कपाल काट्ने तालिम सञ्चालन गर्दै चन्द्रागिरि नगर

- March 27, 2024 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । काठमाडाैंको चन्द्रागिरि नगरपालिकाले विभिन्न सीपमुलक तालिम कार्यक्रम सञ्चालन गर्ने भएको छ।

नगरको आर्थिक वर्ष २०८०-८१ को स्वीकृत कार्यक्रम अन्तर्गत गरिबी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) अन्तर्गत विभिन्न विषयमा तालिम कार्यक्रम सञ्चालन हुन लागेको हो।

चन्द्रागिरि नगरपालिकाको आर्थिक विकास शाखाका अनुसार ती तालिम कार्यक्रम अन्तर्गत सिलाई, कटाईको आधारभूत ज्ञान भएका व्यक्तिका लागि एक महिने स्तरोन्नति तालिम, कलात्मक काष्ठ कला सम्बन्धी तालिम र कपाल काट्ने तालिम सञ्चालन हुन लागेको हो।

कलात्मक काष्ठकला सम्बन्धी तालिम २ महिनाको हुनेछ भने सिलाई, कटाई र कपाल काट्ने तालिम एक महिनाको हुनेछ।

नगरपालिकाले सञ्चालन गर्ने ती तालिम कार्यक्रममा सहभागिताका लागि चैत्र १९ गतेसम्म सम्पर्क राख्न सकिने नगरको आर्थिक विकास शाखा प्रमुख राजु बहादुर खड्काले जानकारी दिए। नगरमा बेरोजगार रहेका नागरिकहरूका लागि छोटो अवधिमै सीप सिक्दै आयआर्जनको ढोका खोल्न थप विषयमा तालिम कार्यक्रम सञ्चालन गर्न लागिएको चन्द्रागिरि नगरका प्रवक्ता कृष्ण प्रसाद खड्गीले बताए।

प्रवक्ता खड्गीका अनुसार चन्द्रागिरि नगरले गरिबी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) अन्तर्गत चन्द्रागिरि नगरपालिकाबाट विभिन्न समयमा सञ्चालन भएका तालिम/प्रशिक्षण लिएका प्रशिक्षार्थीहरूले सुरु गरेका व्यापार, व्यवसाय तथा सेवाहरूको प्रवर्द्धनका लागि वडागत रूपमा शहरी बजार सञ्चालन गरिरहेको छ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!