February 2, 2025, 6:57 am
» एक अर्बबढीको अनलाइन जुवा खेलाएको आरोपमा ललितपुरबाट २५ जना पक्राउ » National Assembly meeting taking place today » ट्रम्पले गरेको अतिरिक्त करको निर्णय लागु » 3 Nepalis killed, 1 seriously injured in Saudi Arabia road accident » केन्द्रीय बैंकले आज फेरि ४० अर्ब तरलता खिच्दै

‘सशस्त्र प्रहरीको शान्ति सुरक्षामा महत्वपूर्ण योगदान छ’ : मुख्यमन्त्री कार्की

माघ ९, २०८१ मा प्रकाशित | ४२०दर्शक तीव्रखबर

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले  सशस्त्र प्रहरीले सीमा सुरक्षा, विपद् र शान्ति स्थापनाका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताउनुभएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं १ बाहिनी मुख्यालय पकलीको २४औँ स्थापना दिवसका अवसरमा आज इटहरीमा आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्कीले सशस्त्र प्रहरीले सीमा सुरक्षा, विपद्का समयमा उद्धारमा देखिआएको सक्रियता, समाजमा शान्ति स्थापनामा पुर्‍याएको योगदानको चर्चा गर्नुभयो । सशस्त्र प्रहरीले सीमा क्षेत्रमा बोडरपोस्ट र कतिपय ठाउँमा भवनहरू नहुँदा सीमा सुरक्षामा निर्वाह गरेको भूमिका उल्लेख्य रहेको उहाँले बताउनुभयो ।

मुख्यमन्त्री कार्कीले भन्नुभयो, “कोरोना महामारीका समयमा सीमा क्षेत्रमा र विपद् आउँदा अग्रभागमा खटिएर निर्वाह गरेको भूमिकाले प्रशंसायोग्य छ ।”

उहाँले सीमित स्रोत साधनका बीच सीमा क्षेत्रमा सुरक्षार्थ खटिएर राजस्व सङ्कलन वृद्धि गर्न र विपद् व्यवस्थापन कुशतलतापूर्वक गरिरहेकोमा प्रशंसा गर्नुभयो ।

मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले ५२ वटा बोडरपोस्ट निर्माण गरेको जानकारी दिँदै आगामी दिनमा थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

“दुई ठूला देशको बीचमा नेपाल रहेको छ । भारतसँग खुला सीमा रहेकाले आपसी समन्वय र सहकार्यमार्फत मुलुकलाई लाभ हुने गरी काम गर्नुपर्दछ”, उहाँले भन्नुभयो ।

सशस्त्र प्रहरीका प्रहरी नायब महानिरीक्षक शम्भु सुवेदीले सशस्त्र प्रहरीले विभिन्न अवरोध र अप्ठेयाराहरू सामना गर्दै जनताको सेवा गरी यहाँसम्म आइपुगेको बताउनुभयो ।

प्रहरी वरिष्ठ उपरीक्षक मनिष थापाले सशस्त्र प्रहरीले गरिरहेको कामका विषयमा कार्यक्रममा जानकारी गराउनुभएको थियो । कार्यक्रममा विभिन्न व्यक्ति र प्रहरीलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया