November 12, 2024, 10:32 pm
» दीपक मनाङेलाई जेल पठाउन लगियो काठमाडौं अदालत » समर्थकको भिड छिचोल्दै एयरपोर्टबाट प्रहरी कार्यालय लगियो रविलाई » सडक दुर्घटना बढेपछि गृहमन्त्रीको निर्देशन : सवारीसाधन चेकजाँच कडा बनाउनू » तातोपानी कुण्डमा प्राकृतिक उपचारको लागि जानेको संख्या बढ्दै » वर्तमान सरकारबाट जनताले धेरै अपेक्षा गरेका छन्’ : प्रवक्ता महत

गाउँपालिका र नगरपालिकाको सुविधा रोक्ने मन्त्री गुप्ताको चेतावनी

कार्तिक १४, २०८१ मा प्रकाशित | २७०दर्शक तीव्रखबर

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सरुवा गरिएपछि तोकिएको कार्यालयमा हाजिर नगर्ने कर्मचारीहरूको सूची मन्त्रालयमा तयार भइरहेको बताउनुभएको छ ।

मन्त्रालयले गरेको सरुवालाई अवज्ञा गर्दै कर्मचारीहरूले तोकिएको कार्यालयमा हाजिर नगरेको गुनासो बढेपछि उनीहरूको नामावलीसहितको विवरण सङ्कलन थालिएको मन्त्री गुप्ताले बताउनुभयो । विवरण सङ्कलनपछि के कति कारणले उनीहरू सम्बन्धित कार्यालयमा हाजिर हुन नसकेका हुन् त्यसबारे स्पष्टीकरण सोधेर आवश्यक कारबाही गर्ने तयारी भइरहेको उहाँकाृे भनाइ छ ।

‘हामीले सरुवा गरेर पठाएका धेरैजसो कर्मचारीहरू सम्बन्धित कार्यालयहरूमा हाजिर भइसक्नुभएको छ । तर, केही कर्मचारीले मात्रै विभिन्न बाहानाबाजी गरेर हाजिर गर्नुभएको छैन । उहाँहरूलाई तोकिएको कार्यालयमा हाजिर गर्न हामीले पटक–पटक ताकेता पनि गरिरहेका छौँ,’ मन्त्री गुप्ताले भन्नुभयो, ‘अब हामी ताकेता गर्न छोडेर उहाँहरूको विवरण सङ्कलन गरिरहेका छौँ । जो जानुभएको छैन उहाँमाथि र जसलाई हाजिर गर्न दिइएको छैन उहाँहरूको पालिकामाथि पनि कारबाही गर्छौँ ।’

खटाइएका कर्मचारीहरूलाई हाजिर गर्न नदिने गाउँपालिका र नगरपालिकामाथि पनि मन्त्रालयले कारबाही गर्ने उहाँको भनाइ छ । जनताले दैनिक रूपमा सेवा उपभोग गर्ने स्थानीय तहका कुनै पनि कार्यालयमा नगर तथा गाउँपालिका प्रमुख अथवा कर्मचारीहरूबाट हुने कमजोरीमाथि मन्त्रालयले आवश्यक निगरानी गरिरहेको बताउनुहुँदै मन्त्री गुप्ताले सुशासनको सवालमा सरकार दृढ रहेको र कसैको दबाब वा प्रभावमा आफू नपर्ने स्पष्ट गर्नुभयो ।

‘गाउँपालिका वा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत जाने तर सम्बन्धित पालिकाका प्रमुखले हाजिर गर्न नदिने पुरानो परिपाटी पनि हामीकहाँ रहँदै आएको छ । अब त्यस्तो हर्कत गर्ने पालिकालाई हाम्रो मन्त्रालयबाट दिइने सेवासुविधामा रोक लगाउँछौँ । जुन कर्मचारी गएर हाजिर हुँदैनन् तिनलाई पनि मन्त्रालयले कारबाहीको व्यवस्था मिलाएको छ,’ मन्त्री गुप्ताले भन्नुभयो ।

गाउँ वा नगरपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन बन्यो भने जनताले सेवासुविधा नपाउने र जनताको सेवा सुविधाका लागि पनि आफू निर्मम भएर अघि बढ्ने विश्वास उहाँले व्यक्त गर्नुभएको छ । यद्यपि, कोही कर्मचारीको वास्तविक समस्या रहेको खुलेमा उनीहरूका हकमा सहजीकरण गर्न पनि आफू तयार रहेको उहाँको भनाइ छ ।

कर्मचारी नपुग भएको ठाउँमा मन्त्रालयको ध्यान पुगेको भन्नुहुँदै उहाँले अब केही महिनाभित्रै सबै स्थानीय तहमा कर्मचारी पठाइसक्ने दाबी दोहोर्‍याउनुभयो । विभिन्न मन्त्रालयमा थुप्रिएर बसेका कर्मचारीहरूलाई पालिकाहरूमा पठाउने काम सुरू भइसकेको जानकारी पनि उहाँले दिनुभएको छ ।

प्रतिक्रिया