मेलम्ची नगरपालिको क्रसर उद्योगमा मन्त्रीकै अबैध लगानी : कर छली गर्दै दोहन/सरकारी निकाय चुप

- February 24, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रोशन कार्की

काठमाडौं । प्राकृतिक स्रोतको दोहनमा प्रदेशका मन्त्रीहरुको लगानीमा भई रहेको छ । क्रसर व्यवसायीलाई नदीमै एक्साभेटर छिराएर ढुंगा–बालुवा निकाल्ने अनुमति नदिएपनि जनप्रतिनिधिको आँडमा सो अबैध काम भई रहदा बहालवाला मन्त्री तथा सासदहरुको लगानी रहेको समेत खुलेको छ । मेलम्ची नगरपालिकाबाट नदीभित्र एक्साभेटर हालेर उत्खननको अनुमति लिने किरण थापा भक्तपुरको सूर्यविनायक नगरपालिका–८ का वडाध्यक्षदेखि प्रदेशमन्त्रीहरुको लगानी रहेको भेटिएको छ ।

मेलम्ची नगरपालिकाले उपलब्ध गराएको क्रसर व्यवसायीहरूको विवरण अनुसार मेलम्ची–१३ मा सञ्चालित जाल्पा क्रसर उद्योग प्रालि थापाकै हो ।  मेलम्ची नगरपालिकाबाट नदीजन्य स्रोत संकलन र निकासीको ठेक्का पाएको तीनपिप्ले निर्माण सेवाका सञ्चालकमध्ये एक सानुकान्छा लामा नेपाली कांग्रेस, काभ्रेका नेता गणेश लामाका काका हुन् । नदीमै एक्साभेटर हालेर उत्खनन गरिरहेको मेलम्ची–१३ को सिठ्ठा बगरस्थित मेलम्ची एकोन क्रसर एग्रिगेट प्रालिमा गणेश लामाकै लगानी छ ।

सिन्धुपाल्चोकको चौतारा साँचोगढी नगरपालिकाको सुकुटेमा सञ्चालित इन्द्ररत्न क्रसर उद्योगमा नेकपाका स्थानीय नेता एवम् मेलम्ची नगरपालिका–१३ का वडाध्यक्ष देवेन्द्र घोरसाइनेको लगानी छ । घोरसाइनेको क्रसरले पनि सुनकोशी नदीमै एक्साभेटर हालेर उत्खनन गरिरहेको छ । सिन्धुपाल्चोकमा सञ्चालित अधिकांश क्रसर उद्योगमा जनप्रतिनिधि र दलका नेता तथा कार्यकर्ताको अप्रत्यक्ष लगानी छ ।

धादिङको गजुरी गाउँपालिकामा सञ्चालित मलेखु एग्रिगेट क्रसर उद्योगमा नेकपाका सांसद भूमि त्रिपाठीका भतिजा सन्देश त्रिपाठीको लगानी छ ।

मलेखु एग्रिगेट क्रसरले नदी सतहबाट २० देखि २५ फिट गहिरो खाल्डो बनाएर ढुंगा–बालुवा निकालिरहेको छ ।

गजुरी गाउँपालिकाको मलेखु निर्माण सामग्री क्रसर उद्योगमा नेकपाका नेता राजेन्द्र पाण्डेका छोरा प्रकाश पाण्डेको प्रत्यक्ष लगानी छ ।

महेशफाँटको बालुवा खानीमा गल्छी गाउँपालिकाका अध्यक्ष कृष्णहरि श्रेष्ठका छोरा सुरेन्द्र श्रेष्ठको लगानी छ । तर खानी सञ्चालन भएको जग्गा भने गाउँपालिका अध्यक्ष श्रेष्ठको पनि हो । जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपाल दलका नेताको लगानी भएका क्रसर उद्योग, खानी र बालुवा प्रशोधन उद्योगले नियम विपरीत उत्खनन गरिरहँदा पनि कारबाही हुन नसकेको बताउँछन् ।

उनी भन्छन्, “प्राकृतिक स्रोतको दोहनमा स्थानीय जनप्रतिनिधिसँगै दलका नेताको समेत माफियाराज चलिरहेको छ ।” उनी करोडौं आम्दानी हुने देखेपछि स्थानीय सरकारले पनि दोहन गर्नेलाई नै प्रश्रय दिइरहेको दाबी गर्छन् । बाराको निजगढ नगरपालिकास्थित लालबकैया नदीबाट मापदण्ड विपरीत बालुवा निकाल्दै गरेको क्रसर उद्योगको एक्साभेटर ।

