प्रदेश संरचनाका कारण देश ‘हरिकंगाल’ भयो : अध्यक्ष केसी

- July 5, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रुपन्देही । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले हाल कायम रहेको प्रदेशका कारण देश हरिकंगाल भएको बताएका छन् । अध्यक्ष केसीले राज्य सञ्चालक गलत हुँदा देशले समस्या भोग्नुपरेको बताएका छन् । अहिलेसम्मका राज्य सञ्चालकले देश र जनताको पक्षमा काम गर्न नसकेको बताउँदै आफूलाई ठूलो दलको नेता हुँ भन्नेहरूले राजनीतिलाई व्यवसाय बनाएर ठूलो धनराशि कमाउँदा देश संकटको अवस्थामा पुगेको अध्यक्ष केसीको भनाइ छ ।

राजनीति सेवा नभएर पैसा आर्जन गर्ने व्यवसाय बनाउँदै सत्तामा बस्ने सीमित मान्छेका कारण देशको अवस्था बिग्रँदै गएको उनको तर्क छ । उद्योगधन्दा, कलकारखाना खोलेर भन्दा ठूला पार्टीमा लागेर सांसद, मन्त्री भएपछि छिटो पैसा कमाइने भएकाले आफूहरूलाई ठूलो पार्टीको नेता हुँ भन्नेबाटै देश कसले लान्छ भन्ने डर भएको बताए ।

अध्यक्ष केसीले तिनै ठूला दलमा लागेर राजनीतिलाई व्यवसाय बनाउनेहरूबाटै गणतन्त्र र राष्ट्रियता खतरामा रहेको आरोप लगाए । राष्ट्रिय जनमोर्चा रुपन्देहीले बुटवलमा आयोजना गरेको महंगी, भ्रष्टाचारविरुद्धको कोणसभामा बोल्दै उनले राज्यले महंगी, भ्रष्टाचार, कालोबजारी र महिला हिंसालगायत अपराधजन्य हिंसाको नियन्त्रण गर्न नसकेको बताए ।

उनले उद्योग, कलकारखाना खोल्ने बेला सांसद र मन्त्रीहरूको कारखाना खोलिएको बताए। एउटा राज्यलाई फुटालेर आठ वटा बनाउनेहरूका कारण देश पछाडि परेको हो, एउटा राज्यका सांसद र मन्त्री पाल्न नसकेको देशले प्रदेश धान्न कसरी सक्छ ? उनको प्रश्न थियो ।

प्रदेश खारेज गरेर प्रदेश चलाउने पैसा शिक्षा, स्वास्थ्य र उद्योग कलकारखाना सञ्चालनमा लगानी गर्नुपर्ने उनको भनाइ छ। किसानलाई चाहिने मल,बिउ र रोजगारमूलक उद्योग, कलकारखाना नखोल्दासम्म देशले निकास पाउन नसक्ने बताउँदै उनले कृषिप्रधान देशका किसानहरूले खेतीपाती गर्दा मल, बिउ नपाउनु सरकारले कृषिमा ध्यान दिनै नसकेको प्रस्ट भएको उनले बताए ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!