काठमाडौं- पोखरा महोत्वस उद्घाटनका क्रममा बेलुनमा पड्किएपछि आगो लागेर घाइते उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको अवस्था सुधारोन्मुख रहेको छ ।
शनिबार पोखराबाट जलनमा परेर कीर्तिपुर अस्पतालमा भर्ना गरिएका पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको अवस्थामा सुधार हुँदै गएको हो ।
उनीहरू दुवैलाई शनिबारदेखि नै सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार भइरहेकाले हिजोभन्दा आज स्वास्थ्य सुधारोन्मुख रहेको अस्पतालका निर्देशक किरणकिशोर नकर्मीले बताएका छन् ।
नकर्मीले तत्काललाई भेटघाट पनि बन्द गरिएको बताए । ‘उहाँहरूको अवस्थाबारेमा आज ड्रेसिङ भएपछि अद्यावधिक गरिनेछ । हाललाई अवस्था सामान्य भए पनि संक्रमण हुने भएको हुदाँ अर्को सूचना नआएसम्म भेटघाट पूर्ण रुपमा बन्द गरिएको छ’, उनले भनेका छन् ।
अहिले दुवैजनाको उपचारमा प्रा. डा. बीडी झा, डा. प्रवीण गिरी लगायत आईसीयु कक्षको टोली खटिएका छन् । त्यसैगरी प्रा. डा. शंकर मान राई, डा. विशाल कार्की, डा मनिष यादव लगायतको जलन विशेषज्ञको टोली र डा. प्रयुस अर्याल लगायत आकस्मिक उपचार टोली पनि दुवैको स्वास्थ्योपचारमा खटिएको छ । पौडेल र आचार्यको उपचारमा रिना गौचन, निर्मला कुँवर, तृष्णा महर्जन लगायतको नर्सिङ टोली पनि सक्रिय रहेको नकर्मीले बताए ।
प्रतिक्रिया