मेलम्ची–१२ सिन्धुखोलाका अर्जुन तिवारीको खेत वरिपरि मेलम्ची–१३ को रक्तमाला रोडा ढुङ्गा उद्योगले ढुङ्गा र गिट्टी थुपारेको छ । मेलम्ची नगरपालिकाको वडा नम्बर १२ र १३ को सडक, बगर क्षेत्र र खेतीयोग्य जमीन समेत क्रसर व्यवसायीको कब्जामा छ । मेलम्ची नगरपालिका प्रमुख डम्बरबहादुर अर्याल अनुगमनका क्रममा क्रसर व्यवसायीले सार्वजनिक जग्गा मिचेको भेटिए पनि कारबाही गर्नतिर नलागेर अबदेखि मिचिएको जग्गाको प्रति रोपनी १० हजार रुपैयाँका दरले बहाल बिटौली शीर्षकमा उठाउने सहमति गरेको बताउँदै कमिशनकोृ खेलमा लागेको आरोप स्थानीयको रहेको छ ।


नगरपालिकाको ७ चैतसम्मको राजस्व प्रगति विवरण अनुसार पाल्चोकीमाई, गंगा इन्द्रावती र जाल्पाले सार्वजनिक जग्गा मिचेर क्रसर उद्योग सञ्चालन गरिरहेका छन् ।

यस्तै, धादिङको मलेखु निर्माण सामग्रीले सडकमै ढुङ्गा गिट्टी थुपारेको छ । नदी क्षेत्रको अत्यधिक दोहन भइरहँदा इन्द्रावती नदीको सतह गहिरिएपछि त्यसको प्रभाव मेलम्चीको बाहुनीपाटी वरपरका पानीको मुहानमा परेको छ । बाहुनीपाटीका पीताम्बर नेपालधु्रव तिवारीको आँगनका इनारमा पानी सुकेको छ । इन्द्रावती छेउछाउका खोल्साखाल्सीमा पानी सुक्दा सिंचाइमा समस्या शुरू भएको छ ।

बालुवा–गिट्टी बोकेर सडकमा बेलगाम कुद्ने टिप्परका कारण सडक जाम हुने समस्या मात्र होइन १० वर्षअघि बनेको काभ्रेको जिरोकिलोदेखि सिन्धुपाल्चोक बाहुनीपाटीसम्मको १९ किलोमिटर कालोपत्रे सडकमा खाल्डै खाल्डा परेको छ । गजुरी गाउँपालिकामा सञ्चालित चार वटा क्रसर उद्योगका कारण मलेखु खोलाको पानी धमिलिएको छ । मलेखुका स्थानीय बासिन्दा भूमि कँडेल क्रसर उद्योगकै कारण त्रिशूली र मलेखु खोलामा माछा निकै घटेको सुनाउँछन् ।

विशेष गरी जनप्रतिनिधिहरुको करोडौ रुपैयाँको लगानी रहेको सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती र सुनकोशी लगायत भोटेकोशी नदीमा स्थापना गरेको क्रसर उद्योगका कारण नदीको अधिक दोहन हुदाँसमेत सम्बन्धित पक्षले चासो नदिएका कारण अबैधरुपमा ढुंगागिट्टीको अबैध ओसारप्रसार समेतमा तीब्रता आएको छ ।

मेलम्ची नगरपालिका वडा नम्बर १२, १३ र इन्द्रावती गाउपालिकामा अवैध रूपमा नदी दोहनले तीब्रता पाएको छ । स्काभेटरले खन्दा इन्द्रावती नदी किनारभरि ठुला ठुला खाल्डा बनेको छ । उद्योगबाट निस्किएको धुलो र धुवाँका कारण वरपरको वातावरणसमेत धुलाम्मे भएको स्थानीयको भनाइ छ। स्थानीयका अनुसार केही वर्षमा सिपाघाटबाट नवलपुर, चौतारा जोड्ने ईन्द्रावतीको पक्की पुल ढल्न सक्ने सम्भावना समेत बढेको बताइएको छ। सिपाघाटमा रहेको पक्कि पुलको बीचको पिलर जोखिममा परेको छ । स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिको समेत मिलेमतोमा दोहन भएको स्थानीय बासी बताएका छन ।

वातावरण संरक्षण ऐन २०५३ यसको नियमावली २०५४, खानी तथा खनिज पदार्थ ऐन २०४२, जलस्रोत ऐन २०४९, वन ऐन २०४९, राष्ट्रिय निकुञ्ज तथा वनजन्तु संरक्षण ऐन २०२९ अनुसार अवैध रुपमा क्रसर उद्योग, रोडा, गिट्टी, बालुवा खानी शर्त पूरा नगरेमा सञ्चालन गर्न नपाउने प्रावधान रहेको छ तर सो मापदण्ड विपरित सञ्चालनमा रहेका कुनै पनि क्रसर उद्योगमाथी सरकारले कारबारी गर्न सकेको छैन ।

