रोयल क्यासिनोकी सञ्चालिका थापा सम्पत्ति शुद्धीकरण विभागको नियन्त्रणमा

- July 18, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौँ  । रोयल क्यासिनोकी एक लगानीकर्ता जयन्ती थापालाई सम्पत्ति शुद्धीकरण विभागले बुधबार नियन्त्रणमा लिएको छ । रोयल क्यासिनो गिल्ट इन्भेष्टमेन्ट प्रालिको नाममा होटल याक एण्ड यति परिसरमा सञ्चालन हुँदै आएको छ । थापाले सम्पत्ति शुद्धीकरण गरेर क्यासिनोमा लगानी गरेको आशंका गरिएको छ । थापाको सम्पत्तिको स्रोतका सम्बन्धमा उजुरी परेपछि विभागले बाध्य भएर उनीमाथि अनुसन्धान सुरु गरेको हो । थापालाई पक्राउ गर्ने क्रममा क्यासिनोसँग सम्बद्ध कागजात पनि नियन्त्रणमा लिएको जनाइएको छ ।

उनीसहित सो क्यासिनोमा सुनिल रायमाझी, भारतीय नागरिक आशिष पटेललगायतको लगानी रहेको बताइएको छ । सुरेन्द्रबहादुर सिंहबाट जयन्ती थापाको नाममा क्यासिनो नामसारी गरिएपछि सामान्य कर्मचारीले सो क्यासिनोको सेयर खरिद गरेको रकमको स्रोत नखुलेको भन्दै छानबिन गरी कारबाही गर्न माग गर्दै विभागमा उजुरी परेको थियो । सिंहले थापालाई क्यासिनो नामसारी गर्दा २५ करोड चुक्ता पुँजी समेत नबुझाई १३ करोड २८ लाख ५९ हजार ४ सय १४ रुपैयाँ मात्र बुझाएका थिए । भारतीय नागरिक पटेलले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनअनुसार लगानी नभित्र्याई क्यासिनोमै काम गर्ने मजदुर जयन्तीको नाममा २५ करोडको सेयर गिल्ट इन्टरनेशनलका सुरेन्द्रबहादुर सिंहबाट किनेका थिए ।

सुरेन्द्रबहादुरबाट २०७५ भदौ १७ मा पटेलले क्यासिनो किनेका थिए । तर, पटेलको पैसामा क्यासिनो किनेकी थापाले त्यसपछि ती पटेललाई नै निकालेको आरोप लागेको छ । पटेललाई क्यासिनोबाट निकालेपछि थापाले सुनिलजंग रायमाझी, मनोज सुवेदी, गोकर्ण लामिछाने, अनिशलगायतसँग मिलेर क्यासिनो सञ्चालन गर्न थालेकी थिइन् भन्दैआर्थिक दैनिकले समाचार प्रकाशन गरेको छ । ।
थापाले भारतमा बस्ने आशिष पटेललाई क्यासिनोभित्र प्रवेश नदिन कर्मचारीलाई निर्देशन दिँदै उनलाई अनलाइन मोनिटरिङ सिस्टमबाट समेत हटाई क्यासिनोबाट हटाएको आरोप लागेको थियो । जयन्तीको २५ करोड रुपैयाँको स्रोतको छानबिन गर्न माग गर्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी परेसँगै अनुसन्धान हँुदै आएको थियो । पटेलको लगानी जयन्तीमार्फत गरिएपछि उनको आयस्रोत खुल्न नसकेपछि सम्पत्ति शुद्धीकरण विभागले छानबिन गरिरहेको स्रोतले जानकारी दिएको छ ।
कम्पनी रजिस्ट्रारको कार्यालयले कर चुक्ता नै नगरी सुरेन्द्रबहादुरको नामको गिल्ट इन्भेष्टमेन्ट प्रालि जयन्तीको नाममा नामसारी गरेको विषयमा पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ । अर्कोतर्फ सरकारलाई बुझाउनुपर्ने कर र बक्यौता रकम नबुझाई अटेर गरेर बसेकी सो क्यासिनोको सञ्चालक जयन्तीले पछिल्लो समयमा पर्यटन विभागलाई पठाएको पत्रबाट चित्त नबुझेपछि तत्काल बाँकी बक्यौता र कर चुक्ता गर्नु÷गराउनु भन्दै दोस्रो पत्र पठाएपछि थापामाथि थप अनुसन्धान भएको थियो । अहिले क्यासिनोका पीडित कर्मचारीहरुले पर्यटन विभाग, कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालय, राजस्व कार्यालय र नेपाल सरकारलाई जयन्ती विदेश भाग्न लागेकोले उनको पासपोर्ट कब्जा गरेर राखी सरकारलाई तिर्नुपर्ने राजस्व १३ करोड २८ लाख ५९ हजार ४ सय १४ र मजदुरहरुको १७ करोडभन्दा बढी तलब र सञ्चयकोष तत्काल चुक्ता गराउन समेत माग गरिएको छ ।

सो विभागले पठाएको पत्रमा सर्वोच्च अदालतको २०७२ साल फागुन १५ को अन्तरिम आदेशबमोजिम होटल याक एण्ड यति दरबारमार्ग, काठमाडौंमा त्यस कम्पनीद्वारा सञ्चालित क्यासिनो सम्पूर्ण सेयर साबिक सञ्चालक सुरेन्द्रबहादुरको नामबाट जयन्तीको नाममा कम्पनी रजिष्ट्रार कार्यालयको २०७५ भदौ १७ को निर्णयअनुसार लगत कायम भएपछि पनि कर नबुझाएकोमा तत्काल बुझाउन दोस्रो पत्र पठाएको थियो । सुरेन्द्रबहादुरसँग क्यासिनो रोयलको सबै सेयर खरिद गरेको भन्दै चर्चा भएसँगै थापाले हालसम्म ७३ करोड रुपैयाँभन्दा बढी रकमको स्रोत देखाउनुपर्ने र उनको सम्पत्तिमाथि छानबिन सुरु भएको हो ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!