September 20, 2024, 5:36 am
» प्रधानमन्त्री ओली आज अमेरिका जादै » च्याम्पियन्स लिगमा मोनाकोसँग बार्सिलोना पराजित » मनसुनी वायुको प्रभाव: दिउँसो देशभर आंशिकदेखि साधारणत बदली » ‘शेरबहादुर देउवा रिसाएको दिन यो सरकार ढल्छ’ : रवि लामिछाने » श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै

राष्ट्रपति पौडेल भगवती रथजात्रा अवलोकन गर्न पाल्पामा

भदौ ११, २०८१ मा प्रकाशित | ३६०दर्शक तीव्रखबर

लुम्बिनी,  : राष्ट्रपति रामचन्द्र पौडेल ऐतिहासिक रणउजीरेश्वरी भगवती रथजात्रा अवलोकन गर्न आज पाल्पा सदरमुकाम तानसेन आइपुग्नुभएको छ ।

उहाँलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वागत गर्नुभयो । राष्ट्रपति पौडेललाई जनस्तरबाट समेत भव्य स्वागत गरिएको छ ।

जात्रामा सहभागी हुन रक्षा मन्त्री मानवीर राई र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे पनि पाल्पा आउनुभएको छ ।

तानसेनस्थित रणउजीरेश्वरी भगवती मन्दिरमा हरेक वर्ष भगवती रथ यात्रा हुने गरेको छ ।

नेपालले अङ्ग्रेजलाई युद्धमा पराजित गरी विजय हासिल गरेको खुसियालीमा हरेक वर्ष कृष्ण जन्माष्टमीको अर्काे दिन धुमधामका साथ विजयोत्सव स्वरुप रणउजीरेश्वरी भगवतीको रथ जात्रा निकाल्ने चलन छ ।

विजयोत्सव एवं भगवती रथजात्रा राष्ट्रपति पौडेलले अवलोकन गर्नुहुने कार्यक्रम रहेको पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले जानकारी दिनुभयो ।

उहाँका अनुसार भगवतीको रथ निकालिने दिन आज नै अमननारायणको समेत रथ निकालिने भएको छ । यस वर्ष भगवती र अमननारायणको रथ निकाल्न तिथि एकैदिन परेको छ ।

भगवतीको रथ निकाल्नु अघि तानसेनको नारायणथान मन्दिरबाट अमननारायणको रथ निकालेर उक्त रथले भगवतीको परिक्रमा पछि मात्र भगवतीको रथ निकालिने परम्परा रहेको छ ।

भगवतीको रथयात्रा निकाल्नुअघि राष्ट्रपति पौडेलले रणउजीरेश्वरी भगवतीको मन्दीरमा पूजाआजा गर्ने कार्यक्रम रहेको प्रजिअ काफ्लेले जानकारी दिनुभयो ।

तत्कालीन समयमा नेपाली सेनाले चलाएको उक्त विजयी जात्रा पाल्पाको सबैभन्दा ठूलो पर्व र जात्राका रुपमा परिचित छ ।

कर्णेल उजीरसिंह थापाले १८७६ सालमा निर्माण गरेको रथलाई नै हालसम्म विजय जात्राका रुपमा सञ्चालन गरिँदै आएको छ ।

प्रतिक्रिया