December 25, 2024, 2:56 am
» क्रिसमसले आपसी विश्वास र एकताको भावनालाई प्रगाढ बनाओस् : राष्ट्रपति पौडेल » एमाले सचिवालय बैठक बस्दै, केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्ने » कांग्रेस सभापति देउवाबाट ‘क्रिसमस डे’ को शुभकामना » हिमपातले हुम्लामा हवाई सेवा अवरूद्ध, जनजीवन कष्टकर » सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पूर्वसांसद गुरूङ पक्राउ

अस्ताए वरिष्ठ पत्रकार पाण्डे

भदौ २८, २०८१ मा प्रकाशित | ९१०दर्शक तीव्रखबर

वीरगञ्ज (पर्सा), : वीरगञ्जलाई कार्यक्षेत्र बनाएर चार दशकदेखि पत्रकारिता गर्दै आउनुभएका वरिष्ठ पत्रकार सुदर्शनराज पाण्डेको निधन भएको छ । मस्तिष्कघातका कारणले बिरामी पर्नुभएका पाण्डेको आन्दाजी ६६ वर्षको उमेरमा निधन भएको हो ।

नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव दीपेन्द्र चौहानले मस्तिष्कघातका कारणले बिरामी हुनुभएका वरिष्ठ पत्रकार पाण्डेको शिक्षण अस्पताल महाराजगञ्जमा बिहीबार अपराह्न उपचारका क्रममा निधन भएको जानकारी दिनुभयो ।

“वरिष्ठ पत्रकार पाण्डे हाम्रो अभिभावक  हुनुहुन्थ्यो । उहाँका परिवारका सदस्यका अनुसार उहाँ मस्तिष्कघातका कारणले शिक्षण अस्पताल महाराजगञ्जमा उपचारार्थ हुनुहुन्थ्यो । उहाँको निधनले पत्रकारिता जगत्ले एउटा हस्ती नै गुमाउन पुगेका छौँ”, उहाँले भन्नुभयो, “उहाँको निधनले पत्रकारिता क्षेत्रलाई अपुरणीय क्षति भएको छ ।”

नेपाल पत्रकार महासङ्घ पर्सा शाखाका पूर्वअध्यक्ष शत्रुघन नेपालले वरिष्ठ पत्रकार पाण्डे गत भदौ १३ गते बाराको डुमारानास्थित घरमा बिरामी भएर थप उपचारका लागि काठमाडौँ जानुभएको बताउनुभयो ।

“गत भदौ १३ गते बाराको डुमारानामा बिरामी हुनुभयो । उहाँलाई  उपचार गर्नका लागि एम्बुलेन्समा राखेर नारायणी अस्पतालमा ल्याउँदासम्म होसमा हुनुहुन्थ्यो । त्यो बेलासम्म कुरा गर्न सक्ने अवस्थामा हुनुहुन्थ्यो”, उहाँले भन्नुभयो, “नारायणी अस्पतालले थप उपचारका लागि भनेर सोही दिन नै काठमाडौँमा रेफर गरेको थियो ।”

पूर्वअध्यक्ष नेपालका अनुसार वरिष्ठ पत्रकार पाण्डेलाई भदौ १४ गते शिक्षण अस्पताल महाराजगञ्जको आइसीयूमा राखिए पनि भदौ १५ गते भने उहाँलाई थप उपचारका लागि भेन्टिलेटरमा राखिएको थियो ।

पुख्र्यौली घर धादिङ भए पनि उहाँले पर्सालाई कर्मभूमि बनाएर पत्रकारिता गर्दै आइरहनुभएको थियो । पाण्डे यसअघि नेपाल पत्रकार महासङ्घ पर्सा शाखाको पूर्वसचिवसमेत हुनुहुन्थ्यो । पूर्वअध्यक्ष  नेपालले वरिष्ठ पत्रकार पाण्डेको निधनले एक कुशल अभिभावक गुमाउनुपरेको प्रतिक्रिया दिनुभयो ।

“वरिष्ठ पत्रकार पाण्डेले सञ्चालन गर्नुभएको उत्थान साप्ताहिक पत्रिकामा २०४१ सालमा मैले सहसम्पादकका रूपमा काम गरेको थिएँ ।

उहाँले हामीजस्ता धेरैजनालाई पत्रकारिता पनि सिकाउनुभयो”, उहाँले विगतलाई स्मरण गर्दै भन्नुभयो, “उहाँको निधनले एउटा सच्चा अभिभावक गुमाएको महसुस गरेको छु ।” स्वर्गीय पत्रकार पाण्डेका एक छोरा र एक छोरी हुुनुहन्छ । उहाँकी श्रीमती र एक छोराको यसअघि नै निधन भइसकेको छ ।

प्रतिक्रिया