यसपालि ३६६ दिनको वर्ष : ‘लीप यिअर’ गणना गर्ने चलन नभएको भए के हुन्थ्यो ?

- January 14, 2024 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं, यो वर्षको पात्रोमा पहिलाको तुलनामा एक दिन थपिएको छ । सामान्यतया एक वर्षमा ३६५ दिन हुन्छन् । तर सन् २०२४ मा वर्ष ३६६ दिन हुने छन् । वर्षमा अतिरिक्त एक दिन हुँदा त्यसलाई ‘लीप यिअर’ अर्थात् ‘अधिवर्ष’ भनिन्छ । यो वर्ष थपिएको एक दिन अङ्ग्रेजी पात्रोको सबैभन्दा छोटो महिनामा पर्छ । फेब्रुअरी २९ लाई ‘लीप डे’ अर्थात् अतिरिक्त दिन भनिन्छ र उक्त दिन कतिपय स्थानमा परम्परागत सांस्कृतिक र अन्धविश्वासमा आधारित गतिविधि गर्ने पनि चलन छ । सामान्यतया लीप यिअर हरेक चार वर्षमा आउँछ । यसअघि सन् २०२० मा लीप यिअर थियो भने अब सन् २०२८ मा अर्को लीप यिअर आउँछ । यद्यपि यससँग सम्बन्धित नियममा केही अपवाद छन् । त्यसबारे हामी अन्त्यमा विश्वभरि लीप यिअर मनाउने परम्परासँगै चर्चा गर्ने छौँ ।

लीप यिअर किन हुन्छ ?
एक वर्षको पात्रोमा सामान्यतया ३६५ दिन हुन्छ । त्यो पृथ्वीले एक पटक सूर्यको परिक्रमा गर्न लाग्ने समय हो । तर ३६५ दशमलब घटाइएको अङ्क हो । पृथ्वीलाई वास्तवमा सूर्यको एक फन्को लगाउन ३६५.२४२१९० दिन लाग्छ । अर्थात् ३६५ दिन पाँच घण्टा ४८ मिनेट र ५६ सेकेन्ड समय लगाएर पृथ्वीले सूर्यको परिक्रमा गर्छ । यसलाई ‘साइडिअरिअल’ अर्थात् नाक्षत्रिक वर्ष भनिन्छ । साइडिअरिअल वर्षको अवधि पात्रोमा हुने वर्षभन्दा केही बढी हुन्छ । तसर्थ त्यसबाट अतिरिक्त घण्टा, मिनेट र सेकेन्ड घटाउने गरिन्छ । अनि निश्चित वर्षपछि अतिरिक्त दिन थप गरेर पात्रोमा मिलान गरिन्छ ।

लीप यिअरमा के गर्ने चलन छ ?
लीप यिअरसँग विभिन्न परम्परा र अन्धविश्वासहरू विभिन्न समाजमा प्रचलित छन् । आयरल्यान्डमा अविवाहित महिलाहरूले ‘लीप डे’ अर्थात् फेब्रुअरी २९ का दिन आफूलाई मन परेको व्यक्तिलाई प्रेम वा विवाहको प्रस्ताव राख्न पाउँछन् । अहिलेको महिलाहरूले जुनसुकै दिन पनि दिन पुरुषलाई प्रेमप्रस्ताव राख्न सक्छन् । तर यो परम्परा पाँचौँ शताब्दीदेखिको हो । यो सेन्ट ब्रिजेट र सेन्ट प्याट्रिकको किंवदन्तीमा आधारित छ । उक्त किंवदन्तीअनुसार ब्रिजेटले एक दिन प्याट्रिक भए ठाउँ गएर पुरुषहरूले प्रेमप्रस्ताव राख्न ढिलो गरेकाले महिलाहरूले विवाह गर्न धेरै समय पर्खिनुपरेको गुनासो गरेकी थिइन् ।

