खुल्ला सीमानाको फाइदा उठाउँदै कारोवारीले भन्सार छली चोरी पैठारी गरी अवैध ढंगबाट भित्र्याएको सामान बोलचालको भाषामा अवैध भनिन्छ । यसरी भित्र्याइएको सामानले राजश्वमा गिरावट आउने मात्र नभई आर्थिक कारोवारको खुट्टा मर्काउने गरेको वैध आयातकर्ताको दावी छ । आर्थिक नगरी वीरगन्जको मुटु आदर्शनगरमा रहेको दुर्गा ट्रान्सपोर्टको गोदामसम्म अवैध ढंगले भित्रिएको ५० लाख ९३ हजार ७ सय रुपैयाको सामान सशस्त्र प्रहरीले सोमबार बरामद गरेको हो । फलतः यो प्रमाणसँगै रहस्य पनि सतहमा आएको हो ।
‘उक्त मूल्य बराबरको सामान भन्सार छली चोरी पैठारी गरी ल्याएर सिधै ट्रान्सपोर्टको गोदाममा थुपारिएको सूचनाका आधारमा छापा मारी बरामद गरेको सशस्त्र प्रहरी बल गण नम्बर १३ का सूचना अधिकारी प्रहरी नायव उपरिक्षक नरेन्द्र सिंह धामीले बताए । दुर्गा ट्रान्सपोर्टको गोदाममा राखिएको सामान कसैले आफ्नु भनी स्वीकार गरेनन् ।
भन्सारका कर्मचारी सहित पुगेको सशस्त्रको टोलीले आवश्यक प्रकृया पूरा गरी बरामद गरिएको उनको भनाइ छ । दुर्गा ट्रान्सपोर्टको गोदाममा फेला परेको माल कसैले आफ्नु भनी नस्वीकारेकोले भन्सार छली चोरी पैठारी भएको निक्र्योल सहित बरामद गरिएको छापामारीको नेतृत्व गरेका घटनास्थलमा पुगेको सशस्त्र प्रहरीको टेलीका नेतृत्वकर्ता प्रहरी नायव उपरिक्षक लोकेन्द्र सुब्बाले पनि बताए । बरामद सामान सोमबार नै वीरगन्ज भन्सारलाई बुझाइएको उनको भनाइ छ ।
यस्तै सामाने ओढ्छ वैधको खोल
यो सामान ट्रान्सपोर्ट व्यवसायीले काठमाण्डौ लगायतका ठाउँमा पु¥याउने वित्तिकै यस्तै सामानले वैधको खोल ओढ्दा वैध व्यापार र व्यापारी मर्कामा पर्ने वीरगन्ज उद्योग बाणिज्य संघको दावी छ । वीरगन्जका चर्चित ट्रान्सपोर्ट व्यवसायी (मदन प्रसाद गुप्ता (रुन्चे)) ले संचालन गरेको सो ट्रान्सपोटबाट गएको चैतमा पनि अवैध आयातको लाखौंको सामान प्रहरीले बरामद गरेको प्रहरीकै तथ्याँकमा उल्लेख छ ।
सोमबारको सामान पनि पुनः उनकै गोदामबाट बरामद हुनुलाई विगतकै शैलीको निरन्तरता हुन सक्ने सशस्त्र प्रहरीको दावी छ । आफ्नै गोदाममा राखिएको सोमबारको सामान उनले नस्वीकारेको छापामारीमा सहभागी सुरक्षाकर्मीले बताए । गोदाम उनको सामान अरुले सुटुक्क थाहा लगेर त्यो पनि लाखौंको राखिदिदैन ती सुरक्षाकर्मीले तर्क गरे । यो दावी सरासर गलत हो उनले भने । यस्ता गतिविधिले वैध व्यापारलाई लल्कारेको स्थानीयको भनाइ छ ।
वैध व्यापारलाई अवैध व्यापारले थेच्ने कारण रोक्न सशस्त्र प्रहरीले चनाखो हु्ँदा चालु आर्थिक वर्षको ६ महिनामा मात्र २१ करोड ७२ लाख २९ हजार ६ सय ३१ रुपैयाको सामान बरामद गरेको तथ्य फेला परेको छ । सो सबै सामान वीरगन्ज भन्सार र पथलैया राजश्व अनुसन्धान कार्यालयमा बुझाएको सशस्त्र प्रहरी वल गण नम्बर १३ का प्रहरी नायव उपरिक्षक धामीले बताए ।
सशस्त्र प्रहरीले चालु आ.ब.को ६ महिनामा बरामद गरेको सामानमा सोमबार बरामद भएको ५० लाख ९३ हजार ७ सयको लगत अझै नजोडिएको उनको भनाइ छ । वीरगन्ज भन्सारका अधिकारीले पनि सोमबार ठूलो परिणामको भन्सार छलीको सामान सशस्त्रले वीरगन्ज भन्सारमा बुझाएको जनाएका छन् । -तुलसी भण्डारी, राजधानीबाट
प्रतिक्रिया