February 23, 2025, 9:37 am
» नेपालमा राजालाई कुनै न कुनै स्पेस दिनुपर्छ : लिङ्देन » पाथीभरामा कानुनअनुसार नै केवलकार निर्माण भइरहेको हो : योगेश भट्टराई » झम्सिखेलमा खुल्यो अर्गानिक तरकारी तथा फलफूल बजार » पूर्वराजालाई चुनाव लडेर संसदमा आउन चुनौती » दूधकोशी आयोजना प्रमुख गुरुङलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको पत्र

परराष्ट्रमन्त्री डा देउवा र कतारका मन्त्रीबीच भेटवार्ता, विपिनको रिहाइका लागि सहयोग गरिदिन आग्रह

फाल्गुन ४, २०८१ मा प्रकाशित | ३७०दर्शक तीव्रखबर

काठमाडौँ,  परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग कतारका विदेशराज्यमन्त्री सुल्तान बिन साद बिन सुल्तान अल मुराइखीले आज ओमनको राजधानी मस्कटमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।आठौँ हिन्द महासागरीय सम्मेलनमा सहभागिताका लागि ओमनको मस्कटमा रहनुभएका उहाँहरुबीच आज साइडलाइन भेट भएको हो ।

सो भेटका क्रममा उहाँहरुबीच नेपाल कतारबीचको सम्बन्ध, द्विपक्षीय हित र पारस्पारिक लाभका विविध विषयका साथै कतारमा नेपाली विद्यार्थीलाई छात्रवृत्ति तथा दक्ष प्राविधिक जनशक्तिलगायतका विषयमा कुराकानी भएको थियो ।

त्यसअवसरमा मन्त्री डा देउवाले हमास समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि सहयोग गरिदिन मन्त्री मुराइखीसँग आग्रह गर्नुभएको थियो ।

मन्त्री डा देउवाले इजरायल सरकार र हमासका बीचमा मध्यस्थता गरी युद्धविराम र शान्ति वार्ताका लागि कतार सरकारले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै हमासको नियन्त्रणमा रहेका विपिनको रिहाइका लागि विशेष पहल गरिदिन आग्रह गर्नुभएको थियो ।

केही समय अघि पनि मन्त्री डा देउवाले कतारका विदेश राज्यमन्त्री डा मोहम्मद बिन अब्दुलाजिज अल‐खुलाइफीसँग फोनवार्ता गरी सोही आग्रह गर्नुभएको थियो ।

खुलाइफी इजरायल सरकार र हमासबीचको शान्तिवार्ताका प्रमुख वार्ताकार एवं मध्यस्थकर्ता हुनुहुन्छ ।

विपिनको रिहाइका लागि नेपाल सरकारले गत वर्षदेखि नै कूटनीतिक प्रयास जारी राखेको छ ।

मन्त्री डा देउवाले संयुक्त राष्ट्रसङ्घ, अन्तरराष्ट्रिय एवं क्षेत्रीय मञ्चहरु र बैठकमार्फत विपिनको रिहाइका लागि आग्रह गर्दै आउनुभएको छ ।

सन् २०२३ को अक्टोबरमा इजरायली भूमिमा आक्रमण गरी हमास समूहले विपिनलाई अपहरण गरी लगेका थिए ।

 

प्रतिक्रिया