उनले महिलाहरूलाई पनि प्रस्तावको अवसर दिन माग गरिन् । त्यस दिन महिलाले गरेको प्रस्ताव अस्वीकार गरे पुरुषले क्षतिपूर्ति दिनुपर्ने चलन पनि थियो। त्यस्ता पुरुषले प्रस्ताव गर्ने महिलालाई पन्जा वा रेसमको गाउन किनिदिनुपर्थ्यो । कतिपय संस्कृतिमा भने लीप डेलाई अशुभ दिन मान्ने गरिएको छ । ग्रीसमा लीप यिअरमा विवाह नगर्न सल्लाह दिइन्छ । विशेष गरी लीप यिअरमा थपिएको दिन विवाह गरिँदैन । त्यहाँ लीप डेमा विवाह गरे सम्बन्धविच्छेद हुने ठानिन्छ । स्कटल्यान्डमा मानिसहरू त्यस दिन “बोक्सीहरू” दुष्टकर्म गर्न भेला हुने विश्वास गर्छन् । केही स्कटहरू अझै पनि फेब्रुअरी २९ मा जन्म हुनुलाई अशुभ मान्छन् । तर अरू केही देशमा भने उक्त दिन शिशु जन्मिनुलाई शुभ मानिन्छ । कतिपय ज्योतिषीहरू लीप यिअरको अतिरिक्त दिन जन्मिएका मानिससँग दैवीशक्ति हुने ठान्छन् ।

लीप डे किन फेब्रुअरीमा पर्छ ?
अतिरिक्त एक दिनलाई फेब्रुअरीमा राख्ने अभ्यास प्राचीन रोममा जूलिअस सीजरको क्यालेन्डर सुधार गर्ने कामबाट सुरु भएको थियो । सीजरले जूलिअन क्यालेन्डर आरम्भ गराउँदा लीप यिअरलाई ‘सोलर यिअर’ अर्थात् ‘सौर्य वर्ष’ सँग मिल्ने गरी गणना गरियो । सन् १५८२ मा जूलिअन क्यालेन्डर ग्रेगोरिअन क्यालेन्डरका रूपमा विकसित भए पनि फेब्रुअरीमा लीप डे राख्ने चलनले निरन्तरता पायो ।

लीप यिअर नभएको भए के हुन्थ्यो ?
लीप यिअर गणना गर्ने चलन नभएको भए पात्रोमा यामहरू कालान्तरमा एउटै समयमा नपर्न सक्थे । उदाहरणका लागि, ७०० वर्षको अवधिमा उत्तरी गोलार्धमा बर्खा याम जुन महिनामा नभई डिसेम्बरमा पुग्न सक्थ्यो ।

लीप यिअर कस्तो अवस्थामा गणना हुँदैन ?
अधिकांश मानिसहरूल लीप यिअर प्रत्येक चार वर्षमा एक पटक पर्छ। तर सधैँ त्यस्तो हुँदैन । यो साइडिअरिअल वर्षका कारण भएको भिन्नता हो । प्रत्येक चार वर्षमा आउने लीप डे ठ्याक्कै २४ घण्टाको हुँदैन। त्यो दिन २३.२६२२२२ घण्टाको हुन्छ । समयमा हुने त्यो भिन्नता पनि मिलान गर्नुपर्ने हुन्छ । अनि लीप यिअर तय गर्ने नियम पनि बनाइएको छ। चारले भाग गर्न सकिने वर्षले मात्र लीप यिअरको मान्यता पाउँछ । यद्यपि एउटा अपवाद पनि छ । कुनै वर्षलाई १०० ले भाग गर्न सकिन्छ भने त्यो वर्षलाई लीप यिअरमा गणना गरिँदैन । तर कुनै वर्षलाई ४०० ले भाग गर्दा सग्लो अङ्क आउँछ भने त्यसलाई चाहिँ लीप यिअर मानिन्छ । तपाईँलाई यो हिसाब जटिल लाग्यो कि?

सहज रूपमा बुझ्नका लागि केही उदाहरण हेर्नुहोस्:

सन् २००० लीप यिअर थियो किनभने यसलाई चार अङ्क र ४०० दुवैले भाग गर्न सकिन्थ्यो । तर यसअघिका सन् १७००, १८०० र १९०० लाई चार ले भाग गर्न सकिए पनि ४०० ले भाग गर्दा दशमलबमा अङ्क आउँथ्यो । त्यस कारण ती वर्षहरू लीप यिअर थिएनन् । अब सन् २१०० पनि लीप यिअर हुने छैन । बीबीसी नेपालीबाट ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!

 

 

तीव्र अपडेट