हिंसाबाट बद्लिएको परिवेश

- October 31, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

कथा

–शीतल स्नेही

हिमा कक्षा ५ मा पढ्दै थिइन् । एक दिन स्कुलबाट घर आउँदा उनको मन उदांग भयो । घरमा यत्रतत्र लुगाफाटो र भाँडा छरिएका थिए । उनी निश्चित थिइन्– आज पनि बुवाले आमालाई पिट्नुभयो । उनले घरको सबैतिर हेरिन्, कसैलाई देखिनन् । बुवाआमा कता गए ? उनको मन डरायो । तैपनि उनले फालिएका भाँडाकुँडा र लुगाफाटो बटुल्न थालिन् । जता गए पनि बा त आऊलान् भन्ने उनलाई विश्वास थियो । केहीबेरपछि घरदेखि केही पर उनका बा’को आवाज सुनियो । उनका बाले उनकी आमालाई गाली गर्दै आइरहेका थिए ।
झगडा र कुटपिटपछि बाले आमालाई लखेटेका रहेछन् । बिचरी आमा जाने ठाउँ कहाँ थियो र ? उनी पनि एकछिनमा घरमा आइन् । हिमाले बा–आमाको बीचमा यस्ता झगडा सधैँ देखेकै हुन् ।
हिमाका बा सन्धुले दुई विवाह गरेका थिए । हिमाकी आमा जूनकीरी कान्छी हुन् । भनिन्छ, कान्छी श्रीमतीले श्रीमानको माया पाउँछन्, जूनकीरीको जीवनमा यस्तो सौभाग्य कहिल्यै मिलेन । उनीहरुको विवाह एउटा बाध्यतामा हुन पुगेको थियो ।
सन्धु गाउँ–समाजमा स्थापित नेता थिए । पार्टीको कामले उनी जिल्लादेखि केन्द्रतिर हिँडिरहनुपथ्र्यो । उनको घर श्रीमती हरिकलाले सम्हाल्थिन् । सरकारी जागिर छाडेर राजनीतिमा लागेका सन्धुले पहाड र मधेसमा गरेर केही जग्गा जोडेका थिए ।
राजनीतिक कार्यक्रमका सिलसिलामा उनी कहिले तराई, कहिले पहाड त कहिले काठमाडौं पुग्ने गर्थे । यसै क्रममा उनको भेट जुनकीरीसँग भएको थियो । एउटा राजनीतिक गोष्ठीका क्रममा उनीहरु केही दिन सँगै हुन पुगेका थिए । गाडीमा हिँड्दा र गाउँगाउँमा डुल्दा उनीहरु एक अर्काको प्रेममा परे र विवाह गरे । सन्धु अलि कामुक प्रवृत्तिका थिए । उनी स्त्रीप्रति छिटै आकर्षित हुन्थे । उनका लागि स्त्रीसँगको मित्रता वा प्रेम भनेकै यौन हुन्थ्यो । प्रेम सम्बन्ध र विवाहको जिम्मेवारी निभाउन उनी चाहन्नथे । यसपालि भने उनले आफ्नो योजना अनुरुप गर्न पाएनन् । केही दिन घुमाउने मनसायमा जूनकीरीसँग नजिकिएका थिए । केही दिन मोजमस्ती गरेर सन्धुले जूनकीरीलाई पन्छाउन खोजेका थिए, तर जूनकीरीले साँचो माया गर्ने भएकाले त्यो सम्भव भएन । मनले नचाहे पनि उनले जूनकीरीलाई विवाह गर्नैप¥यो । त्यतिबेला दुइटी बिहे गर्नु सामान्य थियो ।
सन्धुले जूनकीरीलाई छुट्टै घरमा राखेका थिए । दिनहरु बित्दै गए, उनीहरुको सम्बन्धमा दरार उत्पन्न हुन थाल्यो । हरेक दिन केही न केही बहाना वा निहुँमा सन्धुले जूनकीरीलाई हप्काउने र गाली गर्ने मात्र होइन, हातपात नै गरिरहन्थे । कहिलेकाहीँ घरबाटै निकालिदिन्थे ।
हद नाघेपछि जुनकीरीले श्रीमानविरुद्ध प्रहरीमा उजुरी दिइन् । तर सन्धु स्थानीय क्षेत्रबाट स्थापित नेता भएकाले प्रहरीले उनको उजुरी लिएन । पञ्च भेला पनि बोलाइन्, पञ्च भेलाले पनि उनलाई न्याय गर्न सकेन । सन्धुविरुद्ध जाने हिम्मत गाउँलेले गरेनन् । आफ्नी श्रीमती जूनकीरीलाई सन्धुले खराब आचरणकी हो भनी प्रमाणित गर्न गाउँभरि अनेक कुरा काट्दै हिँड्थे । गाउँलेले भने सन्धुले जूनकीरीलाई लगाएका आक्षेपहरु कहिल्यै पत्याएनन् । किनकि सन्धुको चरित्रका सम्बन्ध गाउँलेहरु परिचित थिए ।
