December 30, 2024, 10:55 pm
» पत्रकार सम्मेलन को तयारीमा भीम रावल » सरकार कुनै पनि बेला ढल्न सक्छः उपाध्यक्ष खतिवडा » मंगलबार देशका यी स्थानमा हुने छ हिमपात » अपाङ्ग महासंघमा भाँडभैलो, भ्रष्टाचार गरेको भन्दै अध्यक्ष निष्काशित » चिसोका कारण हुने बिरामीको सङ्ख्यामा वृद्धि, सावधानी अपनाउन आग्रह

अनुगमनका क्रममा अभद्र व्यवहार गर्नेमाथि सरकारले कारबाही गर्ने

अशोज २२, २०८१ मा प्रकाशित | ७१०दर्शक तीव्रखबर

काठमाडौं । बजार अनुगमनका क्रममा सरकारी टोलीमाथि अभद्र व्यवहार गर्ने व्यवसायीहरुलाई सरकारले कानुनबमोजिम कारबाही गर्ने भएको छ । आइतबार कालीमाटी र कुलेश्वरमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको बजार अनुगमनका क्रममा व्यवसायीहरुले असहयोग गरेका थिए ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसमेत संलग्न भएको सो अनुगमनमा मन्त्री भण्डारी फर्केपछि केही व्यवसायीले कर्मचारीमाथि नै अभद्र व्यवहार गरेका थिए ।

सोमबार व्यवसायीसहित कालिमाटी फलफूल तथा तरकारी विकास समिति अध्यक्ष, काठमाडौंका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र वाणिज्य विभागलगायतका नियमनकारी निकायले कानुनअनुसार कारबाही गर्ने निर्णय गरेका हुन् ।

व्यवसायीहरुले अहिले मात्रै नभई विगतमा समेत असहयोग र अभद्र व्यवहार गर्दै आएको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बताए । व्यवसायीले अनुगमन प्रभावित गर्ने कृयाकलाप गरेमा उनीहरुको दर्ता खारेजी गरिने प्रजिअ आचार्यले बताए ।

सोमबार नियमनकारी निकायले गरेका निर्णयहरुमा अनिवार्य रुपले मूल्यसूची राख्नुपर्नेे, अनुगमनमा अनिवार्य रुपले सहयोग गर्नुपर्ने, अनुगमनमा असहयोग गरेका व्यवसायीलाई नियमबमोजिम कारबाही गर्ने, सम्पूर्ण व्यवसायीले कारोबारको बिलबिजक अनिवार्य रुपले राख्नुपर्ने, विकास समितिको परिसरभित्रको सरसफाइमा विशेष ध्यान दिनेलगायत रहेका छन् ।

आइतबार मन्त्री भण्डारीले गरेको छड्के अनुगमनका क्रममा माछा पसल र तरकारी पसलमा सरसफाइ नगरेको भेटिएको थियो भने अस्वभाविक मूल्यवृद्धि गरेको पाइएको थियो । मन्त्री भण्डारीले कालोबजारी र अस्वभाविक मूल्यवृद्धि गर्ने व्यवसायीलाई तत्काल कारबाही गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । उनले बजार पारदर्शी बनाउन कुनै कसर बाँकी नराखिने पनि बताएका छन् ।

प्रतिक्रिया