पोखरा ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेसहित उपस्थित सात जना प्रतिवादीहरूको पहिलो दिनको थुनछेक बहस सकिएको छ । पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलनमा जोडिएका उनीहरुविरुद्धको मुद्दामा बयान सकिएपछि आज अपरान्हदेखि थुनछेक बहस शुरु भएको छ ।
न्यायाधीश नितिज राईको इजलासमा सरकारी वकिलको तर्फबाट सहन्यायाधिवक्ता सुजाता पौडेल र शान्तिदेवी शर्माले बहस गरेका थिए । सरकारी वकिलहरुले सहकारी ठगीमा प्रतिवादीहरूको संलग्नता दाबी गर्दै आफ्ना दलिल प्रस्तुत गरेका थिए ।
सरकारी वकिलहरुको बहस सुनेपछि इजलासमा उपस्थित प्रतिवादी कृष्णबहादुर गुरुङ डाँको छाडेर रुन थाले । त्यसपछि उनकै छोरी एमालेकी पूर्व प्रदेश सांसद मीना गुरुङसँगै अरु पनि ग्वाँ ग्वाँ रोएको बाहिरसम्मै सुनिएको थियो ।
थुनछेक बहस भोलि पनि जारी हुने छ ।
सरकारी वकिलले बहस गरिरहँदा प्रतिवादीमध्येका ८० बर्षीय कृष्णबहादुर गुरुङले उठेर धुरुधुरु आँशु खसाल्दै ‘अदालतमै आत्महत्या गर्छु’ भनेपछि केहीबेर रुवाबासी चलेको हो ।
बिरामीसमेत रहेका गुरुङले इजलासमा मर्ने बताएपछि केहीबेर अवस्था असहज भएको र आजको बहस स्थगित गरिएको बताइएको छ ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रास्वपा सभापति लामिछानेसहित ४४ जनालाई प्रतिवादी बनाइएको छ । उनीहरुविरुद्ध सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोगमा सजाय मागदावी गरिएको छ ।
प्रतिक्रिया