युएई – चितवनका टोपबहादुर बिकले युएईमा तिर्नुपर्ने ब्लमनी बापतको रकम आइतबार बुझाइएको छ । युएईको अलऐन अदालतमा ब्लडमनी बापत १ लाख दिर्हाम अथवा झन्डै ३० लाख रुपैयाँ बुझाएको नेपाली दूतावास युएईले जनाएको छ ।
ब्लडमनी बापतको पैसा बुझाउन नसक्दा टोपबहादुर ५ वर्षदेखि युएईबाट घर फर्किन पाउनुभएको छैन् । १४ जुन २०१४ मा कार्यस्थलमा भएको दुर्घटनामा परेर टोपबहादुरसँगै काम गर्ने थाइल्याण्डका दुई जना नागरिकको ज्यान गएको थियो ।
घटनामा उहाँको पनि संलग्नता भएको आरोपमा १ सेप्टेम्बर २०१४ मा अदालतले दुई लाख दिर्हाम ब्लडमनी तिर्नुपर्ने फैसला सुनाएको थियो । दुई लाखमध्ये कम्पनीले एक लाख र टोपबहादुरले एक लाख दिर्हाम बुझाउनु पर्ने थियो ।
आइतबार ब्लडमनी बापतको रकम बुझाएपछि टोपबहादुरको मुद्धा सक्किएको र उहाँ दुई हप्ताभित्र घर फर्किने युएईका लागि कार्यवहाक राजदूत सागरप्रसाद फुयाँलले बताउनुभयो ।
मुद्धाको टुङ्गो लागेपनि प्रशासनिक प्रक्रिया मिलाउन बाँकी रहेको उहाँले जानकारी दिनुभयो । अब टोपबहादुरले अध्यागमन,े श्रम अदालतबाट सफाया र प्रहरीसँग भएको पासपोर्ट पाएपछि नेपाल फर्किन पाउने दूतावासले जनाएको छ ।
एनआरएनए युएईको संयोजकत्वमा सञ्चालन गरिएको टोपबहादुर उद्धार अभियान अन्तर्गत युएईमा रहेका नेपाली संघसस्थाले एक लाख दिर्हाम ब्लडमनी जुटाएर दूतावासमा बुझाएपछि टोपबहादुरलाई नेपाल फर्काउन दूतावासले अदालती प्रक्रिया सुरु गरेको थियो ।
कम्पनी र टोजबहादुरले बुझाउनु पर्ने रकम सँगै बुझउनु पर्ने भन्दै अदालतले पहिले रकम लिन नमानेपछि दूतावासले पहल थालेको थियो । बुधवार टोपबहादुरको मात्रै रकम बुझ्न अलऐनको तल्लो अदालतलाई आबुधाबी उच्च अदालतले लिखित निर्देशन दिएपछि दूतावासले आइतबार अलऐन अदालतमा ब्लडमनी बुझाएको हो ।
टोपबहादुर युएई आएको ९ वर्ष भयो । यी ९ वर्षमा सबैभन्दा खुशी ब्डमनी बुझाएको खबर पाउँदा मिलेको टोपबहादुरले बताउनुभयो । ६ महिनादेखि टोपबहादुरको खाने बस्ने व्यवस्था एनआरएन युएईले गर्दै आएको छ ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!