खुला बहस गर्नकालागि राष्ट्र बैंक सधै तयार छ : गभर्नर

- December 1, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गत वर्ष भर तीब्र दबाव झेल्नु परेको नेपालको अर्थतन्त्र अहिले तुलनात्मक रुपमा सहज अवस्थामा आएको दाबी गरेका छन् । गर्भनर अधिकारीले विहिबार आर्थिक पत्रकार समाज (सेजन) को २६ औं वार्षिकोत्सबका अवसरमा सो कुराको दाबी गरेका हुन ।

उनले पछिल्लो तीन महिनामा शोधनान्तर बचतमा गएको भन्दै उनले उक्त तथ्यांकबाट अर्थतन्त्र नराम्रो अवस्थाबाट उठ्न खोजेको बताए । उनले मुलुककै आन्तरिक कारण मात्र नभएर बाह्य कारणसमेत कारण समेत केही समस्या रहेको बताएका छन् । चालु पूँजी कर्जा कार्यविधिको प्रावधानमा भइरहेको विरोधमा खुला बहस गर्न राष्ट्र बैंक तयार रहेको उनले बताए ।

उनले भने, ‘आउनुस्, हामी खुला बहस गरौं, हामी सबै नियम भित्र बस्नु प¥यो भन्ने चाहन्छौं ।’ अर्थतन्त्र कहाँ गइरहेको छ, भन्नेबारे गहन छलफल गर्न जरुरी रहेको भन्दै रेमिटेन्समा निर्भर अर्थतन्त्रलाई सुधार ल्याउनु पर्ने उनले बताए । आयात रोक्दा राजस्वमा परेको असरबारे उल्लेख गर्दै यो सधैं रोकेर साध्य पनि नहुने उनले बताए । गर्भनर अधिकारीले भने,‘भोलिको दिनमा यो खुल्छ, विजनेशलाई राज्यले सधैं रोकेर राख्दैन ।’

गभर्नर अधिकारीले विश्व अर्थतन्त्र र विकसित अर्थव्यवस्था भएका मुलुकहरू पनि अहिले ‘स्ट्रेस’मा भएको बताए । ‘नेपालको अवस्था त्यति नराम्रो छैन,’ अधिकारीले भने, ‘दक्षिण एसियाका (भारतबाहेक) अन्य देशको तुलनामा नेपालको अर्थतन्त्र स्टेवल नै छ, यद्यपी केही अपठ्यारा नभएका भने होइनन् ।’

बाह्य कारणले १ वर्षकै अवधिमा मुलुकले २ दशमलव ३४ अर्बको विदेशी मुद्रा गुमाउनु ५५ वर्षको इतिहासमा पहिलोपटक भएको पनि उनले बताए । अहिले निजी क्षेत्रबाट चालु चुक्ता पूँजी मार्गदर्शनमा विरोध भए पनि नेपाल राष्ट्र बैंकले यसमा पर्याप्त छलफल र सुझाव मागेर नीति ल्याएको स्पष्ट उनले पारे ।

‘२०७८ पुस १५ गते मार्गदर्शन सुझाव तथा रायका लागि सार्वजनिक गरिएको थियो,’ अधिकारीले भने, ‘बैंकहरूबाट लिएको ऋण सही स्थानमै उपयोग होस् भन्ने मात्रै उद्देश्य हो, सही उद्देश्यको उपकरण गलत हुनु भएन ।’ केन्द्रिय बैंक समस्या समाधानका उपाय खोज्ने छलफलका लागि सधै तयार रहेको भन्दै उनले ब्याजदर तोक्ने अधिकार बजारलाई छोड्ने हो ? भनेर प्रश्नसमेत गरे । देशको अर्थतन्त्रमा सुधार जरूरी रहेको पनि उनको भनाइ छ ।

यस्तै, आयात सधैलाई नरोकिने भन्दै आयातले राजस्वमा हानी पु¥याए पनि कतिपय अवस्थामा सकरात्मक प्रभाव पारेको उल्लेख गरे । निजी क्षेत्रका ३ वटै छाता संगठनका अधिकारी, राजनीतिक नेतृत्वको सहभागितामा उक्त छलफल गरिएको छ । सो छलफलमा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अब आउने नेतृत्वमा आँट हुनुपर्ने बताए ।

अहिले अभूतपूर्व संकटमा भएको सोचेर दृढता पूर्वक काम गरे मात्रै समस्याको समाधान हुने बताए । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले निजीक्षेत्रसँग सहकार्य गर्न आट राख्ने नेता नदेखेको बताए । अहिलेको समस्या निजी क्षेत्रको मात्रै नभएर समग्र मुलुकको भएको उनको भनाइ छ ।

सेजनको अर्थनीति सार्वजनिक गरिदै

प्यानल सत्रमा उनले निजी क्षेत्रसँग सहकार्यबिना आर्थिक विकास सम्भव नहुने जानकारी हुँदा हुँदै पनि यो क्षेत्रसँग सहकार्य गर्न डराउने र हिचकिचाउने प्रचलन किन छ भनेर प्रश्न गरे ।

‘निजी क्षेत्रले आर्जन गर्ने नाफामा किन सेलिब्रेशन गर्न सकिदैन ?।’ उनले भने । नेपाल चम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले राजनीतिक मुद्दा फरक भए पनि आर्थिक मुद्दामा सरकारको एउटै धारणा र एकरूपता हुनुपर्नेमा जोड दिए ।

जनमतबाट निर्वाचित समेत भएका थापा र पौडेललाई प्रश्न गर्दै उनले अब बन्ने सरकारले निजी क्षेत्रको कस्तो साथ र सहकार्य चाहन्छ स्पष्ट हुनुपर्ने बताए । अहिले आर्थिक ऐनको पनि आवश्यकता भएको र आयात प्रतिस्थापनमा पनि काम गर्नुपर्ने उनको धारणा छ । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले आर्थिक मुद्दालाई प्राथमिकतामा राख्न आग्रह गरे ।

अहिले पनि मन्त्रालय–मन्त्रालयबीच हुने असमझदारी र सहकार्य नहुँदा लगानीकर्ताहरूले समस्या खेपेको उनको भनाइ छ । सो अवसरमा नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष अनिल उपाध्यायले अहिलेको अर्थव्यवस्था चुनौतीपूर्ण रहेको बताए । ‘आर्थिक वृद्धिदर हासिल गर्ने की आर्थिक स्थायित्व ?’, उनले भने, ‘लगानीयोग्य रकम दीर्घकालिन बनाउनका लागि सरकारले पनि काम गर्नुपर्छ ।’

यसैगरी उनले मौन्द्रिक नीति समिक्षामा निजीक्षेत्र आक्रामक रहेको पनि बताए । अहिलेसम्म पनि बजेट नीति र मौद्रिक नीतिबाट मार्गदर्शन भएको हो की होइन भन्ने विषयमा अन्योलता देखिएको भन्दै उनले मौद्रिक नीतिले बजेटलाई नै सघाउने रहेको बताए । उनले वैदेशिक लगानी भित्र्याउन सम्झौता हुने तर सोहीअनुसार लगानी ल्याउन नसकिएको उल्लेख गरे ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!