चेम्वरका अध्यक्ष श्रेष्ठ र चीनका मिनिस्टर (इकोनोमिक) सँग आपसी आर्थिक सम्बन्ध बारे छलफल

- August 26, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ र चेम्बरका पदाधिकारीहरुले नेपालका लागि चीनको बेइजिङस्थीत नेपाली राजदुतावासका मिनिस्टर (इकोनोमिक) छविन्द्र पराजुलीसँग भेट गरेका छन् । चेम्बरको सचिवालय जमलमा भएको भेटमा चेम्बर अध्यक्ष श्रेष्ठले चीनको बेइजिङस्थीत राजदुतावासका मिनिस्टर (इकोनोमिक) पराजुलीसँग आपसी व्यवसाय प्रबद्र्धनसँगै आर्थिक अभिवृद्धि गर्न आवश्यक रहेको बताएका छन् । उनले चीन विश्वकै अग्रणी अर्थतन्त्र भएकाले यसको प्रभाव नेपालमा बढीपर्ने, जिरो ट्यारिफ र ८ अंकको एच.एस.कोड प्रयोग हुने हँुदा शुन्य भन्सार सुविधा लिन गाहे, सर्टिफिकेट अफ ओरिजिन कुन स्तरको लागि कस्तो आवश्यक पर्ने आपसी छलफलबाट तय हुनुपर्ने बताए । उनले दोश्रो बेल्ट एण्ड रोड इनिसिएटिभ सम्मेलनमा नेपाल प्रति देखाएको प्रतिबद्धता र परियोजनाले नेपालको विकासका अपेक्षा पुरा हुने गरी कार्य गर्नुपर्नेमा जोड दिए । चीन पहिलो बैदेशिक लगानी आउने र दोस्रो पर्यटक आउने मुलुक भएता पनि विभिन्न समझदारी तथा द्धिपक्षीय सम्झौता समयमानै कार्यान्वयन हुनुपर्ने बताउदै पूर्वाधार निर्माणमा चीनको सहयोग उल्लेख्य र अपेक्षित रहेको अध्यक्ष श्रेष्ठले उल्लेख गरे । उनले नेपालमा संयुक्त लगानीका लागि पर्यटन, व्यवसायीक कृषि, खनिज, सिमेन्ट, जडिबुटी,उद्योग र शिक्षा रहेको धारणा राखेका थिए ।

अध्यक्ष श्रेष्ठले चीनले प्रदान गरेको ४ वटा समुद्री बन्दरगाह र ३ वटा सुख्खा बन्दरगाहाको अधितम प्रयोगमा जोड दिनुपर्ने बताए । उनले केरुङ, काठमाडौं, लुम्बिनी रेलवेको कार्य तिब्रताका साथ अगाडी बढाउनु पर्ने र चीनको सिसिपिआईटी र नेपालको निजी क्षेत्रबीच व्यापारिक प्रतिनिधि मण्डलको आदान प्रदान, सूचनाको आदान प्रदान, व्यापारिक मेलामा सहभागिता हुनुपर्नेमा राजदुताबासबाट सो कार्यमा सहयोगीको भूमिकाको अपेक्षा गरे । सो भेटमा चीनको बेइजिङस्थीत नेपाली राजदुतावासका मिनिस्टर (इकोनोमिक) छविन्द्र पराजुलीले दुई पक्षिय व्यापारिक र आर्थिक क्षेत्रमा अझ सुदृढीकरण गर्ने उपायहरू पहिल्याउँने र दुवै मुलुकलाई आपसी फाइदा पुग्ने गरी आफू लाग्ने समेत रहेको प्रतिबद्धता जनाए । सो भेटमा चेम्बरका पदाधिकारी, नेपाल चीन उद्योग वाणिज्य संघका पदाधिकारीको उपस्थिती थियो ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!