काठमाडौं भ्युटावरको मालिक भेटवाल हुण्डी कारोबारी

- August 1, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं
काठमाडौंको पुरानो बसपार्कमा काठमाडौं भ्युटावर निर्माण गरिरहेको जलेश्वर स्वच्छन्द विकोई विल्डर्स प्रालिका सञ्चालक मनोज कुमार भेटवालसहित चार जनाविरुद्ध हुण्डी गरी विदेशी मुद्रा अपचलन गरेको दाबीसहित राजस्व अनुसन्धान विभागले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । राजस्व अनुसन्धान विभागका अनुसार निशा गुरुङले सिंगापुरमा रहेका आफन्त साथीभाइ र अन्य व्यक्तिहरुसँग जलेश्वर स्वच्छन्द विकोई विल्डर्स प्रालिले निर्माण गरिरहेको निर्माण गरिराखेको काठमाडौं भ्युटावर निर्माणमा लगानी गर्ने भनेर रकम संकलन गरी बैंकिङ प्रणाली बाहिरबाट गैरकानुनी रुपमा हुण्डीको माध्यमबाट रकम नेपाल ल्याएकी थिइन् । 

विभागका अनुसार निशाले उक्त रकम राजकुमार विष्ट र उनको भाइ शिव विष्टको सहयोगमा भ्युटावर निर्माणमा संलग्न भेटवालमार्फत विभिन्न व्यक्तिलाई वितरण गरिएको थियो । कुनै पनि देशबाट पैसा ल्याउँदा नेपाल राष्ट्र बैंकको अनुमति लिएर मात्र ल्याउनुपर्ने हुन्छ । तर, उनीहरुले त्यसरी पैसा ल्याउँदा राष्ट्र बैंकसँग अनुमति लिएको देखिएको छैन । विभागका अनुसार राजकुमार निशाको कम्पनीका कर्मचारी हुन् । उनै राजकुमारको साथबाट विभागले केही रकम, चेक तथा भौचरहरु बरामद गरेको थियो । निशा सञ्चालक रहेको अभिताभ मल्टी पर्पोज प्रालिलगायतका फर्मले कुनै पनि कारोबार नगरेको विभागले गरेको अनुसन्धानबाट पत्ता लागेको थियो । उक्त कम्पनीले आफ्नो कारोबारको विवरण आन्तरिक राजस्व कार्यालयमा बुझाउँदा शून्य विवरण पेस गरेको भेटिएको थियो भन्दै आर्थिक दैनिकले समाचार प्रकाशन गरेको छ । । 

आन्तरिक राजस्व कार्यालयमा शून्य विवरण पेस गरे पनि उनीहरुले अभिताभ मल्टी पर्पोज प्रालिको आम्दानी भनेर बैंकको खातामा ठूलो नगद रकम बारम्बार जम्मा गरेको भौचर राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । अनुसन्धानको क्रममा उक्त जम्मा गरेको रकम बैंकबाट निकाल्ने गरेको पनि भेटिएको थियो । निशा र राजकुमारसँग विभागले बयान लिँदा उक्त रकम आम्दानी कसरी भएको भनेर स्पष्ट पार्न सकेका थिएनन् । प्रमाण संकलन गरेर बयान लिँदा निशा र राजकुमारले आम्दानी पुष्टि गर्न नसक्नु विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ३, ३ ‘ख’ र ४ को व्यवस्था तथा दफा १२ बमोजिम जारी विप्रेषण नियमावली २०६५ विपरीत रहेको विभागले ठहर गरी अदालतमा मुद्दा दायर गरेको हो ।

विभागले बरामद गरेको नेपाली रुपैयाँ २६ लाख १५ हजार, तीनवटा चेकमा उल्लेख भएको ३४ लाख रुपैयाँ, सिंगापुरबाट गैरकानुनी रुपमा नेपाल भित्र्याएको रकम भुक्तानी गर्न प्रयोग भएको, प्रहरी प्रतिवेदनसाथ पेस भएको एक सय चार थान विभिन्न बैंकका भौचरमा उल्लेख गरिएको चार करोड २७ लाख आठ सय ५० रुपैयाँसहित चार करोड ६० लाख ४२ हजार आठ सय ५० रुपैयाँको तीन गुणा सजाय र तीन वर्ष कैद तथा बरामद रकमसमेत जफतको माग गर्दै बुधबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो 


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!