February 22, 2025, 10:12 am
» देश विकास गर्न छिमेकेकी राष्ट्रको प्रविधि उपयोग गर्न विज्ञहरुको सुझाव » कतारमा सडक दुर्घटनामा परी झविन्द्र आचार्यको मृत्यु » हमासले इजरायललाई पठायो नयाँ, शिरी बिबासको भएको दाबी » च्याम्पियन्स लिगको राउण्ड १६ को ड्र, रियलको प्रतिद्वन्दी एटलेटिको » स्ववियु निर्वाचनको तालिका प्रकाशित

बिहेभोजमा झडप, २७ वर्षीय युवकले गुमाए ज्यान

फाल्गुन ९, २०८१ मा प्रकाशित | ९१०दर्शक तीव्रखबर

धनगढी– बिहेभोजमा विवाद हुँदा बाजुराको बुढीगंगा नगरपालिका-८ मा एक जनाको मृत्यु भएको छ । आफन्तको बिहेभोज खान गएका दुई पक्षबीच विवाद हुँदा २७ वर्षका रणबहादुर थापाको मृत्यु भएको प्रहरीले बताएको छ ।

मृत्यु भएका बुढीगंगा नगरपालिका ९ का रणबहादुर थापा आफन्त रामबहादुर खड्काका छोराको बिहेमा भोज खान छिमेकी ८ नम्बर वडाको मोटावाडामा पुगेका थिए ।

राति ११ बजेपछि दुई पक्षबीचको विवादपछिको झडपमा थापा घाइते भएका थिए । गम्भीर घाइते थापाको उपचारका क्रममा बयालपाटा अस्पताल अछाममा मृत्यु भएको हो ।

घटनामा संलग्न रहेका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बूढीगंगा नगरपालिका–७ का वाइलका दीर्घ विष्ट, खेम विष्ट र लोकेन्द्र खड्का छन् । उनीहरूलाई घटनाबारे सोधपुछ तथा अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक दिलीप गिरीले जानकारी दिएका छन् ।

झडप हुँदा घाइते भएपछि उपचारकै क्रममा मृत्यु भएको खुले पनि बाँकी अनुसन्धानबाट थाहा हुने डीएसपी गिरीले बताए । मृतक थापाको शव बयालपाटा अस्पतालबाट पोष्टमार्टमका लागि जिल्ला अस्पताल बाजुरा लगिएको छ ।

प्रेम विवाह गरेका छोराको खुसीयालीमा रामबहादुरले आफन्तलाई बिहेभोज दिएका थिए । आफन्त, छिमेकी र गाउँका सबैलाई भोजमा सहभागी गराइएको थियो ।

धेरैजसोले खानासमेत खाइसकेका थिए । सबैजसो नाचगानमा रमाइलोमा थिए । कोही देउडा लगाउने, कोही गफिने र केही आफ्नै रमझममा थिए । त्यहीबीचमा भएको विवादले उग्र रूप लिएपछि झडप भएको थियो ।

प्रतिक्रिया