‘इरानमा इजरेली क्षेप्यास्त्र बज्रियो, देशको मध्यभागमा विस्फोटन’

- April 19, 2024 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

एउटा इजरेली क्षेप्यास्त्र इरानमा बज्रिएको अमेरिकी अधिकारीहरूले बीबीसीको अमेरिकी साझेदार सीबीएस न्यूजलाई बताएका छन्।

इरानी सरकारी सञ्चारमाध्यमहरूले मध्यइरानको इस्फहान सहरस्थित अन्तर्राष्ट्रिय विमानस्थलनजिकै विस्फोटन सुनिएको अपुष्ट जानकारी पाएको उल्लेख गरेका छन्।

इरानको प्रतिरक्षा प्रणालीले तीनवटा ड्रोन नष्ट पारिदिएको बताइएको छ।

इरानी सरकारी सञ्चारमाध्यमहरूका अनुसार कैयौँ सहरमा उडान रद्द गरिएको छ।

इरानमा क्षेप्यास्त्र प्रहार भएको विषयमा अमेरिका रक्षा मन्त्रालय र इजरेली सेनाले टिप्पणी गर्न अस्वीकार गरेका छन्।

गत शनिवार राति इरानले इजरेललाई लक्ष्य बनाउँदै ३०० वटाभन्दा बढी ड्रोन र क्षेप्यास्त्र प्रहार गर्दै पहिलो पटक सोझै आक्रमण गरेको थियो।

इजरेलले उक्त आक्रमणको जबाफ दिने बताएको थियो। त्यस बेलादेखि नै इरानमा उच्च सतर्कता छ।

विस्फोटन भएको ठाउँ कहाँ छ ?
इस्फहान इरानको राजधानी तेहरानभन्दा झन्डै ३५० किलोमिटर दक्षिणमा पर्छ।

इस्फहानमा कैयौँ परमाणुकेन्द्रहरू छन्। त्यहाँ एउटा मुख्य सैन्य आधार र सामरिक महत्त्वका स्थलहरू छन्। तर अहिलेसम्म कतै क्षेप्यास्त्र लागेको जानकारी प्राप्त भएको छैन।

सरकारी प्रसारक आईआरआईबीले “विश्वस्त स्रोत”लाई उल्लेख गर्दै त्यहाँ रहेका परमाणुकेन्द्रहरू “पूर्ण रूपमा सुरक्षित रहेको” जनाएको छ।

दक्षिणी सिरियामा रेडार केन्द्रहरूलाई निसाना बनाएको देखिने गरी विस्फोटन भएको विवरण आएका छन्।

इराकको राजधानी बग्दाद र दक्षिणको बलिल प्रान्तमा समेत विस्फोटन भएको विवरण प्राप्त भएको छ।

सुन र तेलको भाउ बढ्यो
अमेरिकी अधिकारीहरूले इरानमा इजरेली क्षेप्यास्त्र प्रहार भएको बताएपछि विश्व बजारमा खनिज तेल र सुनको मूल्य बढेको छ।

शुक्रवार बिहान एशियामा ‘ब्रेन्ट’ कच्चा तेलको मूल्य तीन प्रतिशतले बढेर प्रतिब्यारल ९० अमेरिकी डलर पुगेको छ भने सुनको मूल्य प्रतिआउन्स (झन्डै २८.३५ ग्राम) को २,४०० डलर पुगेको छ।

सुनको मूल्य अहिलेसम्मकै सर्वाधिक भएको हो। इरान खनिज तेलको सातौँ ठूलो उत्पादक हो।

जापान, हङ्‌कङ र दक्षिण कोरियामा स्टक बजार ओरालो लागेको छ। बीबीसी नेपालीबाट ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!