विश्वकपको फाईनल खेल आज : अर्जेन्टिना र फ्रान्स भिड्दै

- December 18, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । कतारमा भै रहेको २२ औँ श्रृखलाको विश्वकप फुटबलको फाईनल खेल आज (आइतबार) नेपाली समय अनुसार बेलुका ८ बजेर ४५ मिनेटमा हुदै छ । सो खेलको उपाधिका लागि साबिक विजेता फ्रान्स र दुई पटकको विजेता अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुने भएको छ । सो खेलमा जसले जिते पनि तेस्रो पटक विश्व च्याम्पियन बन्ने छन् ।

अर्जेन्टिनाले ३६ वर्षयता यो प्रतियोगिता जित्न सकेको छैन । २ पटक फाइनल पुगेर पराजित भएको थियो । सन् १९७८ मा पहिलो पटक विश्व विजेता बनेको अर्जेन्टिना त्यसपछि १९८६ मा दोस्रो पटक उपाधि जित्न सफल भएको थियो । सन् १९९० र २०१४ को संस्करणमा फाइनल पुगे पनि उपविजेता मै सीमित बनेको थियो ।

अर्जेन्टिना समग्रमा छैटौँ पटक विश्वकपको फाइनल खेल्दै आइतबार खेल्दै छ । यता सन् १९९८ मा पहिलो पटक फाइनल पुग्ने क्रममै विश्व विजेता बनेको फ्रान्स २००६ को संस्करणमा उपाधि नजिक पुगेपनि जित हासिल गर्न सकेको थिएन । फाइनलमा इटालीसँग टाइब्रेकरमा पराजित भएको थियो ।

फ्रान्स चौथो पटक विश्वकप फाइनलमा भिड्न लागेको छ । अर्जेन्टिनालाई पराजित गर्न सकेको अवस्थामा फ्रान्स विश्वकपको उपाधि रक्षा गर्ने ६० वर्षयताको पहिलो टोली बन्न सक्छ । अन्तिम पटक यस्तो सफलता सन् १९६२ मा ब्राजिलले प्राप्त गरेको थियो । ७ पटकका फिफा वर्ष खेलाडी मेस्सीका लागि विश्व च्याम्पियन बन्ने यो अन्तिम अवसर समेत बनेको छ ।

उनले यो आफ्नो अन्तिम विश्वकप भएको बताइसकेका छन् । मेस्सीकै कप्तानीमा अर्जेन्टिना सन् २०१४ को विश्वकपमा फाइनलसम्म पुगे पनि उपाधि भिडन्तमा पराजित भएको थियो । मेस्सीले प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीका रूपमा गोल्डेन बल भने प्राप्त गरेका थिए । उनले गत वर्ष मात्र अर्जेन्टिनाका लागि सिनियर अन्तर्राष्ट्रिय फुटबलमा उपाधि जित्ने सपना पुरा गरेका थिए ।

ब्राजिलमा भएको कोपा अमेरिकामा फाइनलमा घरेलु टोलीलाई हराएर उपाधि जितेका थिए । नयाँ पुस्ताका खेलाडी एमबाप्पे लगातार दोस्रो पटक विश्व विजेता बन्ने प्रयासमा रहेका छन् । उनले जारी प्रतियोगितामा ५ गोल र दुई असिस्ट गरेका छन् । सन् २०१८ मा फ्रान्सले उपाधि जित्दा एमबाप्पे सर्वोत्कृष्ट युवा खेलाडी घोषित भएका थिए ।

यसपटक क्वाटरफाइनल र सेमिफाइनलमा गोल गर्न चुकेका उनी गोल्डेन बुटको दौडमा रहेका छन् । मेस्सी र एमबाप्पे दुवै व्यावसायिक फुटबल एउटै क्लबबाट खेल्दै आएका छन् । समूहगत चरणमा सुरुका दुई खेल जितेर नकआउट चरणमा स्थान पक्का गरेको फ्रान्स अन्तिम खेलमा ट्युनिसियासँग पराजित भए पनि समूह विजेताका रूपमा अगाडि बढेको थियो ।

अर्जेन्टिना र फ्रान्स अन्तिम पटक सन् २०१८ को विश्वकप प्रिक्वाटरफाइनलमा भिडेका थिए । त्यस खेलमा फ्रान्स ४–३ गोलले विजयी भएको थियो । एमबाप्पेले त्यस खेलमा २ गोल गरेका थिए । मेस्सी गोलविहीन रहेका थिए । फ्रान्ससँग हालसम्म भएका १२ भिडन्तमा अर्जेन्टिनाले ६ जित, तीन बराबरी र तीन हारको नतिजा निकालेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!