January 22, 2025, 1:58 pm
» जापानमा बर्ड फ्लुको सङ्क्रमणमा वृद्धि » राजेश पायल र शलोनीको ‘कलेजकी सुन्दरी’ सार्वजनिक » रविको बयान सकियो, थुनछेक बहस आज नहुने » नागरिकमा आशा जगाउने काम गरिरहेका छौँः उपप्रधानमन्त्री सिंह » NEPSE up by 52.36 Points; trading volume hits Rs 9.20 billion

अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टरको निधन

पुस १५, २०८१ मा प्रकाशित | ३८०दर्शक तीव्रखबर

काठमाडौं : अमेरिकी पूर्व राष्ट्रपति जिमी कार्टरको निधन भएको छ। अमेरिकाको ३९ औं राष्ट्रपति बनेका कार्टरको १०० वर्षको उमेरमा जर्जियास्थित आफ्नै घरमा निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

मेलानोमा’  नामक रोग (छालाको क्यान्सर)बाट ग्रसित रहेका उनले सन् २०२३ मा रोगको उपचार नगर्ने निर्णय गरेका थिए।

सामान्य किसान रहेका उनी अमेरिकी नेवीको लेफ्टिनेन्ट, जर्जियाको गभर्नर रूपमासमेत काम गरेका थिए। रिपब्लिकन पार्टीका अध्यक्ष जेराल्ड फोर्डलाई पराजित गर्दा उनी राष्ट्रपति बन्न सफल भएका थिए।

सन् १९२४ को अक्टोबर १ मा जन्मिएका कार्टर सन् १९७७ देखि सन् १९८१ सम्म अमेरिकाको राष्ट्रपति बनेका थिए। १०० वर्षको उमेरसम्म पुग्ने उनी पहिलो पूर्व अमेरिकी राष्ट्रपति हुन्। राष्ट्रपतिको पदावधि सकिएपछि उनले आफ्नो संस्था ‘कार्टर सेन्टर’ मार्फत मानवीय काम सञ्चालन गरेका थिए। कार्टरको राजनीतिक जीवन, मानवीय योगदान र व्यक्तिगत जीवन अमेरिकी इतिहासको महत्वपूर्ण अध्यायका रूपमा स्मरण गरिनेछ।

कार्टरले मध्यपूर्वमा शान्ति स्थापनाका लागि ऐतिहासिक क्याम्प डेभिड सम्झौता गर्न मध्यस्थता गरेकाले सन् २००२ मा नोबेल शान्ति पुरस्कारसमेत पाएका थिए। कार्टर निर्वाचन पर्यवेक्षण लगायत विभिन्न उद्देश्यले नेपाल भ्रमणमा पनि आएका थिए। भ्रमणमा आउँदा नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता, नेपाली जनताको माया र आतिथ्यप्रति प्रशंसा गर्ने गरेका थिए। नेपालको शान्ति प्रक्रियामासमेत कार्टरको योगदान रहेको छ।

उनको निधनप्रति अमेरिकी राष्ट्रपति जो बाइडन, पूर्व राष्ट्रपति बाराक ओबामा लगायत विश्वका नेताहरूले दुःख व्यक्त गरेका छन्। बाइडनले कार्टरलाई ‘अर्थपूर्ण र उद्देश्यपूर्ण जीवनको प्रतिमूर्ति’ भनेका छन्।

यता नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि कार्टरप्रति आभार व्यक्त गर्दै उनीप्रति अमेरिकीहरूको ‘ऋणी’ रहेको बताएका छन्। कार्टरको सम्मानमा राजकीय अन्त्येष्टिको तयारी भइरहेको छ। उनकी जीवन संगिनी रोसलिन कार्टरको नोभेम्बर २०२३ मा ९६ वर्षको उमेरमा निधन भएको थियो।

प्रतिक्रिया