अभिनय र नृत्यले खारिएका नायक प्रविन

- September 18, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । कतिपय मानिसहरु कलाकारिता क्षेत्रलाई नाम कमाउँने सजिलो माध्यमको रुपमा नै लिने गर्दछन् । यस क्षेत्रभन्दा बाहिर अन्य पेशा व्यवसायमा लागेका मात्र होईन कलाकारिता क्षेत्रकै नवप्रवेशीहरुका लागी पनि कला हेरेर जसरी मनोरञ्जन लिईन्छ त्यतिकै सजिलो रुपमा लिएको पाईन्छ । तर वर्षौं देखिको संघर्षलाई भने नियालेको पाईंदैन । जब कुनै प्रवेशीहरु सुन्दर सपना सजाएर लाग्छन् अनि मात्र थाहा हुन्छ कलाकारिता पनि हेर्नमा मात्र सजिलो छ । नाम कमाउन कठिन छ अनि बल्ल बल्ल केही पाईला चालेपनि यो क्षेत्रमा टिकेर गरि खान ठूलै संघर्ष गर्नु पर्दछ । यस्तै लामो समयको संघर्ष र सिकाईले खारिएका एक युवा कलाकार हुन् प्रविन एन.बि. ।

नेपालको पश्चिम जिल्ला दाङ स्थायी घर भएका प्रविन नायक बन्ने सोच बोकेर २०५६ सालमा राजधानी प्रवेश गरेका हुन् । उनले नेपाल आर्ट सेन्टरमा ३ वर्षसम्म नृत्य सिकेको बताए । लामो समय सिकाई र भोगाईमा बिताएका उनले तीव्रखबरसँगको भेटमा करीब त्यति नै समय अभिनय समेत सिकेको बताए । मनोरञ्जन क्षेत्रको सुनौलो माहौलमा जति रमाईंला पलहरु बिते अनि संघर्ष रहे त्यही माहौलमा उनले छिट्टफुट्ट रुपमा अभिनय पनि गरे । उनले सोचेको सपना पुरा गर्न र राष्ट्रिय रुपमा स्थापित हुन त्यति सजिलो थिएन ।

हुन त उनको अभिनयका गुरु पनि त्यतिबेलाका चर्चित कलाकार तथा निर्देशक सुभाष गजुरेल थिए । तर उनले सिक्न मात्र पाए । अवसरको खोजी सँधै गरिरहनु पनि उनको दिनचर्या बन्न पुग्यो । यो बिचमा उनले दीपक रायमाझी निर्देशति टेलिचलचित्र “बंश”को केही भागमा अभिनय पनि गरे । त्यतिबेलाको अर्को टेलिचलचित्र “गहना”मा अभिनय गरेको र नेपाल टेलिभिजनको पर्दामा आफूलाई प्रस्तुत गर्न सफल भएको सम्झना पनि उनको मानसपटलमा ताजै छ ।

1465136335597

अन्यको दाँजोमा आफूले यो क्षेत्रमा धेरै नै संघर्ष गरेको अनुभव बोकेका प्रविनले नेटिभी २ बाट प्रसारित घनश्याम तिमल्सिना निर्देशित टेलिचलचित्र “तातो न छारो”मा पनि अभिनय गरेका थिए । जति जति प्रस्तुति दिदै गए त्यो भन्दा पनि बढी प्रशिक्षण पनि लिई रहे । यस्तै अनुभवहरुले उनलाई अझ परिपक्क बनाउँदै लग्यो । यही परिपक्कतालाई संगालेर नै प्रविनले पछिल्लो समयमा ठूलो पर्दाको चलचित्र “धनमान” मा नायकको रुपमा आफूलाई उभ्याएका छन् ।

क्रषि न्यौपानेको निर्देशनमा निर्माण भएको उक्त चलचित्रमा सुशिल क्षेत्री, दिनेश शर्मा, केदार घिमिरे लगायतको साथमा अभिनय गरेका उनलाई पूर्ण रुपमा सफल बन्ने आशा छ । उनको अभिनय र नृत्यबाट प्रभावित केही निर्माता तथा निर्देशकहरुले आफ्नो चलचित्रमा अभिनय गर्न आग्रह गरेपनि “धनमान”को परिणाम पछि मात्र अभिनयको सोच बनाएको उसले बताए ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!