सिनामंगलस्थित ह्वाइट हर्स म्यानपावरमा विभागको छापा

- August 11, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । वैदेशिक रोजगार विभागले बिहीबार दिउँसो सिनामंगलस्थित ह्वाइट हर्स म्यानपावर कम्पनीमा विभागको टोलीले छापा मार्दा अर्कै म्यानपावरका कागजातसहित फेला परेका ८७ थान पासपोर्ट जफत गरेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरको निर्देशनमा छापा मारिएको म्यानपावरमा अर्कै म्यानपावरमार्फत वैदेशिक रोजगारीको प्रकृया अगाडि बढाइएका पासपोर्ट भेटिएपछि विभागको अनुसन्धान अधिकृत हेमराज अर्यालसहितको टोलीले ८७ थाप पासपोर्ट जफत गरेको जनाएका छन् ।

म्यानपावरमा किङ फिस नामक म्यानपावरमार्फत मलेसिया रोजगारीको प्रकृया अगाडि बढाइएका पासपोर्ट भेटिएको अधिकृत अर्यालले बताए । त्यसरी कुनै म्यानपावर कम्पनीले अर्को म्यानपावर कम्पनीका कागजात प्रयोग गरेर वैदेशिक रोजगारीमा पठाउन नमिल्ने प्रावधान रहेको अधिकृत अर्यालले जानकारी दिए ।

उनका अनुसार त्यस्तो कार्य गर्ने म्यानपावर कम्पनीलाई कारवाही हुन्छ । ह्वाइट हर्स म्यानपावरले विज्ञापन प्रकाशन बिना नै मलेसिया रोजगारीमा जाने युवाको अन्तर्वार्ता लिइरहेको भन्ने सूचनाका आधारमा विभागको टोली छापा मार्न पुगेको थियो । म्यानपावरले तोकिएकोभन्दा बढी शुल्कसमेत लिएको हुन सक्ने आशंका विभागले गरेको थियो तर, छापा मार्दा त्यस्तो कुनै प्रमाण नभेटिएको अर्यालले बताए ।

विभागले थप अध्ययन गर्ने र तोकिएको भन्दा बढी शुल्क लिएको पाइएमा कानुन बमोजिम कारबाही गरिने अधिकृत अर्यालले बताए । विभागले बुधबार मात्रै कतार पठाउन २५ लाखसम्म लिने गरेको गुनासो आएपछि अल ताक्वेत म्यान पावर कम्पनीमा छापा हानेर कागजात नियन्त्रणमा लिएको थियो । उक्त म्यानपावरमाथि अनुसन्धान जारी रहेको विभागले जनाएको छ । दुबै म्यानपावरलाई विभागले थप अनुसन्धान गरेर वैदेशिक रोजगार ऐन २०६४ अनुसार कारवाही प्रक्रिया अगाडी बढाइने बताइएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!