भौतिक मन्त्रालयमा सेटिङ मिलाउन सिपालु सचिव सिग्देललाई पुनः मन्त्रीले भत्र्याए

- April 1, 2024 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमातहत निकायमा कार्यरत केही कर्मचारीको सरुवामा विभागीय मन्त्री रघुवीर महासेठको भन्दा मन्त्राणी जुली कुमारी महतोले बढी चासो दिने गरेको चर्चा बाहिर आएको छ । भौतिक पूर्वाधारका सचिव केशव शर्मा बिडारीलाई उर्जा आयोगमा फालिएको छ।

भौतिक मन्त्रालयमा सेटिङ र कमिशनमा रमाउने उर्जा सचिव गोपाल सिग्देललाई भित्र्याइएको छ। अब सडक, रेल, यातायात व्यवस्था विभागका महानिर्देशक र विभिन्न राष्ट्रिय गौरवका सडक आयोजनाका आयोजना निर्देशकको सरुवा गर्न केही निर्माण व्यवसायीहरुले चलखेल तीव्ररूपमा भइरहेको बुझिएको छ ।

उर्जा सचिवमा सरिता दुवाडीले अवसर पाएकी छिन् । भौतिक मन्त्रालय अन्तरगतका सडक आयोजना, निर्देशनालय र डिभिजन सडक कार्यालयका प्रमुखहरूको सरूवामा उप–प्रधानमन्त्री महासेठ भन्दा पनि मन्त्राणी एवम् पूर्व महिला, बालबालिका तथा जेष्ठ नागरिक जुली मन्त्री महतोले बढी चासो लिएर सम्बन्धित कर्मचारीलाई भेट गर्न थालेको चर्चा कर्मचारीहरूले गर्न थालेका छन् ।

उर्जा सचिव रहेको गोपाल सिग्देललाई मन्त्रालयमा भित्र्याउने मन्त्रीको चाहना अनुसार नै सिग्देलले अवसर पाएका छन् र २०८० चैत १९ गते भौतिक मन्त्रालयका सचिवमा पदवहाली गरेका छन् । निवर्तमान मन्त्री प्रकाश ज्वालाले हुलाकी राजमार्ग निर्देशनालय अन्तर्गतको हाल नेपालगन्ज योजना कार्यालयका प्रमुख सिनियर डिभिजन इन्जिनियर लिला भण्डारीमार्फत २०८० भदौमा ठूलै संख्यामा प्राबिधिक कर्मचारीहरुको सरुवा गरेका थिए ।

नयाँ मन्त्री आएसँगै सेटिङ्ग र मिलेमतो अनुसार नै राम्रै थैली बुझाएर दुई वर्ष सरुवा नहुने आश्वासन पछि सरूवा भएका इन्जिनियर, सिडिई र सुईहरू अब कसरी आआफ्नो पद थमौती गर्ने भनेर यतिबेला गुनासो गर्दै हिंडेका छन् । मालदार र आकर्षक डिभिजन, आयोजना, संघीय सुपरीवेक्षण कार्यालयमा आफ्नो नयाँ टीमलाई मन्त्रीले खटाउने मनसाय राखेपछि कर्मचारीहरुमा एक किसिमको आतंक नै फैलिएको बताइएको छ ।

विगतमा राम्रै थैली बुझाएर गएका कर्मचारी पुँजीगत खर्च अति न्यून हुँदा र निर्माण सम्पन्न भएका तथा रनिङ बिलको समयमा भुक्तानी नहुँदा समस्या बेहोर्दै आएको चर्चा हुने गरेको छ। अर्थ मन्त्रालयले बिल भुक्तानीका बजेट उपलव्ध नगराउँदा कमिशनबापत प्राप्त हुने ५ देखि १० प्रतिशत रकम पनि हात पार्न नपाएर कर्मचारीहरु फिटीफिटी परेको अवस्था छ ।

त्यसमाथि उल्टै रकम बुझाएर थमौती हुनपर्ने बाध्यात्मक अवस्था आयो भने सेलेण्डर गरेर हिंडने तरखरमा उनीहरू रहेको स्रोतको भनाई रहेको छ । भौतिक मन्त्रालयका केही कर्मचारी भने बिचौलियामार्फत मन्त्रीसँग कुरा मिलाएर थमौती हुन दौडधुपमा लागेको चर्चा छ । अनुगमनको क्रममा केही हप्ता अघि मन्त्री महासेठ सडक विभाग पुग्दा प्रत्येक कोठा(कोठामा पुगेर इन्जिनियर, सिडिई र सुई कार्यरत छन् भनेर ब्रिफिङ लिएका थिए ।

मन्त्रीको उक्त कार्यशैलीबाट मन्त्रालय र विभाग मातहत निकायमा कार्यरत कर्मचारीहरु आत्तालिएको दावी स्रोतले गरेको छ । उता, मन्त्राणी महतोले कर्मचारी सरुवा र सेटिङ्गको लागि मन्त्रीक्वार्टर पुलचोक, ठुला होटल तथा रेष्टुरेन्टहरुमा उच्चपदस्त कर्मचारीहरुलाई बोलाएर कुन योजना, आयोजना र निर्देशनालय सरुवा हुने भन्दै खासगरी नेकपा एमाले र कांग्रेस निकटका इन्जिनियर, सिडिई र सुईहरूलाई भेटन सुरु गरेको स्रोतले दावी गरेको छ ।

मन्त्री महासेठ भन्दा मन्त्राणी महतो सकृय हुँदा प्राविधिक कर्मचारीहरु भने आश्चर्यचकित भएका छन् । उनको यो कदम र चलखेललाई मन्त्रालय, विभागमातहत कार्यरत कर्मचारीहरूले त्यति राम्रो र शुभ संकेतको रुपमा भने लिएका छैनन् । (साँघुबाट)


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!