चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका बारेमा ‘सकारात्मक संकेत’ भिडियो सहित

- September 10, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यीले परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र प्रधानमन्त्री केपी शर्मा ओलीसँग गरेको भेटवार्तामा चिनियाँ राष्ट्रपति सि चिनफिङको सम्भावित नेपाल भ्रमणका बारेमा ‘सकारात्मक संकेत’ दिएका छन् ।

‘चिनियाँ राष्ट्रपति सिको नेपाल भ्रमणबारे पनि कुराकानी भएको छ। भ्रमण अपेक्षित छ, तर कुन मितिमा हुन सक्ने भन्ने निर्क्यौल भैसकेको छैन,’ परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सोमबारको दुई पक्षीय सयन्त्र बैठकपछि कान्तिपुरसँग भने—‘विदेशमन्त्री वाङ यीले चीनबाट विशिष्ट राजनीतिक तहमा हुन सक्ने नेपाल भ्रमणको सरोकारलाई सकारात्मक रुपमा लिनुभएको छ।’

नेपालमा राजनीतिक संक्रमण र अस्थिरता टुंगिएको यो अवस्था उच्चस्तरमा हुने राजनीतिक भ्रमणको ‘उपयुक्त समय’ रहेको भन्दै आफूले नेपाली सरोकारलाई विदेशमन्त्री समक्ष राखेको परराष्ट्र मन्त्री ज्ञवालीले जानकारी दिए। विदेशमन्त्रीले नेपालीको यो सरोकारलाई ‘गम्भीरतापूर्वक लिएको’ भन्दै दुवै देशका कूटनीतिक नियोगहरु यस मामलामा निरन्तर सम्पर्कमा रहने बताएका थिए।

याक एण्ड यति होटलमा भएको नेपाल–चीन परराष्ट्र मन्त्रीस्तरीय संयन्त्र बैठकलगत्तै बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्न गएका विदेशमन्त्री यीसँग प्रधानमन्त्री ओलीले ‘चीनबाट उच्चस्तरीय भ्रमणको अपेक्षा गरिएको’ सरोकार राखेका थिए। ‘राष्ट्रपति सिको नेपाल भ्रमण उपयुक्त समयमा गर्नेतर्फ सोचिरहेका छौँ,’विदेशमन्त्री यीको जवाफ उद्धृत गर्दै बालुवाटार बैठकमा सहभागी प्रधानमन्त्रीका परराष्ट्र मामला सल्लाहकार राजन भट्टराईले कान्तिपुरसँग भने।

चिनिया राष्ट्रपति सिले असोज २४ देखि २६ सम्म भारत भ्रमण गर्न लागेको र त्यही अवसरमा भारतबाट फर्कंदा एक दिनका लागि नेपाल भ्रमणमा आउने ‘अपुष्ट सूचना’ बाहिर आइरहेका बेला विदेशमन्त्री यीको अहिले भइरहेको भ्रमण यही सरोकार केन्द्रीत बनेको हो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सीबीच तामिलनाडुको मामलपुरमा भेटवार्ता हुन लागेको सन्दर्भमा नेपाल आउने विषय जोडिएको हो।

अहिले भारतको कश्मिर मामलाले उब्जाएको तनाव तथा चीनको सिमावर्ती बिन्दू समेत जोडिएको भारत राज्य लद्दाखमा चिनियाँ ‘रिजर्भेसन’ रहेका कारण अन्तिम घडीमा आएर राष्ट्रपति सीको भारत भ्रमणसमेत केही पर सर्न सक्ने आँकलन सुरु भएको छ। आगामी अक्टोबर महिनामै तिब्बतको सिगात्सेमा हुन लागेको ‘तिब्बतमा प्रजातान्त्रिक सुधार’ को ६० वर्षे उत्सवमा राष्ट्रपति सी सहभागी हुने निश्चित भइसकेकाले त्यस अवसरमा राष्ट्रपति नेपाल आउन सक्ने अर्को सम्भावना देखिएको परराष्ट्रमा चीन मामला हेर्ने एक अधिकारीले बताए।

‘छिमेकी मुलुकबाट हुने उच्चस्तरीय भ्रमणले हामीलाई आडभरोस मिल्न सक्छ, हामी चीनको उच्च नेतृत्वको आगमन र स्वागतमा प्रतीक्षारत छौं भनेर सन्देश दिएको छु,’ परराष्ट्र मन्त्री ज्ञवालीले भने। कान्तिपुरबाट ।

भिडियो

 


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!

 

 

तीव्र अपडेट