February 23, 2025, 3:19 am
» क्रिकेटको बहुप्रतिक्षित भारत-पाकिस्तान भिडन्त आज » आजको मौसम : पहाडी भागमा हल्का वर्षाको सम्भावना » प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै

मनाङमा पर्यटकको चहलपहल बढ्यो

अशोज १८, २०८१ मा प्रकाशित | ९६०दर्शक तीव्रखबर

मनाङ, : असोज महिनासँगै मनाङमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपलहल बढेको छ । गत मङ्गलबार मात्रै दुई सय ८६ पर्यटक मनाङ प्रवेश गरे ।

एकैदिन उक्त सङ्ख्यामा पर्यटक प्रवेश हालसम्मकै धेरै हो । बुधबार एक सय ४० पर्यटक मनाङ प्रवेश गरेको पर्यटक सूचना केन्द्र धारापानीका कर्मचारी भूपेन्द्र गुरुङले जानकारी दिनुभयो । असोज महिना घुम्न र पदयात्राका लागि उत्तम मानिन्छ ।

गत भदौमा विभिन्न ७४ देशका दुई हजार सात सय ६५ पर्यटक मनाङ घुम्न आएको पर्यटक सूचना केन्द्र धारापानीको तथ्याङ्कमा उल्लेख छ ।

केन्द्रको तथ्याङ्कअनुसार सबैभन्दा धेरै इजरायलका पाँच सय ९७ पर्यटकले मनाङ भ्रमण गरेका थिए । सोही महिनामा मनाङ भ्रमण गर्ने सङ्ख्याका आधारमा दोस्रो स्थानमा चिनियाँ पर्यटक थिए । तीन सय २७ चिनियाँ पर्यटकले मनाङ भ्रमण गरेका थिए ।

पर्यटन व्यवसायी समितिका जिल्ला अध्यक्ष विनोद गुरुङले भन्नुभयो, “यो महिना पदयात्राका लागि उपयुक्त महिना हो । त्यसैले पर्यटकको आगमन बढेको छ ।”

चामे गाउँपालिका-५ चामेका पर्यटन व्यवसायी उषा लामाले मौसम अनुकूल बन्दै गएपछि पर्यटकक्रम बढेको बताउनुभयो । “यसले हामीलाई उत्साहित बनाएको छ”, उहाँले भन्नुभयो ।

यस याममा मनाङ आउने पर्यटक घुम्नका लागि तिलिचो ताल पुग्ने गरेका छन् । उच्च हिमाली क्षेत्रको मौसम परिवर्तन भइरहने हुँदा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङले पर्यटकलाई सतर्क रहेर यात्रा तय गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया