पर्यटक आकर्षित गर्न सफल ‘पाल्पा दरबार’ : टिकटबाट मात्रै लाखौं आमदानी

- July 7, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । पाल्पा दरबार सङ्ग्रहालयको अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ ।

छिमेकी देश भारत, चीन, जापानसहित देशका विभिन्न स्थानबाट समेत दरबार सङ्ग्रहालयको अवलोकन गर्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको हो ।

सङ्ग्रहालयभित्र लुम्विनी प्रदेशभित्रका विभिन्न जातजाति भाषाभाषीले परम्परागत रुपमा प्रयोग गर्दै आएको घरेलु सामग्री राखिएको छ ।

यस्तै बाइसे–चौबिसे राज्य, सेन राज्य, नेपाल एकीकरणका ऐतिहासिक जानकारी, नेपाल–अङ्ग्रेज युद्ध ताका प्रयोग भएका घरेलु सामग्री समेत सङ्ग्रहालयभित्र राखिएको छ ।

सङ्ग्रहालयले विविध जाति, भाषा, इतिहास र भूगोलको तथ्य र जानकारी समेटेकाले पर्यटकलाई यसले आकर्षण गरेको सङ्ग्राहलय प्रमुख चन्द्र वलीले बताउनुभयो ।

सङ्ग्रहालयभित्र मुख्य गरेर, मगर, थारु, खसआर्य, नेवाः (नेवार), कुमाल समुदायको परम्परागत भेषभूषा, कला र संस्कृति तथा रहनसहन झल्किने सामग्री राखिएका छन् ।

लुम्बिनी प्रदेश सरकारले प्रदेशकै नमूना सङ्ग्रहालयको रुपमा स्थापित गर्ने गरी हरेक वर्ष बजेट विनियोजन गर्दै आएको छ । प्रदेश सरकारले महत्व दिएकै कारण पछिल्लो समय सङ्ग्रहालय पर्यटकको रोजाईमा पर्ने गरेको सङ्ग्रहालय सञ्चालन एवं व्यवस्थापन समितिका सदस्य चित्रवलीराम सुवालले जानकारी दिनुभयो ।

‘सुरुका दिनमा सङ्ग्रहालयभन्दा तानसेनबासीले नाक खुम्च्याउने गरेका थिए, अहिले यही सङ्ग्रहालयकै कारण तानसेन बजारमा चहलपहल बढेको छ ।’

पाल्पा दरबार सङ्ग्रहालयको अवलोकनका लागि पछिल्लो ८ महिनामा २०८ जना सार्क मुलुकका मुख्य गरी भारतबाट पर्यटक आएका छन् । यस्तै, १०८ जना जापान, चीन, कोरियाबाट, २० हजार ८४५ जना नेपालका विभिन्न स्थानबाट आएका छन् ।

यस्तै यही अवधिमा देशका विभिन्न स्थानबाट सात हजार १३९ जना विद्यार्थीले सङ्ग्रहालयको अवलोकन गरेको टिकट काउण्टरका कर्मचारी रोमा हिस्कीमगरले जानकारी दिनुभयो ।

सङ्ग्रहालय अवलोकन गर्ने विद्यार्थीले एउटा टिकटको रु.२०, स्वदेशी नागरिकले प्रतिटिकट रु.५०, सार्क मुलुकका नागरिकले प्रतिटिकट रु.१५० र विदेशी नागरिकले प्रतिटिकट रु.२५० तिर्दै आएका छन् ।

यसले सङ्ग्रहालयको आम्दानी समेत बढाएको छ । आम्दानी बढेपछि सङ्ग्रहालयमा खटेका कर्मचारीको तलबभत्ता व्यवस्थापन सहज हुने अपेक्षा गरिएको छ । टिकटबाट पछिल्लो ८ महिनामा १० लाख हजार एक सय रुपियाँ सङ्कलन भएको छ ।  गोरखापत्रबाट ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!