विद्यालय जान थाले हायु जातिका बालबालिका

- September 11, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

बनेपा । काभ्रेपलाञ्चोकको वाल्टिङ गाविस–५ मा मात्रै बसोबास रहेका लोपोन्मुख हायु जातिका बालबालिकाको शिक्षामा पहुँच बढ्दै गएको छ ।
लोपोन्मुख जातिको संरक्षण गर्ने घोषित कार्यक्रम अनुसार जनही रु दुई हजार प्रदान गर्ने भएपछि हायु जातिका अभिभावकले आफ्ना बालबालिकालाई विद्यालय पठाउन थालेका छन् ।

वाल्टिङस्थित पञ्चकन्या उच्च माध्यमिक विद्यालयका प्राचार्य भक्तप्रसाद मैनालीले हायु बालबालिका विद्यालय आउने क्रम बढ्दै गएको अनुभव सुनाउँदै उनीहरुसँग शिक्षाका लागि समेत कुनै शुल्क नलिइएको बताए ।

अहिलेसम्म सो जातिबाट दुई छात्रा र एक छात्रले दश जोड २ तहको शिक्षा अध्ययन गर्न समर्थ भएका छन् ।

सो विद्यालयले दिएको तथ्याङ्क अनुसार विस २०७२ मा हायु जातिका ११ छात्रा र चार छात्र अध्ययन गरेका थिए । विसं २०७३ मा १३ छात्रा र चार छात्र विद्यालय भर्ना भएका छन् ।

सरकारले यस जातिका बालबालिकालाई अध्ययनमा सघाउन लागि चार वर्षअघि संरक्षण कार्यक्रम ल्याएको थियो ।

“यो गाविसमा बसोबास गर्ने हायु जाति नै वास्तविक आदिवासी हुन्,” सो विद्यालयमा झन्डै २० वर्षदेखि अध्यापन गराउँदै आएका मैनालीले भने । रासस


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!