये ५० जनाको शव फेला पारेको प्रहरी उपरीक्षक रेग्मीले बताउनुभयो ।

यस्तै, धादिङ जिल्लामा बाढीपहिरोबाट मृत्यु भएका ३९ जनाको शव फेला परेको छ । बाढीपहिरोमा परी सिन्धुपाल्चोकमा १०, मकवानपुरमा सात, दोलखामा सात, सिन्धुलीमा दुई र रामेछापमा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । ।

बाढीपहिरोजन्य विपद्बाट काभ्रेमा नौ र सिन्धुपाल्चोमा दुई गरी ११ जना अझै बेपत्ता रहेका प्रहरीले जनाएको छ । बेपत्ताको खोजी कार्य तथा उद्धार गर्न प्रदेशभर चार हजार ११९ प्रहरी परिचालन गरिएको थियो । प्रहरीले विभिन्न जिल्लाका २४७ परिवारका ३१७ जनाको उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरेको प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिनुभयो ।

प्रतिक्रिया