January 10, 2025, 3:15 am
» स्वास्थ्य परीक्षणपछि रविलाई पत्नी निकिताको जिम्मा लगाइयो » दुर्गा प्रसाईंले बुझाए तीन लाख धरौटी » रवि लामिछाने र छवि जोशीले बुझाए धरौटी » नाबालिका छोरीमाथि पटकपटक करणी, घटना सामसुमका लागि सुटुक्क गर्भपतन » एमाले पूर्वसांसद मीना र बाबु कृष्णबहादुर रिहा, जीबीकी सहयोगी लीला कारागार चलान

औषधीय गुणले भरिपूर्ण घोडताप्रे

साउन ९, २०८१ मा प्रकाशित | १४७०दर्शक तीव्रखबर

घोडताप्रे बहुउपयोगी वनस्पति हो । यो ‘क्लोनल प्लान्ट’ वर्गको एक सामान्य वनस्पति हो । यसको वैज्ञानिक नाम सिन्टेला एसियाटिका हो । बारी, बगैंचामा भेटिने यो वनस्पति प्राचीनकालदेखि नै औषधिका रुपमा प्रयोग हुँदै आएको पाइन्छ । यसको बोटबाट पृथक खालको बास्ना आउँछ ।

यो स्वादहीन, गन्धरहित हुन्छ र पानीको मुहान वा त्यसको छेउछाउमा र दलदले माटोमा बढी फैलिन्छ । यसका पात हरिया, पंखा आकारका हुन्छन् र फूलको रङ भने सेतो, बैजनी वा गुलाबी हुनसक्छ । जसको सानो अण्डाकारको फल लाग्छ । यो झारको पूरै भाग औषधिको रूपमा प्रयोग गरिन्छ ।

उपयोगिता

गाउँघरमा यत्रतत्र उम्रिने यस झारका केही फाइदाहरू थाहा हुँदाहुँदै पनि बेवास्ता गरेको पाइन्छ । यसको सम्पूर्ण भाग औषधिका रुपमा प्रयोग गर्न योग्य हुन्छन् । यसमा एन्टिअक्सिडेन्ट तथा एन्टिमाइक्रोबिएल क्षमता हुन्छ ।

यो सेवन गरेमा मानव शरीरका नसाहरूको संरक्षण गर्ने न्युरोप्रोटेक्टिभ कार्य सक्रिय हुन जान्छ । त्यस कारण, बौद्धिक क्षमता वृद्धिका लागि वरदान साबित भएको यो झारलाई ‘दिमागी खाना’को संज्ञा पनि दिइएको छ । यसमा एन्टिस्ट्रेस फर्मुला हुन्छ, जसले डिप्रेसन जस्तो मनोवैज्ञानिक रोगबाट पनि मुक्ति दिलाउन सहयोग गर्छ ।

यसका मुख्य उपयोगी गुणहरूमा जीवाणुरोधी, एन्टिफंगल, एन्टिइनफल्मेटोरी, न्युरोप्रोटेकटिभ, एन्टिअक्सिडेन्ट, घाउ निको पार्ने, युरिक एसिड रिडक्सन, उदासीनता विरोधी, एन्टिडायबेटिक, संज्ञानात्मक विकास र कलेजोको संरक्षण आदि हुन् ।

घोडताप्रेमा पाइने मुख्य तत्त्वहरू

घोडताप्रेको प्राथमिक सक्रिय तत्त्व स्यापोनिन्स हो, जसलाई ट्राइटरपेनोइड्स पनि भनिन्छ । ट्राइटरपिन स्यापोनिन्स र स्यापोजेनिन्सको मुख्य कार्य भनेको घाउ निको पार्नु हो । यसमा रहेका ब्रामोसाइड र ब्रामोनिसाइडले केन्द्रीय स्नायु प्रणालीमा आराम पुर्‍याउँछ ।

