September 16, 2024, 7:15 pm
» परराष्ट्रमन्त्री डा राणा क्यानाडा प्रस्थान » नेपालले टस जित्यो, क्यानडालाई ब्याटिङको निम्तो » स्नानको क्रममा तीर्थयात्री बगेर बेपत्ता » रवि लामिछानेले गोर्खा मिडियाको शेयर खरिद-बिक्री किर्ते कागजका आधारमा गरेको समितिको ठहर » जुम्लामा उत्पादीत स्याउले बजार नपाएको सांसद शाहीको गुनासो

दोलखाबाट वार्षिक ७५ करोड बढीको आलु बिक्री

भदौ २०, २०८१ मा प्रकाशित | ८३०दर्शक तीव्रखबर

दोलखा-हिमाली जिल्ला दोलखा पछिल्ला वर्षहरूमा आलु उत्पादनको हिसाबले प्रमुख जिल्लाको रूपमा चिनिन्न थालेको छ।दुई नगरपालिका र सात गाउँपालिका रहेको दोलखामा प्रायः जसो नौ वटै पालिकाको माथिल्लो क्षेत्रमा आलु खेती हुने गरेको छ।यहाँका स्थानीय किसानहरू हिजोआज आलु खन्न तथा आलु बिक्री गर्न व्यस्त देखिन्छन्।

गत पुस र माघमा रोपेको आलु खन्न तथा बिक्री गर्न साउन पछि किसानलाई भ्याई नभ्याई छ । मुख्य गरी जिल्लाको जिरी, शैलुङ ,मेलुङ, गौरीशंकर,विगु र वैतेश्वरमा अन्य पालिकाको तुलनामा धेरै आलु खेती हुने गरेको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ रामेछापको सम्पर्क कार्यालय दोलखाका अनुसार दोलखा जिल्लाको तिन हजार ८९ हेक्टर क्षेत्रमा आलु खेती हुँदै आएको छ।

शैलुङ र मेलुङबाट वार्षिक ४५ करोड भन्दा बढीको आलु बिक्री 

जिल्लाको शैलुङ गाउँपालिकाबाट मात्रै वार्षिक ३५ करोड भन्दा बढीको आलु बिक्री हुने गरेको छ । पालिकाको वडानम्बर-१, २, ३, ६ र ८ अत्यधिक आलु खेती हुने गरेको शैलुङ गाउँपालिकाकी कृषि प्राविधिक गंगामाया जिरेलले जानकारी दिइन।

उनका अनुसार यहाँका एक किसानले आलु बिक्रीबाट सिजनमा १२ लाखसम्म आम्दानी गर्ने गरेको उनले बताइन्।

शैलुङ-३ का किसान पूर्णबहादुर खड्काले आफ्नो १० हेक्टरमा लगाएको आलु बाट यस वर्ष १२ लाख आम्दानी हुने बताए ।
शैलुङ गाउँपालिकाको झोर, मनगाउँ, ढुङे लगायत क्षेत्रबाट करोडौंको आलु उत्पादन हुने गरेको छ।

कृषि प्राविधिक जिरेलका अनुसार मुख्य गरी शैलुङका ५वटा वडामा धेरै आलु खेती हुने गर्छ।

यहाँबाट कम्तीमा ३५ करोड बराबरको आलु बिक्री हुने गरेको उनले सुनाइन् ।

 

त्यसै गरी जिल्लाको मेलुङ गाउँपालिकाबाट पनि वार्षिक १० करोड हाराहारीमा आलु उत्पादन तथा बिक्री हुँदै आएको मेलुङ गाउँपालिकाका कृषि प्राविधिक विष्णु जिरेलले बताए ।

मेलुङको वडा नम्बर-३ र ५ का अधिकाँश भुगोलमा आलु खेती हुँदै आएको छ।यहाँ सामान्य आलु उत्पादन गर्ने किसानले  दुई देखि चार लाख सम्मको आलु बिक्री गर्दै आएको जिरेलले बताए।

मेलुङ–३ का स्थानीय आलु किसान सुब्बा खड्काले वार्षिक ८ लाखको आलु बिक्री गर्ने गरेको बताए।गत वर्ष ७ लाखको आलु बिक्री गरेका उनले यस वर्ष गतको तुलनामा आलुको भाउ बढेकाले यस वर्ष ८ लाख हाराहारीको आलु बिक्री हुने बताए।

त्यस्तै सोही पालिकाका अर्का किसान राजकुमार घिसिङले पनि यस वर्ष आलु बिक्रीबाट ७ लाख आम्दानी हुने जानकारी दिए। मुख्यतया मेलुङको भेडपु, डाडाखर्क, घ्याङको माथिल्लो क्षेत्र, फुर्केसल्ला लगायतका क्षेत्रमा आलु उत्पादन हुने गर्छ।

