नेपाल इन्जिनियरिङ कलेजका कर्मचारीले घेरे एनआईसी एशिया बैंक

- July 29, 2018 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

नेपाल इन्जिनियरिङ कलेजका कर्मचारीहरुले विनाकारण बैंक खाता रोक्का गरिएको भन्दै भक्तपुरको दुवाकोटस्थित एनआईसी एशीया बैंकको शाखा कार्यालयमा धर्ना दिएका छन्।

आईतबार दुवाकोटस्थित एनआईसी एशीया बैंकको शाखा कार्यालयमा पुगी उनीहरुले बैंक खाता रोक्का गर्नुको कारण माग गर्दै धर्ना दिएका हुन्।

त्यसक्रममा उनीहरुले विनाकारण कर्मचारीहरुको तलव समेत नपाउने अवस्था भएपछि आफूहरु बैंक खाता रोक्नुको कारणको खोजी गर्न बैंकमा धर्ना दिन आउनु परेको कलेजका कर्मचारी मनोहर खनालले बताए। उनले पीडित विद्यार्थीको डिपोजिट फिर्ता गर्न र कर्मचारीहरुको पारिश्रमिक दिन नपाउने गरी बैंकले खाता रोकेको दावी गर्दै आक्रोश पनि व्यक्त गरे।

कर्मचारीहरुका अनुसार बैंकमा हाल ४ करोड २६ लाख डिपोजिट गरिएको छ। सो रकम बैंकले रोक्का गरेपछि आफूहरु त्यसको कारणको खोजी गर्न बैंकमै धाउनुपर्ने अवस्था आएको कलेजका प्रमुख डा. दिपक भट्टराईले जानकारी दिए। उनले बैंकको सल्लाह र तत्कालीन प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलको सल्लाहमा खोलिएको बैंक खाता रोक्नुपर्ने कुनै कारण नरहेको दावी समेत गरे।

प्रमुख भट्टराईले बैंकले सो खाता खुला गरी आफूहरुको पैसा नदिए कलेजका विद्यार्थी, शिक्षक र अभिभावक सबै बैंक घेर्न आउन बाध्य हुने चेतावनी पनि दिए।

कलेजका संचालकहरुबीचको विवादका कारण बैंक खाता रोक्का गरिएको दावी बैंकले गरेको बताइएको छ।

तर कलेजका पीडित पक्षले भने बैंकले खाता रोक्का गर्नु पर्नाको चित्तबुझ्दो कारण नदिए बैंकका सबै शाखा कार्यालयहरुमा धर्ना दिन बाध्य हुने चेतावनी दिँदै आएको छ।

बैंकका संचालकहरुबीच विवाद भएपछि पाँच महिना अघि बैंकको खाता व्यवस्थापनले खोल्ने सहमति भएको र सोही सहमति अनुसार खोलिएको बैंक खाता रोक्का गरिएको भन्दै कर्मचारीहरुको आपत्ति जनाएका छन।

कलेज प्रमुख भट्टराईले बैंकले रोक्का गरिएको खाता तत्काल संचालन गरेर भुक्तानी नगरे बैंक विरुद्धको आन्दोलनमा कलेजमा अध्ययनरत करिव २ हजार २ सय विद्यार्थीहरु पनि सहभागी हुने चेतावनी दिए।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!