काभ्रेको कुतालमा युवाको सक्रियतामा छ्योर्तेन निर्माण

- April 23, 2024 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काभ्रेपलाञ्चोक : काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–३ कुतालमा तामाङ युवाको सक्रियतामा छ्योर्तेन निर्माण गरिएको छ ।

तामाङ समुदायको बाहुल्यता रहेको सो स्थानमा युवाको सक्रियतामा धार्मिक तथा पितृकर्म गर्ने पवित्रस्थल छ्योर्तेन निर्माण गरिएको स्थानीय कुमारसिंह तामाङले बताउनुभयो ।

सो ठाउँमा करिब ६० घरधुरी बौद्धमार्गी तामाङको बसोबास छ । तामाङका अनुसार त्यहाँ धार्मिक आस्थाअनुसारको पवित्रस्थल नभएका कारण धार्मिक तथा पितृकर्म गर्न समस्या भइरहेको थियो ।

त्यही समस्यालाई मध्यनजर गरी प्रगति युवाक्लब गठन गरेर छ्योर्तेन निर्माण गरिएको उहाँको भनाइ छ ।

“विनाबजेटमा गाउँमाथि रहेको चिहानघाटमा बनाएका अधुरा संरचना निर्माणका काम सुरू ग¥यौँ । त्यसका लागि सामाजिक सञ्जालमार्फत आर्थिक सहयोग पनि जुटायौँ ।

श्रमदानबाट जगको फाउण्डेशन तयार गरी छ्योर्तेन निर्माणको काम आधाउधी पुगेपछि नगरपालिकाबाट समेत बजेट विनियोजना भएपछि सम्पूर्ण कार्य गर्न सहज भयो”, तामाङले बताउनुभयो ।

धुलिखेल नगरपालिका–३ का वडाध्यक्ष गणेश आचार्यले तामाङ समुदायको बाहुल्यता रहेको सो बस्तीका युवाले थालनी गरेको काममा नगरपालिकाबाट रु सात लाख ५० हजार सहयोग गरिएको बताउनुभयो ।

सो संरचना निर्माणका लागि हालसम्म रु ११ लाख खर्च भइसकेको र यही वैशाखमा पर्ने बुद्धजयन्तीको अवसर पारेर उद्घाटन गर्नेगरी अन्तिम चरणका काम भइरहेका ‘बोधि चैत्य ज्याङ्छ्युक छ्योर्तेन’ निर्माण उपभोक्ता समितिका अध्यक्ष पासाङ तामाङले जानकारी दिनुभयो ।

बुद्धको चित्तको स्वरुप मानिने छ्योर्तेनलाई बौद्धमार्गीहरुले धर्म सञ्चय गर्ने पवित्रस्थलका रुपमा लिने गर्दछन् ।

भक्तिभाव र शुद्ध मनका साथ छ्योर्तेन परिक्रमा गर्दा पाप नष्ट हुने र मनले चाहेको कुरा पूरा हुने जनविश्वास रहिआएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!

 

 

तीव्र अपडेट