वैतेश्वर र जिरीबाट वार्षिक २० करोडको आलु बिक्री

आलु उत्पादनको हिसाबले मध्यम पालिका मानिने जिल्लाको वैतेश्वर गाउँपालिका वडानम्बर–१,४ र ८ बाट पनि वार्षिक ५ करोड बढीको आलु उत्पादन तथा बिक्री हुने गरेको पाइएको छ।

यस पालिकाको वडा नम्बर-८ को यवो गाउँबाट यस वर्ष साढे दुई करोड आलु बिक्री भएको स्थानीय कृषक टीकाबहादुर खत्रीले जानकारी दिए।

त्यसै गरी वडा नम्बर–४ ठुलोबन,सिमचौर र फाप्लु बाट गत वर्ष एक करोड माथिको आलु मुडे र काठमाडौ बिक्री गरिएको स्थानीय किसान कुमार कार्कीले बताए।त्यसै गरी वडा नम्बर-१ गैरमुदि पोखरीबाट पनि झण्डै दुई करोड बराबरको आलु उत्पादन भएको स्थानीय आलु खेती गर्ने किसानहरूले बताए।

यता दोस्रो बढी आलु खेती तथा उत्पादन हुने जिरी नगरपालिकाको विभिन्न वडाबाट वार्षिक १५ करोड भन्दा बढीको आलु उत्पादन तथा बिक्री हुने गरेको छ ।

जिरी नगरपालिकाको प्रायः सबै वडामा आलु खेती हुने गरेको छ।यहाँ धेरैमात्रामा वडा नम्बर-१,२,५,७,८ र ९ मा आलु खेती गरिन्छ। जिरीको ढुङ्गे, भन्डार, बुलडाडा, सिक्री, ठूलोपालत, लिङ्कन, माली श्यामा, खावा  लगायतका स्थानमा आलु खेती हुने गरेको स्थानीय आलु व्यवसायी डिवि श्रेष्ठले बताए। ठेकेदारको रूपमा किसानबाट आलु उठाउँदै आएका श्रेष्ठले यस वर्ष ४ करोड बराबरको आलु काठमाडौं र तराई पठाएको बताए ।

श्रेष्ठ जिरी बुलडाँडा बाट मात्रै २२ हजार केजी आलु काठमाडौं पठाएको बताए। यहाँ उत्पादन भएको आलु बिक्री वितरणका लागि राजधानी र तराई लैजाने गरिएको छ ।

लेक क्षेत्रका किसानको मुख्य खेती आलु भएका कारण यतिखेर आलु खन्ने, भित्र्याउने र बिक्री गर्न किसानहरू व्यस्त रहेका छन् । त्यसै गरी जिल्लाको उत्तरी क्षेत्रका तिन पालिकाबाट पनि वार्षिक १०/१२ करोडको आलु उत्पादन हुँदै आएको छ । गौरीशंकर, बिगु र कालिन्चोकको उच्च क्षेत्रमा पनि व्यवसायीक आलु उत्पादन हुन्छ ।

 

यस वर्ष आलुको मूल्यमा १० रुपैयाँले वृद्धि 

दोलखा उत्पादन भएको आलुको मूल्य वृद्धि भएको छ।गत वर्ष प्रतिकेजी सरदर मूल्य ३५-४५ रुपैयाँ आलुको मूल्य यस वर्ष बढेर ५५ रुपैयाँ सम्म पुगेको वैतेश्वर गाउँपालिका-८ का वडा अध्यक्ष शान्त बहादुर जिरेलले बताए। गत वर्ष यवो बाट ठेकेदारले प्रति केजी ३०/३५ रुपैयाँमात्रै दिएर आलु लाने गरेको तर यस वर्ष उक्त आलु प्रति केजी ४५/५५ रुपैयाँमा लगिरहेको जिरेलले बताए।

गत वर्ष भन्दा यस वर्ष आलुको मूल्य सामान्य वृद्धि भएको आलु व्यवसायीहरू बताउँछन्।समग्रमा जिल्लाभर आलुको मूल्य प्रति केजी ५० रुपैयाँ भन्दा माथि रहेको जिरीका आलु व्यवसायी श्रेष्ठले बताए।

उनका अनुसार सिङ्गो जिरीबाट यस वर्ष १५ करोडको आलु उत्पादन तथा बिक्री भएको बताए। अन्यत्रबाट प्रति केजी ५०/५२ रुपैयाँ आलु उठाएका उनले जिरी बुलडाँडामा भने अन्य ठाउँको भन्दा राम्रो आलु उत्पादन हुने हुँदा प्रति केजी ५५ रुपैयाँ किसानलाई बारीमै दिएर २२ गाडी आलु उठाएको बताए।

जिल्लाका किसानले नयाँ जात देखि पुरानो जातको आलु लगाउने गर्छन्।दोलखाको माथिल्लो क्षेत्रमा रोजिटा, खुम्बल लक्ष्मी, एम एम-४२ लगायत स्थानीय जातको आलु लगाउने गरिन्छ।
-सुबास बस्नेत

प्रतिक्रिया