जुनकीरीको सन्तान भएको थिएन । सन्तान नहुने स्त्रीलाई समाजले हेर्ने दृष्टिकोण अर्कै हुन्थ्यो । अर्कोतिर बुढेसकालको सहाराको लागि पनि एउटा सन्तान होस् भन्ने जूनकीरी चाहन्थिन् । सन्तान हुनका लागि उनलाई उपचार आवश्यक थियो, तर श्रीमानले मानिरहेका थिएनन् ।
पञ्च भेला गरेर उनले बिलौना पोखिन् कि श्रीमानले मेरो उपचार गरिदिए हुन्थ्यो, मेरो कोख बाँझो रहने थिएन । जूनकीरीको उपचार गरिदिन समाजका जान्नेसुन्नेले सन्धुलाई लाख सम्झाए, त्यसपछि उपचारका लागि सन्धुले जूनकीरीलाई काठमाडौं ल्याए । उपचारपछि जूनकीरीले दुई छोरी र एक छोरालाई जन्म दिइन् । त्यसपछि उनको जीवनमा छोराछोरी हेर्नुपर्ने जिम्मेवारी थपियो । उनले श्रीमानबाट अंश पाउन निकै संघर्ष गर्नुप¥यो । उनका श्रीमानको तराई र पहाड दुवैतिर जग्गा थियो । सौतापट्टीका मानिसहरु र श्रीमान मिलेर उनलाई तराईको जग्गा भने दिएनन् । पहाडमा खासै खेती हुँदैनथ्यो । उनले छोराछोरी हुर्काउन ज्यालादारीदेखि मेलापातको काम गर्नुप¥यो । छोराछोरी हुर्केसँगै उनीहरुका आवश्यकता पनि बढ्न थाले । कामको बोझ, तनाव आदिका कारण उनलाई दमको रोगले च्याप्न थालेको थियो । त्यसपछि परिवारको जिम्मेवारी उनकी जेठी छोरी हिमाले थाम्नुप¥यो । उसो त सानैदेखि हिमाले आमालाई घरको काममा सघाउँथिन् । बिहान उठेर दैलो पोत्नु, खाना बनाउनु, पानी बोक्नु, घाँस काट्नु हिमाको दैनिकी जस्तै थियो । उनकी आमालाई भने ज्यालामजदुरीको काममा हिँड्दैमा फुर्सद मिल्दैनथ्यो । जूनकीरीका लागि हिमा छोरासरह थिइन्, गाउँलेले पनि हिमाको तारिफ गर्थे ।
हिमाका बुवा सन्धु कहिले जेठी श्रीमती त कहिले कान्छी श्रीमतीकहाँ बस्थे । कान्छी श्रीमतीकहाँ भने उनी निहुँ खोज्न मात्र पुग्थे । खै किन हो, उनीहरुबीच कुरै मिल्दैनथ्यो । धेरैपटक समाजका मानिसले सन्धुलाई सम्झाए– दुवै श्रीमतीलाई बराबर गर भनेर । सन्धुले गर्छु भनी वाचा त गरे, तर पूरा कहिल्यै गरेनन् । दिनहरु बित्दै जाँदा सन्धु बूढो हुँदै गए, उनलाई मुटुको रोग लाग्न थाल्यो । बुढेसकालसँगै उनको लडबडाउन पुगेको बोली र रोगसँगै थला परेका हातखुट्टाले पहिलेझैँ श्रीमतीमाथि कुटपिट र गालीगलौज गर्न सकेनन् । मुटुरोगले चार वर्षजति थलिएर उनको निधन भयो, त्यसपछि भने कम्तीमा जूनकीरीले श्रीमानको कुटपिट सहनुपरेन ।
जूनकीरी पनि उमेरले बूढी भएकी थिइन्, तैपनि उनलाई आफ्ना छोराछोरीमाथि भरोसा थियो । उनीहरुले नयाँ जीवन सुरुवातको निर्णय गरे र गाउँ छाडे । समयको वेगसँगै उनीहरुको जीवनमा पनि परिवर्तन आउन थाल्यो ।
अचेल हिमा एक एनजिओमा जागिर गर्छिन् । उनको अफिसले घरेलु हिंसाका सम्बन्धमा काम गर्छ । घरेलु हिंसाविरुद्ध सचेतना फैलाउने कार्यक्रम लिएर उनी गाउँगाउँ पुग्नुपर्छ । उनले घरेलु हिंसा सहिरहेका महिलामा आफ्नै आमाको अनुहार पाउँछिन् । घरेलु हिंसा गर्ने थुप्रै पुरुषले उनीहरुबाट परामर्श पाएपछि महिला हिंसा गर्न छाडेका छन् । महिला तथा घरेलु हिंसा गर्ने कति पुरुषलाई उनीहरुले जेलमा पनि पु¥याएका छन् ।
कहिलेकाहीँ हिमाले आफैँलाई प्रश्न गर्छिन्– आज मेरो बुवा बाँचेको भए मैले उहाँसँग कस्तो व्यवहार गर्थें होला ?


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!