February 24, 2025, 10:32 pm
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

तस्करीको आशंकामा १ करोड ९५ लाखको सामान बोकेका ट्रक पर्सा प्रहरीको नियन्त्रणमा

माघ २७, २०८१ मा प्रकाशित | ४५०दर्शक तीव्रखबर

काठमाडौं – वीरगन्ज भन्सार कार्यालयबाट जाँचपास भएर नेपाल छिरेका तीन वटा मालबाहक ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ।
तस्करीको आशंकामा पर्सा प्रहरीले शनिबार वीरगन्ज महानगरपालिका-१६ गण्डक नहर चोकबाट ट्रकहरू नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले बा१ख ९९०९, ना६ख ५४९१ र ना६ख ६३९७ नम्बरको मालबाहक ट्रक साँझ साढे ६ बजे नियन्त्रणमा लिएको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले बताए। तिनवटै ट्रक वीरगन्जबाट काठमाडौंका लागि प्रस्थान गरेका थिए।
‘बिल बिजकभन्दा बढीको सामान लोड गरिएको छ भन्ने विशेष सूचना प्राप्त भएपछि प्रहरीले ट्रक नियन्त्रणमा लिएको हो,’ मिश्रले भने, ‘यसबारे हाम्रो टोली र राजश्व अनुसन्धान कार्यालय पथलैयाबाट थप अनुसन्धान भइरहेको छ।’
तीन वटै ट्रकमा साइन्टिफिक क्यालकुलेट र हेयर ट्रिम्मर लोड गरिएको थियो। बिल बिजकभन्दा बढीको सामानलाई ‘तस्करीजन्य अपराध’ आशंका गरेर प्रहरीले नियन्त्रणमा लिई राजश्वलाई बुझाउने गरेको छ।
मिश्रका अनुसार तीन वटा ट्रकमा १ करोड ९५ लाख रुपैयाँ बराबरको सामान रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। ट्रकहरू आइतबार प्रहरीले राजश्व अनुसन्धान कार्यालय पथलैया बुझाएको छ।
पर्सा जिल्ला तस्करीजन्य अपराध अत्यधिक हुने ठाउँले परिचित छ। ‘लोड गरिएको भन्दा न्यून मूल्यांकन गरी कागजात बनाएर भन्सार छलेर सामान नेपाल ल्याइने प्रवृत्ति पर्सामा छ,’ मिश्रले भने, ‘तस्करीजन्य अपराधमा हामीले उच्च निगरानी बढाएका छौं।’
मिश्र भर्खरै पर्सा जिल्लामा सरुवा भएर गएका अधिकृत हुन्। उनले सीमा, लागुऔषध, तस्करीजन्य अपराध आफ्नो प्राथमिकता रहेको बताए।

प्रतिक्रिया