October 16, 2024, 10:31 am
» जापानमा बर्डफ्लु सङ्क्रमणपछि उच्च सतर्कता » प्रहरी समायोजन नहुँदा समस्या भयो : मुख्यमन्त्री पाण्डे » पन्ध्र दिनभित्र खानेपानी सेवा पुनःसञ्चालनमा आउँछ : मन्त्री यादव » यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर » मातातिर्थमा कार्तिक २ देखि १५ गतेसम्म व्यापार महोत्सव सञ्चालन हुने

डडेलधुरा बस दुर्घटना अपडेट : दुई दिनकी सुत्केरी र नाबालकसहित चार जनाको मृत्यु

अशोज ३०, २०८१ मा प्रकाशित | ४७०दर्शक तीव्रखबर

डडेलधुरा – बुधबार मध्यरातमा डडेलधुराको अमरगढी नगरपालिका ७ खस्रेखानमा बस दुर्घटना हुँदा दुई दिनकी सुत्केरी २१ वर्षीया कमला बोरोरा र उनका नाबालक छोरासहित ४ जनाको मृत्यु भएको छ। महेन्द्रनगरबाट बैतडीको पुर्चौडीतर्फ जाँदै गरेको पवनदूत यातायातको ना ८ ख १०७८ नम्बरको बस राति करिब साढे १२ बजेतिर खस्रेखानमा दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रहरी निरीक्षक उपेन्द्रबहादुर बमका अनुसार बैतडी जिल्लाको पुर्चौडी नगरपालिका- ३ की कमला र उनका दुई दिनका नाबालक छोराको मृत्यु भएको हो। बैतडीको पुर्चौडी नगरापालिका- ३ का चार जनाको मृत्यु भएकाले मृतक सबै एउटै परिवारको हुनसक्ने  प्रहरीले अनुमान गरेको छ।

दुर्घटनामा बैतडीको पुर्चौडी नगरपालिका- ३ कै ४५ वर्षीया जैमती बोहोरा र अन्दाजी २२ वर्षीय सहदेव बोहराको पनि मृत्यु भएको छ।

दुर्घटनास्थलबाट उपचारको लागि डडेलधुरा अस्पतालमा पुर्‍याउँदा चिकित्सकले चार जनालाई मृत घोषणा गरेको प्रहरी निरीक्षक बमको भनाइ छ। उनका अनुसार बस सडकबाट करिब तीन सय मिटर तल खसेको थियाे ।
जैमती, सहदेव र कमलाको सम्बन्ध भने खुलिसकेको छैन। एउटै थर र गाउँ मिलेकाले सबै एउटै परिवारको हुनसक्ने अनुमान प्रहरीले गरेको हो।

प्रहरी निरीक्षक बमका अनुसार १२ घाइतेमध्ये दुई जनालाई डडेलधुरा अस्पतालबाट धनगढी रेफर गरिएको छ। पुर्चौडी- ३ कै २४ वर्षीय वीरेन्द्र बोहरा र २१ वर्षीय मुकुन्द बोहरालाई उपचारका लागि धनगढी पठाइएको छ। उनीहरुको आँखा, मुख र कम्मरमा गम्भीर चोट लागेको छ। अन्य १० जना घाइतेको डडेलधुरा अस्पतालमा उपचार भइरहेकाे  छ।

दुर्घटना लगत्तै उद्धार गर्न नेपाली सेना, सशस्त्र प्रहरी बल समेतको टोली परिचालित भएको थियो।

प्रतिक्रिया