लोसपा काङ्ग्रेसमा विलय हुँदै : राष्ट्रपतिको बार्गेनिङमा महन्थ

- December 7, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । मंसिर ४ गते भएको निर्वाचनबाट मधेशबाटै पाराजीत भएपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाली काँग्रेसमा विलय हुने भएको छ । लोसपाका नेता महन्थ ठाकुर सत्ता गठबन्धनका तर्फबाट राष्ट्रपतिको सर्वसम्मत उम्मेदवारको प्रस्ताव सहित ठाकुरको पार्टी लोसपा काँग्रेसमा विलय हुन तयार रहेको सो दलका एक नेताले बातएका छन् ।

लोसपाको तर्फबाट शरतसिंह भण्डारी मन्त्रिमण्डलमा सहभागी हुने बताइएको छ । लोसपा नेतृ चन्दा चौधरी निर्वाचनअगाडि नै काङ्ग्रेस प्रवेश गरिसकेकी छन् । उनको काङ्ग्रेस प्रवेशलाई विश्लेषकहरूले त्यतिबेलै अर्थपूर्ण मानेका थिए । लोसपालाई काङ्ग्रेस नश्लको पार्टीका रूपमा हेरिँदै आएको छ ।

मधेशकेन्द्रीत समूहहरूमध्ये जसपा (उपेन्द्र यादव) लाई वामपन्थी रुझानको अर्थात् कम्युनष्टनिकट मानिन्छ । त्यसैले ढिलो या चाँडो लोसपाको विलय काङ्ग्रेसमा हुने निश्चित मानिएको हो । राष्ट्रिय पार्टी बन्न नसकेकोले पनि लोसपामाथि काङ्ग्रेसमा विलय हुन दबाब बढिरहेको छ ।मिलेसम्म प्रधानमन्त्री बन्ने र नमिले राष्ट्रपतिमै चित्त बुझाउने मानसिकता रामचन्द्र पौडेलले बनाएका छन् ।

गठबन्धनका नेताहरूका निम्ति पौडेलले असहजता पैदा गर्न सक्ने देखिएको छ । देउवासँग लेनदेनमा सम्झौता गर्ने मानसिकतामा रहेका पौडेलले राष्ट्रपति र प्रधानमन्त्री बाहेकका जिम्मेवारी ग्रहण गर्ने विश्वास गरिएको छैन । तर पौडेललाई दुवै जिम्मेवारी मिल्ने सम्भावना न्यून देखिन्छ ।

उनलाई उपप्रधानमन्त्रीको हैसियतमा रक्षामन्त्रालयको जिम्मेवारी सुम्पनु उपयुक्त हुने सुझाव पनि कतिपयले देउवालाई दिइरहेका छन् । यसैबीच अबको राष्ट्रपति कसलाई बनाइएला भन्ने जिज्ञाशा सर्वत्र प्रकट भएको छ । पश्चिमा शक्तिले बाबुराम भट्टराईलाई राष्ट्रपति चयन गर्न दबाब पैदा गर्न थालेको बुझिएको छ, जबकि सत्ता गठबन्धनका कुनै पनि नेताहरू बाबुरामप्रति सकारात्मक छैनन् ।

त्यसैले राष्ट्रपति चयनमा पश्चिमी इच्छा र योजना पूरा नहुने देखिएको छ । ज्ञातव्य छ, पूर्वप्रधानमन्त्रीहरूमध्ये बाबुराम र झलनाथ खनाल मात्र प्रतिनिधिसभामा जान असफल भएका छन् भन्दै घटना र विचार साप्ताहिकले समाचार प्रकाशन गरेको छ । उल्लिखित व्यक्तिहरूको समर्थनमा प्रतिनिधिसभाभित्र एक जना पनि सांसद रहेको विश्वास गरिँदैन ।

समाजवादीका तर्फबाट विजयी दश सांसदहरू समेत झलनाथको औपचारिकबाहेक अनौपचारिक समर्थनमा नरहेको बुझिन्छ, जबकि झलनाथ खनालले पनि राष्ट्रपति पदमा दाबी गर्न खोजिरहेका छन् । तर खनालका निम्ति बाबुरामलाई झैँ कुनै अन्तर्राष्ट्रिय शक्तिकेन्द्रबाट दबाब या सुझाव आएको बुझिँदैन । काङ्ग्रेस पार्टी राष्ट्रपतिको उम्मेदवार चयन गर्न स्वतन्त्र भयो भने उसले मानबहादुर विश्वकर्मालाई अघि बढाउने सम्भावना छ । उपराष्ट्रपतिमा माओवादीले अग्नि सापकोटालाई चयन गर्ने बुझिएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!