September 8, 2024, 3:19 am
» दश जोडीको दाइजोमुक्त सामूहिक विवाह » पाँचथर बम विस्फोट : घाइतेको उपचारको जिम्मा लियो सरकारले » डेंगु संक्रमणबाट झापामा एक बालकको मृत्यु » सुत्केरी मृत्यु प्रकरण: दोषीलाई कारवाही र पीडित परिवारलाई क्षतपूर्ति दिने सहमतिपछि शव पोष्टमार्टमका लागि पठाईयो » गणेश चतुर्थी पर्व मनाइँदै

भारी वर्षाले ग्रामीण सडक भताभुङग

असार ३१, २०८१ मा प्रकाशित | ४००दर्शक तीव्रखबर

सिन्धुली : सिन्धुली जिल्लाका स्थानीय तहलाई जोड्ने ग्रामीण सडकहरू  वर्षाले भत्किदा यात्रुहरू कष्टकर यात्रा गर्न बाध्य भएका छन् । जिल्लामा केही दिनअघि निरन्तर परिरहेको वर्षाले जिल्ला सदरमुकाम सिन्धुलीमाढीबाट विभिन्न गाउँपालिकाको केन्द्र जोड्ने सडकहरू भत्किएर भताभुङ्ग हुँदा यात्रुहरूले सास्ती खेप्नु परेको हो ।

सिन्धुलीमाढीबाट तीनपाटन गाउँपालिकाको केन्द्र जाने चकमके सडक,गोलन्जोर गाउँपालिकाको खनियाखर्क–कमारेभन्ज्याङ सडक, सुनकोसी गाउँपालिकाको बीपी राजमार्गको सोलाभन्ज्याङ–नागी मझुवा सडक, घ्याङ्लेख गाउँपालिकाको पिपलभन्ञ्याङ–निबुवाटार–बस्तिपुर लगायतका सडक भत्किएर अबरुद्ध भएका छन् ।

सदरमुकाम सिन्धुलीमाढी–चकमके सडक निकै कष्टकर बनेको स्थानीय शिक्षक जयराम बस्नेतको गुनासो छ । उनले भने,‘माझीटारदेखि चकमकेसम्मको सडक रोपाइँ गर्न ठिक्क पारेजस्तै छ । उक्त सडकमा चारपाङ्ग्रे र दुईपाङ्ग्रे कुनैपनि सहजरुपमा संचालन गर्न सकिदैन ।’

सडकमाथिबाट आएका पहिरो,बाढी तथा निर्माणाधिन सडकका कारण यात्रा कष्टपूर्ण भएको उनले बताए । सडक अबरुद्ध हुँदा तिनपाटन गाउँपालिकाका ११ वटै वडाका नागरीकहरलाई जिल्ला सदरुमकाम तथा पालिका केन्द्रसम्म जान आउन समस्या भएको तिनपाटन गाउँपालिकाका उपाध्यक्ष अशोक पुलामीले जानकारी दिए । सिन्धुली–चकमके सडक निर्माण तथा स्तरोन्नती हुँदै गरेका कारण हिलोले झनै समस्या हुने गरेको छ ।

उक्त सडकमा ठेक्का लागेको लामे समय भएपनि गत वर्षदेखि काम सुरु भएको थियो ।  सडकको स्तरउन्नतिसँगै वर्षाले झन् हिँड्नै नसक्ने गरी उल्टै बाटो बिग्रेपछि सडक यात्रा निकै कष्टकर बनेको हो । तीनपाटन गाउँपालिकाकै केन्द्र चकमकेदेखि आम्बोटे र बाहुनतिल्पुङ जाने सडक पनि केही दिनअघि आएको वर्षाले बिगारेर क्षति गरेको छ। त्यस्तै बीपी राजमार्गको खनियाखर्कदेखि कमारेभन्ज्याङ जोड्ने ग्रामीण सडकको अवस्था पनि उस्तै रहेको स्थानीयको गुनासो छ ।

गोलन्जोर गाँउपालिका ५ हिर्दिङ निवासी विवस थापाका अनुसार उक्त सडक अन्तर्गत  दर्जनौं स्थानमा पहिरो खसेको छ । पहिरो पन्छाउँदै यातायातका साधनहरु संचालन गर्ने गरिएपनि पहिरोको जोखिम उत्तिकै रहेको छ । ‘ग्रामिण सडकअरु वर्षातका कारण अबरुद्ध हुँदा आवतजावतका साथै कृष उत्पादन विक्रीका लागि बजारसम्म ल्याउन समेत कठिनाइ हुने गरेको छ । अहिले सडकको दुर्दशा नै छ,’ थापाले भने ।

वीपी राजमार्गबाट निर्माण गरिएको सोलाभन्ञ्याङ्ग–चपौली–मझुवा ग्रामिण सडक दुई सातादेखि अवरुद्ध छ । सुनकोसी गाउँपालिका ७ धोद्रेमा पहिरो खस्दा उत्तः सडक पूर्णरुपमा अवरुद्ध भएको स्थानीय चिरन्जीवी दाहालले बताए । ‘धोद्रेबाट नागी, चालिसे, मतनबास, मझुवा, गैरीगाउँ, गौंखर्क, खाल्टे लगायतका बस्तिहरु जोडिने सबै सडक पहिरोले अवरुद्ध छ । त्यहा पैदल हिँड्न समेत समस्या छ,’उनले भने ।

घ्याङलेख गाउँपालिका जोड्न सडकमा पनि पहिरो खसेर अवरुद्ध भएको छ । त्यहाँको म्लिे,अमलेलगायतका खोलाले सडक कटान गरेको छ भने पहिरो खसेर ठाउँठाउँमा अवरोध सिर्जना गरेको स्थानीयको भनाइ छ ।

यस्ता ग्रामीण सडक वर्षाले भत्किएसँगै यातायात सञ्चालन गर्न समस्या परेको यातायात व्यवसायीले बताएका छन् । सडक भत्किएपछि जोखिम मोलेर यातायात सञ्चालन गर्नु परेको सुनौलो यातायात व्यवसायी समितिका अध्यक्ष कान्छामान बलले बताए ।

facebook sharing button

प्रतिक्रिया