सेन्टेलोसाइड रक्तचापको उपचारमा प्रयोग हुन्छ । घोडताप्रेबाट निकाल्न सकिने अन्य तत्त्वहरू स्टेरोल, ट्यानिन, आवश्यक एसिड, फाइटोस्टेराँल, फल्याभोनोइड्स, म्युसिलेज, रेसिन, एमिनोएसिड, अल्कलोइड्स र फ्याट्टिएसिड हुन् ।

कर्कलोको तरकारी गुणकारी

घरेलु उपचारमा प्रयोग

घोडताप्रेलाई गाउँघरमा घरेलु उपचारमा प्रयोग गर्ने गरेको पाइन्छ । रुघाखोकी लाग्दा, ज्वरो आउँदा यसको पातको रस पिउने गरिन्छ । पातको सिरप (रस) अदुवा र मरिचसँग मिसाएर पिउन पनि सकिन्छ ।

यसलाई पिसेर बनाएको धुलो सेवन गर्नाले अल्सर र ग्यास्ट्रिक रोग निको पार्न सकिन्छ । ताजा फूल पिसेर बनाएको लेदो पोलेको घाउमा लगाउँदा निको हुन्छ । शरीरमा हुने दुखाइ हटाउन प्रतिदिन १० मिलिलिटर वा दुई चम्चा जुस बनाएर खान सकिन्छ । छालासम्बन्धी रोग निवारणका लागि पनि लेदो लाभदायक हुन्छ ।

प्रयोग विधि

विभिन्न स्वास्थ्य समस्यामा घोडताप्रेको प्रयोग गर्दा यसको पातलाई सफा गरेर चपाएर, रस निकालेर तथा लेप बनाएर गरिन्छ । यसलाई प्रतिदिन १० मिलि वा दुई चम्चा जुस बनाएर खान सकिन्छ ।

सुकेका पात दुई चिया चम्चा अर्थात् १५० एमएललाई तातो पानीमा १०–१५ मिनेट पकाएर दिनको तीन पटक सेवन गर्न सकिन्छ ।

अपनाउनुपर्ने सावधानी

तोकिएको मात्रामा खुराक खाँदा त्यसमा कुनै पनि विषाक्तता हुँदैन । साइड-इफेक्ट पनि कम नै छ तर बढी मात्रामा लगाएमा छालामा एलर्जी आउने, पोल्ने र खाएमा टाउको दुख्ने, पेट दुख्ने, वाकवाकी लाग्ने, रिंगाउने, बान्ता हुने जस्ता समस्या देखिन सक्छन् ।

गर्भवती महिलाले अधिक मात्रामा सेवन गरेमा गर्भपातको समस्या पनि देखिन सक्छ । धेरै अनुसन्धान नभएका कारण सुत्केरी र बच्चालाई दूध खुवाउँदै गरेकी आमाले यो सेवन नगरेकै उपयुक्त हुन्छ ।

कसैले लगातार सेवन गर्दा ६ हप्ताभन्दा बढी खानु हुँदैन । खानु नै परेमा दुई हप्ता नखाने र पुनः लगातार ६ हप्तासम्म सेवन गर्न सकिन्छ । यसलाई बिरामीले निद्राको गोलीसँग खानु हुँदैन । कोलेस्टेरोल र हाइपोग्लेसेमियाका बिरामीले पनि ध्यानमा राख्नुपर्छ र डाक्टरको सल्लाह सुझावपछि मात्र खानुपर्छ ।

घोडताप्रे चिकित्सा क्षेत्रमा ठूलो सम्भावना बोकेको जडिबुटी हो तर यस विषयमा अझै धेरै अनुसन्धान नभएका कारण विना जानकारी धेरै प्रयोग गर्दा स्वास्थ्यमा हानि पुग्न सक्छ । – डा. अञ्जना देवकोटा

(डादेवकोटा वनस्पतिविज्ञ हुन् ।)

प्रतिक्रिया