भारतमा आज अन्तिम चरणको निर्वाचन

- May 19, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

नयाँ दिल्ली : भारतमा भइरहेको लोकसभाको निर्वाचन अन्तर्गत आइतबार अन्तिम तथा सातौँ चरणको मतदान भइरहेको छ ।

देशभरका सात प्रदेशका ५९ निर्वाचन क्षेत्रमा मतदान भइरहेको निर्वाचन आयोगका अधिकारीहरुले जानकारी दिएका छन् ।

आइतबारको निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीसहित ९१८ जना उम्मेदवार चुनावी मैदानमा रहनु भएको छ । प्रधानमन्त्री मोदी उत्तर प्रदेशको वाराणसीबाट उम्मेदवार बन्नु भएको छ । उहाँलाई भारतीय राष्ट्रिय काँग्रेसका अजय राय र समाजवादी पार्टीका शलिनी यादवले चुनौती दिनुभएको छ ।

यस चरणको निर्वाचनमा उत्तर प्रदेश र पञ्जाबमा १३–१३ सिटका लागि मतदान भइरहेको छ भने पश्चिम बंगालका नौ सिटका लागि मतदान भइरहेको छ ।

त्यसैगरी बिहार र मध्यप्रदेशका आठ–आठ सिट, हिमाञ्चलका सबै चार सिट, झारखण्डका तीन सिटका लागि तथा केन्द्र शासित चण्डीगढको एक सिटमा मतदान भइरहेको  निर्वाचन आयोगले जनाएको छ ।

आयोगले आइतबार निर्वाचन सकिए पनि मतपरिणाम भने यही मे २३ तारिखदेखि मात्रै सार्वजनिक हुने जनाएको छ । भारतमा गत अप्रिल ११ देखि चरणबद्ध रुपमा लोकसभाको निर्वाचन भइरहेको छ । 


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!