यसैक्रममा सरकारले केही महिना अघि मापदण्ड विपरित नदी दोहन गर्ने पाँच क्रसर उद्योगलाई स्थानीय प्रशासनले कारबाही गरेको भनिएपनि सो एद्योगलाई के कस्तो कारबाही भयो भन्ने बारे भने प्रशासनले सर्वजनिक गर्न सकेको छैन । मापदण्ड पूरा नगरेसम्म नदीजन्य पदार्थ उत्खनन् गर्न रोक लगाइएको थियो ।

विद्यमान ऐन अनुसार नदी बहाव परिवर्तन गरेको, प्रभाव मूल्यांकन प्रतिवेदन नमानेको, ह्युम पाइप प्रयोग गरी खोलो दबाएको, अनुमतिभन्दा बढी एक्साभेटर प्रयोग गरेको र चार मिटरभन्दा बढी गहिएर नदी दोहन गरेको भन्दै कारबाही गरिएको थियो । अधिकाशं उद्योगले कानुनी र कागजी रुपमासमेत मापदण्ड पूरा नगरेको पाइएको छ ।

मापदण्ड मिचेर मेलम्ची फट्केश्वर इन्द्रावती स्टोन प्रालि, जाल्पा इन्फ्रास्ट्रक्चर, गंगा इन्द्रावती क्रसर उद्योग, पाल्चोकीमाई रोडा ढुंगा उद्योग र मेलम्ची ए कोन क्रसर एग्रिगेट प्रालिमाथि कारबाही गरिएको भने पनि अहिले सम्म सो उद्योगबाट रोडाढुगा उत्पादनको काम कहिल्यै रोकिएको छैन इन्द्रावती नदी दोहन गरी साँगाचोक, भीमटारको माझी बस्ती नजिकै क्रसर उद्योगले थुपारेको रोडाको पहाड बनाइएको छ ।

हाल सञ्चालनमा रहेका क्रसर उद्योग मापदण्ड अनुसार स्थानान्तरण वा व्यवस्थापन हुनुपर्ने र ढुंगा, गिटी, बालुवा पनि मापदण्ड अनुसार मात्रै निकाल्नुपर्ने कार्यविधिमा भए पनि व्यवसायीले मापदण्ड ‘अव्यावहारिक’ रहेको भन्दै कार्यान्वयन गरेका छैनन । यतिबेला मापदण्डविपरीत विभिन्न जिल्लामा ढुंगा, गिटी, बालुवाको दोहन रोकिएको छैन । यस्ता प्राकृतिक सम्पत्तिमाथि स्थानीय तहले व्यवस्थापनमा चासो देखाएका छैन, बरु उल्टै जनप्रतिनिधिको संलग्नता बढ्दै गएको पाइएको हो  ।

कार्यविधिले जिल्ला समन्वय समितिलाई स्थानीय तहसँग मिलेर उत्खनन, संकलन, झण्डारण, क्रसिङ र बिक्रीवितरणको कार्यान्वयन, समन्वय, अनुगमन र नियमन गर्न एवम् स्वीकृत मापदण्ड र कार्यविधिको पालना एवम् गुणस्तर सुनिश्चित गर्न अनुगमन गर्नुपर्ने अधिकार दिएको छ ।

तर सो अधिकार पाएका जनप्रतिनिधिले नै गैरकानुनी तबरबाट क्रसर उद्योग सञ्चालन गरेपछि सो ऐन अहिले मरेतुल्य भएको छ । ऐनमा कच्चा वा प्रशोधित ढुंगा, गिट्टी, बालुवा, माटो, चट्टान, दहत्तर बहत्तरको परिमाणसहितको विवरण, संकलन, उत्खननको स्रोत, चालु आर्थिक वर्षको बिक्री वितरणको परिमाण र भावी योजनासहितको प्रतिवेदन पेस गर्नुपर्ने व्यवस्था राखिए पनि कार्यान्वयनमा आएको छैन ।

तालतलैया, ऐतिहासिक धार्मिक महत्वका पोखरी तथा घाट क्षेत्रको १५ सय मिटरभित्र र हाइटेन्सन लाइनको ५ सय मिटरभित्र, शिक्षण, स्वास्थ्य संस्था, धार्मिक सांस्कृतिक तथा सुरक्षा निकायबाट २ किलोमिटर क्षेत्रभिक्र क्रसर राख्न पाइँदैन । त्यस्तै, निकुञ्ज, आरक्ष क्षेत्र, घनाबस्ती र वन क्षेत्रबाट तराईमा २ किलोमिटर र पहाडमा १ किलोमिटर, पुल, राजमार्गबाट ५ सयमिटर बाहिर र अन्तर्राष्ट्रिय सिमानाबाट कम्तीमा १ किलोमिटर बाहिर क्रसर राख्न भनिएको छ ।

