निर्मला प्रकरण : खेम भण्डारी ‘तुच्छ सजाय’मा जेल चलान

- November 19, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं : पत्रकार खेम भण्डारी जेल चलान भएका छन्। कञ्चनपुर जिल्ला अदालतको असार ३० गतेको फैसला अनुसार ‘तुच्छ सजाय’को जेल भुक्तान गर्न भण्डारी जेल गएका हुन्। 

जिल्ला अदालतका तत्कालीन न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको एकल इजलासले असार ३० गते भण्डारीलाई ‘तुच्छ सजाय’ अन्तर्गत एक रुपैयाँ जरिवाना र एक घण्टा कैदको फैसला गरेको थियो। भण्डारीलाई अदालतले निर्मला प्रकरणलाई ट्विस्ट एन्ड टर्न गरेर रहस्यमय बनाएको ठहर गर्दै एक रुपैयाँ जरिवाना र एक घन्टा कैद सजाय सुनाएको हो।

मानसखण्ड दैनिकका सम्पादक भण्डारी मंगलबार कैदी पुर्जी बुझ्दै जेल गएका हुन्। भण्डारी एक रुपैयाँ जरिवाना बुझाउँदै एक घण्टाका लागि जेल गएका हुन्। उनले कारागार कार्यालय कञ्चनपुरमा पस्नुअघि निर्मला पन्त हत्या प्रकरणमा न्यायलयसमेत मुछिएको भन्दै आपत्ति जनाए। आफू जेल गएर न्यायालयको सम्मान गर्ने बताएका भण्डारीले न्यायलयको भाषा तुष्छ भएको भन्दै आपत्ति जनाएका छन्। उनले जेल सजाय भुक्तान गरेर निस्किएपछि अब न्यायलयविरुद्ध लड्ने चेतावनीसमेत दिएका छन्।

‘कहिलेकाहीँ अदालतले गरेको सजाय हेर्दा सामान्य तर एक सभ्य व्यक्तिलाई सदैव पीडा दिने प्रकृतिको हुन्छ। अदालतले गरेका सजाय हेर्दा अरूलाई यस्तो पनि सजाय हुन्छ भन्ने लाग्छ। तर सो सजाय पाउने व्यक्तिलाई निकै महङ्गो पनि हुन्छ’, अदालतको फैसलामा भनिएको छ,  ‘उदाहरणको लागि १ पैसा, १ दाम, १ रूपैयाँ जरिवाना तथा १ दिन, ६ घण्टा वा १ मिनेट कैद हुने गरि न्यायालयले निर्णय गर्‍यो भने सो सजाय पाउने मानिसले कैयन् पटक सोच्नै पर्ने हुन्छ यस्तो सजाय मलाई किन भयो भनेर।’

फैसलामा थप भनिएको छ, ‘वादीले मुद्दा नगरेको भए हुने थियो तर गरिहाल्यो भनेर यस्तो प्रकृतिको क्षतिपूर्ति पनि भराउने हुन्छ। यस्तो क्षतिपूर्ति पायो भने दावीकर्तालाई सन्देश प्रवाह हुन्छ कि अधिकार भन्दैमा सस्तो लोकप्रियताको लागि दावी गर्ने भन्ने हुँदैन। विचार गर। त्यसैगरी सजाय पाउनेलाई तेरो लागि सजायको प्रकृति पनि शोभनीय छैनस् तँ त्यति तुच्छ होस् भन्ने हुन्छ।’

एक रुपैयाँ जरिवाना र एक घन्टा थुनाको अदालतको फैसला पनि रोचक छ।  ‘यस्तो सजाय पाएको व्यक्तिले मलाई सानो सजाय गर्यो भनेर मख्ख पर्नु भन्दा पनि म कति तुच्छ रहेछु जहाँ मेरो लागि सजाय पनि उपयुक्त भएन भनेर सोच्नु पर्नेहुन्छ’, फैसलामा भनिएको छ, ‘यदि सो कसुरदारले सोचेन भने पनि सो सजाय पायो भनेर सुन्ने व्यक्तिले सो व्यक्तिलाई तुच्छताको धारणा बनाउन सक्ने हुन्छन्। यस्तो प्रकृतिको सजाय निकै खतरनाक हुन्छ। बरु एक वर्ष कैद बस्न उपयुक्त हुन्छ। सही सद्दे मानिसलाई एक मिनेटको कैद वा एक दामको जरिवाना सामाजिक एवम् मानसिक रुपमा पीडादायक हुन्छ।’

पत्रकार भण्डारी एक घण्टा जेल सजाय भुक्तान गरी मंगलबार साँझ छुटिसकेका छन्। जेलबाट छुटेपछि उनले निर्मला हत्या काण्डमा न्यायलयसमेत संलग्न रहेको आरोप लगाएका छन्। साभार


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!