मनाङ– मनाङको चामे गाउँपालिका– १ तिमाङ जङ्गलमा लागेको डढेलो १० दिनसम्म पनि नियन्त्रण हुन सकेको छैन । यही माघ १८ गते बेलुकादेखि लागेको डढेलो जटिल भूगोलका कारण नियन्त्रण गर्न नसकिएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ ।
तिमाङ जङ्गलमा लागेको डढेलो जटिल भौगोलिक संरचनाका कारण नियन्त्रणमा लिन नसकिएको प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले जानकारी दिए । उनका अनुसार डढेलो नियन्त्रणका लागि जिल्लाका सबै सुरक्षा संयन्त्र परिचालन गरिएको छ ।
उनले अन्यत्र आगो नफैलियोस् भनेर सुरक्षित गर्ने काम भने गरिसकेको भन्दै बस्तीमा आगलागीको जोखिम नरहेको बताए ।
समयमै डढेलो नियन्त्रणमा लिन नसक्दा जङ्गलमा रहेका भेडा, च्याङ्ग्रा, याक, चौँरीका चरन क्षेत्र नष्ट भएको उनको भनाइ छ ।
आगलागी बस्तीभन्दा टाढाको जटिल भूगोलमा लागेको र हावा चल्ने भएकाले पनि डढेलोको जोखिम बढ्न सक्ने अवस्था रहेको प्रजिअ आचार्यले बताए । जानसक्ने स्थानसम्म पुगेर सुरक्षाकर्मी र स्थानीयले डढेलो निभाउने प्रयास गरिरहेको उनको भनाइ छ ।
यसअघि २०७७ साल मङ्सिरमा लागेको आगो दुई महिनापछि मात्रै नियन्त्रणमा आएको थियो । उक्त आगलागीका कारण मनाङको एक हजार दुई सय हेक्टर क्षेत्रफल वनजङ्गल नष्ट भएको थियो ।
प्रतिक्रिया