मापदण्डअनुसार तालतलैया र धार्मिक महत्वका पोखरीबाट तराइमा १ किमि र पहाडमा ५ सय मिटर बाहिरबाट मात्र उत्खनन र संकलन गर्नुपर्ने ऐनमा उल्लेख छ । त्यसैगरी, असारको पहिलो दिनदेखि भदौ १५ सम्म उत्खनन तथा संकलन गर्न नपाइने, सूर्यास्त भएर सूर्योदय नभएसम्म पनि उत्खनन तथा संकलन गर्न नपाइने मापदण्ड रहेको भएपनि रातभर नदी दोहन हुदै आएको छ । जनप्रतिनिधिबाटै विद्यमान मापदण्डविपरीत क्रसर उद्योग स्थापना गरेपछि अहिले स्थानीयबासी आन्दोलित हुनुपरेको छ ।

जनप्रतिनिधिबाट पीडितहरुको जग्गालाई अधिग्रहण गरी सञ्चालन गर्नलागेकोे बालुवा वासिङ एवं क्रसर उद्योग बन्द गरिपाऊँ भनी सम्बन्धित निकायमा उजुरी गरे पनि अहिलेसम्म कुनै कारबाही हुन सकेको छैन । सुकुटे आसपासको सुनकोशी बगरमा नदी उत्खनन गर्ने डोजर, एक्स्काभेटर र टिप्परका ताँती लाग्न थालेपछि स्थानीय बासिन्दाले नगरपालिका, जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समितिको कार्यालयमा बेथिति रोक्न माग गरे पनि सुनुवाइ भएको छैन ।

नदी खोलामा जथाभावी दोहन बढ्नुको मुख्य कारण ठेक्का र क्रसर व्यवसायमा जनप्रतिनिधि र राजनीतिक दलका नेताको संलग्नता बढी भएकाले स्थानीय बढी मारमा पर्न गएका छन् । सुकुटेनजिक सुनकोशी नदीबाट ढुंगा, गिट्टी र बालुवा निकाल्ने ठेक्का रघुसिंह तामाङ, बजीरसिंह तामाङ र छत्रमान तामाङले नदी दोहनलाई तीब्रता दिएका छन ।

उनीहरु तीनै जना चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर अमानसिंह तामाङका छोरा हुन् । यसैगरी, क्रसर उद्योगमा बाह्रबिसे नगरपालिकाका प्रमुख निम्फोन्जो शेर्पा, राजकुमार बस्नेत र विदुर पराजुली, बाह्रबिसे नगरपालिका–९ का वडाध्यक्ष सानु लामाको लगानी रहेको छ । राजकुमार बस्नेत नेपाली कांग्रेस समर्थक नेता हुन् ।

भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेल मेलम्ची नगरपालिकाको फटकशिलामा शिवराम श्रेष्ठको नाममा दर्ता रहेको जाल्पा इन्फ्रास्ट्रक्चर क्रसर उद्योगमा लगानी गरेका पाइएको छ । सुनकोशी गाउँपालिकाका अध्यक्ष श्रमण जीसीकोसमेत सो क्रसरमा लगानी रहेको छ ।
राजनीतिक दलका नेता र जनप्रतिनिधिको आडमा प्राकृतिक स्रोतको जथाभावी र अवैध दोहन भइरहेको छ । प्रदेश–३ सरकारले जारी गरेको नदीजन्य पदार्थ संकलन र उपयोग सम्बन्धमा व्यवस्था गर्न बनेको कार्यविधि–२०७५ समेत तीनै जनप्रतिनिधिबाट निष्कृय बनाइएको छ । ललितपुरको दक्षिणी भेगमा मापदण्ड विपरीत ५२ वटा क्रसर सञ्चालनको अनुमति दिएको पाइएको छ ।

खानी विभागसँग समन्वय गरेर मात्र खानी सञ्चालन गर्न दिनुपर्ने कानुनी ब्यवस्था छ । तर, गोदावरी नगरपालिकाले खानी विभागसँग समन्वय नै नगरी उद्योग सञ्चालनको अनुमति दिएको छ । संसदको प्राकृतिक समितिले ६ वर्षअघि अध्ययन गरी नल्लु क्षेत्रको ढुङ्गा खानी बन्द गर्न निर्देशन दिएको थियो ।

तर, गोदावरी नगरपालिकाले प्राकृतिक र वातावरणीय प्रभावको मूल्यांकन नै नगरी खानी सञ्चालन अनुमति दिएको आरोप लागेको छ । गोदावरी नगरपालिकाका प्रमुखदेखि वडाध्यक्षसम्मको क्रसर र खानीमा लगानी रहेको बताइएको छ । मापदण्ड विपरीत खानी सञ्चालनका लागि नगर प्रमुखदेखि नगरपालिकाका प्रशासकीय अधिकृत, सम्मको सेटिङ मिलाएको आरोप समेत स्थानीयले लगाएका छन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!