नेपालले एसिया कप खेल्ने

- October 15, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौँ । नेपाली राष्ट्रिय महिला क्रिकेट टोली एसिया कपका लागि छनोट भएको छ ।

आइसीसी महिला विश्वकप क्रिकेट अन्तर्गत आजको अन्तिम खेलमा थाइल्यान्डले हङकङलाई सात विकेटले पराजित गरेपछि नेपाली राष्ट्रिय महिला क्रिकेट टिम एसिया कप खेल्न छनोट भएको हो । नेपाल कुल छ खेलमध्ये तीनवटामा जित निकाल्दै ६ अङ्कसहित प्रतियोगिताको उप–विजेता बनेपछि एसिया कपका लागि छनोट भएको हो ।

विश्वकप क्रिकेटको एसियाली छनौटमा नेपाल दोस्रो भएका कारण आगामी नोभेम्बर र डिसेमबरमा थाइल्यान्डमा हुने एसियाली क्रिकेट कपमा छनोट भएको हो । उक्त प्रतियोगितामा टेष्ट खेल्ने भारत, पाकिस्तान, श्रीलङ्का र बङ्गलादेशसँगै आयोजक थाइल्यान्डले सोझै प्रवेश पाएका छन् ।

यस्तै थाइल्यान्डले आइसीसी महिला विश्वकप क्रिकेट प्रतियोगितामा १० अङ्कसहित एसियाली छनौटको पहिलो स्थान प्राप्त गर्दै श्रीलङ्कामा हुने ग्लोबल क्वालिफायरमा छनौट भएको छ ।

यसअघि आज सम्पन्न प्रतियोगिताको आफ्नो अन्तिम खेलमा नेपालले चीनलाई चार विकेटले पराजित गरेको थियो । पहिला ब्याटिङ गरेको चीनले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ८५ रन बनायो । छयासी रनको विजयी लक्ष्य नेपालले १७।३ ओभरमा प्राप्त गरेको थियो ।

नेपालका लागि नेरी थापाले २२, सीता रानामगरले २० र कप्तान रुबिना क्षेत्रीले अविजित १३ रन बनाएका थिए । प्रतियोगितामा चीनसँग नेपालको यो दोहरो जित हो । यसअघि पहिलो खेलमा पनि नेपालले चीनलाई २० रनले हराएको थियो ।

प्रतियोगिताअन्तर्गत नेपाल पहिलो खेलमा अयोेजक हङकङसँग तथा दोस्रो खेलमा थाइल्याण्डसँग पराजित भएको थियो । तेस्रो र चौथो खेलमा नेपालले क्रमशः चीन र हङकङलाई पराजित गरेको थियो । पाँचौँ खेलमा भने थाइल्यान्डसँग पराजित भएको थियो । रासस


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!