मिटरब्याजकै शैलीमा एनआईसी एसिया बैंकको ब्याजदर आतंक !

- May 7, 2021 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । सहकारी संस्था र मिटरब्याज शैलीमा ब्याज असुली गरेको अभियोगमा एनआईसी एसिया बैंकलाई नेपाल राष्ट्र बैंकले स्पष्टीकरण सोधेको छ । राष्ट्र बैंकले स्पष्टीकरण सोधेपछि एनआईसी एसिया बैंकले ‘प्राविधिक त्रुटि भएको’ भन्दै नाटकीयरुपमा एक ऋणीमाथि थोपरिएको ब्याजदर फिर्ता लिएको छ । एनआईसी एसिया बैंकले २०७८ वैशाख वैशाख १ गतेदेखि लागू हुने गरी घर कर्जाको ब्याजदर १५.७० प्रतिशत पु-याएको पाइएको थियो । उक्त बैंकले यसअघि कायम रहेको ९.९२ प्रतिशत कर्जाको ब्याजदरमा ५.७८ विन्दु थप गरेर मिटरब्याजकै शैलीमा ऋणीलाई कर्जा भुक्तानी गर्न पत्राचार गरेको पाइएको थियो । यो विषयमा सञ्चारमाध्यममा खबर आएपछि राष्ट्र बैंकले ध्यानाकर्षण गरेर मौखिक स्पष्टीकरण सोधेको बताइएको छ । सीईओ रोशनकुमार न्यौपानेकै निर्देशनमा सबै ऋणीलाई मिटरब्याजकै शैलीमा ब्याजदर परिवर्तन गरेर आतंक मच्चाइरहेको एनआईसी एसिया बैंकले ‘एउटै मात्रै पत्रमा प्राविधिक त्रुटि भएको’ भन्दै राष्ट्र बैंकलाई झूटो बयान दिएको छ । सोही आधारमा राष्ट्र बैंकलाई आफूहरूले गल्ती सच्याएको सन्देश समेत पठाइसकेको स्रोतले बताएको छ । राष्ट्र बैंकको हस्तक्षेपपछि एनआईसी एसियाले बढाएको ब्याजदर र प्रिमियम पहिलेकै कायम गर्ने प्रतिबद्धता जनाएको राष्ट्र बैंकले जनाएको छ । विराटनगरका व्यवसायी दिनेश सुवेदीलगायतलाई एनआईसी एसिया बैंकले ब्याजदर परिवर्तन गरेर १५ प्रतिशतको हाराहारीमा पु-याएको थियो ।

चार वर्षअघि एनआईसी एसिया बैंकबाट घर तथा सवारी कर्जा लिएका उनलाई ब्याजदरमा व्यापक परिवर्तन गरिएको थियो । बैंकले आठ प्रतिशत ब्याजदरमा नयाँ कर्जा दिने प्रतिबद्धता जनाएपछि उनले पुरानो सबै कर्जा चुक्ता गरे तर नयाँ कर्जा लिने बेला नै बैंकले त्यो प्रतिबद्धता समेत सम्झिएन । केवल व्यावसायी सुवेदीले २०७३ माघ २० गते विराटनगरस्थित एनआईसी एसिया बैंकबाट आफ्ना दुई छोराहरू र दिपेश र दिवसका नाममा कर्जा लिएका थिए । घर कर्जाबापत उनले चार करोड ६० लाख रुपैयाँ लिएका थिए ।

एनआईसी एसिया बैंक र ऋणीबीचको सम्झौतापत्रमा वार्षिक १३.४९ प्रतिशत ब्याजदरमा मासिक ईएमआई पाँच लाख ९६ हजार ९९६.६५ रुपैयाँ तिर्नुपर्ने उल्लेख गरिएको छ । बैंकले समय–समयमा ब्याजदर परिवर्तन गर्नसक्ने सम्झौतामा भनिएको छ । त्यसैलाई देखाएर बैंकले ऋणीको ढाड भाँच्ने गरी ब्याज असुल गरिरहेको हो । अहिले घर कर्जाको ब्याजदर १५.७० प्रतिशत पु¥याइएको छ । सुवेदीको स्वामित्वमा रहेको कम्पनी ‘केवल नेटवर्क प्राइभेट लिमिटेड कम्पनी’ले लिएको दुईवटा सवारी कर्जामध्ये एउटाको ब्याजदर १४.४९ प्रतिशत र अर्काेको ११.९९ प्रतिशत पु¥याइएको छ । बैंकले पठाएको ब्याजदर परिवर्तनसम्बन्धी सूचनामा आधार दर (बेस रेट) भन्दा प्रिमियम चार्ज बढी लिएको देखिएको छ । वैशाखका लागि आधार दर ६.७७ प्रतिशत कायम भए पनि प्रिमियम भने ८.९३ प्रतिशत जोडिएको छ । घर कर्जामा प्रिमियम चार्ज ८.९३ प्रतिशत जोडेको छ भने सवारी कर्जामा ७.७२ प्रतिशत जोडेको छ । सुवेदीले २१ लाख र १५ लाखका दुई सवारी कर्जा लिएका थिए । आर्थिक दैनिकबाट ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!