काँग्रेसले वैदेशिक रोजगार पनि गुमायो : अध्यक्षमा एमाले निकट भण्डारी निर्वाचित

- January 21, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौँ । संसदमा सवैभन्दा ठूलो दल रहेको नेपाली काँग्रेसले सत्ता गुमाएसंगै अब अन्य संघसस्थाको नेतृत्व समेत गुमाउन सुरु भएको छ । यसैक्रममा अघिल्लो पुरै नेतृत्व काँग्रेसको पोल्टामा रहेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघ यस पटक गुमाउन पुगेको छ । सो संघमा नेकपा एमाले निकटको प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालको पोल्टोमा पुगेको छ ।

सो संघको नवनिर्वाचित अध्यक्षमा एमाले निकट राजेन्द्र भण्डारी निर्वाचित भएका छन् । शनिबार बिहान सम्पन्न संघको २९ औं साधारण सभा निर्वाचनबाट अरोरा ह्युमन रिसोर्स प्रालिका सञ्चालक भण्डारी निर्वाचित भएका हुन् । उनले आफ्ना तीन जना प्रतिस्पर्धीलाई पराजित गर्दै अध्यक्षमा निर्वाचन हुन सफल भएका छन् । नेकपा एमाले निकटको प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालका भण्डारीले १ सय ९९ मत पाए भने कांग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनका अध्यक्षका उम्मेदवार कुमुद खनालले १ सय ५७ मत पाएका छन् ।

एशोसिएसनबाटै विद्रोह गरेर अध्यक्षमा उम्मेदवार दिएका भुवनसिंह गुरूङले १ सय ३१ मत पाए । नेकपा माओवादी निकटको वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्च र नेकपा एकीकृत समाजवादी निकटको एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनको संयुक्त प्यानलका अध्यक्षका उम्मेदवार डा। ईश्वर जिसीले १ सय १८ मत पाए ।

संघको प्रथम उपाध्यक्षमा मञ्चका डिकबहादुर खत्री कुमार निर्वाचित भएका छन् । उनले २ सय ५३ मत पाएका छन् । उनका प्रतिस्पर्धी एशोसिएसनका किशोर केसीले १ सय ९६, धनलाल जैसीले १४२ र सुरज कुमार घुण्डेले १५ मत पाए । द्वितीय उपाध्यक्षमा पनि मञ्चकै उम्मेदवार सञ्जु गुरूङ २ सय ६३ मतसहित विजयी भएका छन् ।

उनका प्रतिस्पर्धी भुवनसिंह गुरूङ प्यानलका महमद जवाहरदिन मियाँले १ सय २२, लोकतान्त्रिक एशोसिएसन प्यानलका अख्तर हुसेनले १ सय २ र गणतान्त्रिक समाजवादी प्यानलका बाबुराम खड्काले ९६ मत पाए । तृतीय उपाध्यक्ष मञ्चका उम्मेदवार रोशन कटुवाल १ सय ९२ मत ल्याई विजयी भएका छन् । महासचिवमा लोकतान्त्रिक प्यानलका मेघनाथ भुर्तेल २ सय ६३ मतसहित विजयी भएका छन् । निलकमल ह्यूमेन रिसोर्स प्रा।लि।का संचालक भुर्तेल यसअघि संघको सचिव थिए ।

सचिवमा लोकतान्त्रिक प्यानलका कर्णराज कटुवाल २ सय ४१ मत ल्याई निर्वाचित भएका छन् । कोषाध्यक्षमा मञ्चकी सरिता घले २ सय २८ मत ल्याई निर्वाचित भएकी छन् । यसैगरी कार्यसमिति सदस्यमा राजेन्द्र बस्नेत २९१, विक्रम श्रेष्ठ २४६, देवमाया थापा २४५, बैकुण्ठ प्रसाद पौडेल २३२, कैलाश पाठक २३०, देउमान नेम्वाङ २२४, आनन्द कोइराला २१८, नारायण भुसाल २१७, तोरणबहादुर कार्की २१२ र चन्द्र बहादुर लिम्बू २१० मत ल्याएर निर्वाचित भएका छन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!